Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/२६ गते
८८५५ पटक
सनत रेग्मी ।

किन टाक्सिएको टाक्सिएकै छ नेपालगन्ज ? जब की झण्डै उ भन्दा एक सय बर्ष कान्छो कोहलपुर बिस्तीर्ण हुँदैछ । यसको मूल कारण हो, नेपालगन्जका अगुवाहरुमा दुरदृष्टि र कल्पनशीलताको अभाव ! किन भयो यस्तो यहाँका अगुवाहरुमा किन दुरदृष्टि भएन । यस कुराको संकेत त मैले पहिला नै गरिसकेको छु ।

नेपालगन्ज बजार बसाउँदा निश्चय पनि दुरदृष्टिको अभाव रह्यो । कुनै पनि शहरको स्वच्छता र निकासका लागि पानी र दलको आवश्यकता हुन्छ भन्ने कुरा न त सुब्बा पद्यनाम जोशीले सोंच्न सके न तत्कालीन बडाहाकिम सिद्धिमान राजभण्डारीले नै सोंच्न सके ।

सडकको माझमा कुँवा, रुख हुँदा भविष्यमा अप्ठ्यारो पर्ने कुरा उनले बुझ्न सकेनन् सहरमा ढल र नालीहरु पहिला बनाउनु पर्छ भन्ने चेतना भएन उनीहरुमा र नेपालगन्ज ढल र नाली विनाको विनाको सहर बन्यो ।

बागेश्वरी मन्दिर नेपालगन्जको धार्मिक र पर्यटकीय स्थल हुन सक्ने दुरदृष्टिको अभावले समग्र बाँके किल्लाले ओगटेको भूभाग बागेश्वरी मन्दिरको परिसर बनाई त्यसको गुरुयोजना बनाउने ठाउँमा मन्दिरलाई साँघुर्याउँदै मन्दिर वरपरका जमिन यहाँका अगुवाहरुले स्वयम् नै लिए र आफ्ना आसेपासेहरुलाई वितरण गरे ।

बजार विकास सँगै सवारी साधनहरु पनि बढ्छन् र त्यही अनुरुप जनसंख्या बढ्छ भन्ने कुराको कुनै हेक्का भएन यहाँका अगुवाहरुलाई सहरको मुख्य बजार एकलाइनी बजार साँघुरो रुपमा बनाए ।

नेपालगन्जको विकाससँगै जनसंख्या, सवारी साधन र अन्य भौतिक संरचना बढ्दै गए सँगै । हावाहुरी, आगलागी र सवारी आवागामनका लागि पनि बाटोघाटो चौडा हुनुपर्छ भन्ने तिर यहाँका अगुवाहरुले ध्यानै दिएनन् । फलतः नेपालगन्जको यो पुरानो सहर, नाली विहीन, हिलो र दुर्गन्ध युक्त पानी सडकमा बग्ने, मच्छड र झिंगाहरुको सहर हुन पुगेको थियो ।

राजनीतिक चेतनाको कत्रो खडेरी परेको थियो कि नेपालगन्जमा भएको भयंकर आश्रयको सम्पूर्ण गतिविधि बन्द गरेर भारतीय भूमि रुपैडिहामा पुर्याउनु परेको थियो । ल राणाकालमा भय र आतंकको वातावरण थियो रे । २००७ सालको परिवर्तन पछिको खुला वातावरणमा नै नेपालगन्जको विकासका लागि कुनै सोंच भएन । सडकलाई सुधार गर्ने र नगर स्वच्छताका सामान्य प्रयास बाहेक, सहरी विकासका गुरुयोजनाहरु बनेनन् । नेपालगन्जमा फोहोर व्यवस्थापन, खानेपानीको अस्वस्थता आदीका कारण २०१४÷१५ सालतिर नेपालगन्जमा ठूलो हैजाको महामारी फैलियो । त्यतिबेला एक जना डा. रामनाथ अघोरी बाबाको प्रयासले नेपालगन्जलाई त्यस महामारीबाट बचाइयो । नेपालगन्जको भएको धुलौटो बाटोलाई पीच गर्ने र अवैज्ञानिक नाली निर्माण बाहेक अरु केही सुधार भएन ।

बागेश्वरी गुठीका जग्गाहरु अनियमित तरिकाले हिनामिना गरी व्यक्तिहरुका नाममा दर्ता भए । यहाँका अगुवाहरुले नै सार्वजनिक ताल तलैया र ऐलानी जग्गा कब्जा गर्दै व्यक्तिगत नाममा दर्ता गरे । तर सहरलाई चाहिने खेल मैदान, पार्कको निर्माण गर्न सकेनन् ।

बाँके किल्लाको ओगटेको जग्गा जमिन तत्कालीन ठुला वडाहरुले बाँडिचुँडी लिए । बागेश्वरी मन्दिर टाक्सिएको टाक्सिएकै छ । मन्दिर परिसर वरिपरि स–साना पसलको बाढीले त्यहाँको सुन्दरतालाई छोपेको छ । तर त्यता तिर कसले ध्यान दिने ।

२००७ सालपछि यहाँका अगुवाहरु विभिन्न पार्टीमा विभाजित भए र आफ्नो व्यक्तित्व विकासमा लागे । थुप्रै संस्थाहरु खुले । त्यसका संयोजक र सदस्य बन्नु बाहेक ती संस्थाहरुको योजनात्मक ढंगले विकास गर्न तर्फ कोही लागेनन् ।

यहाँका उद्योगपति र व्यापारीहरुले यहाँबाट शोषण त गरे तर यसको विकासमा एक पैसा लगानी लगाउन चाहेनन् । यहाँ जे जति सामाजिक र अन्य संस्थाहरुको काम भएका छन् वा भौतिक संरचनाहरुको निर्माण भएका छन् । बडाहाकिम, अञ्चलाधीशहरुको दबाब र पेलाईबाट नै भए । पेलाईमा परेर आर्थिक लगानी लगाएका व्यक्तिहरुले पनि त्यसको जस लिन सकेनन् ।

यत्रो नेपालगन्जमा एक जना औतारदेवी चौधराइन् र एकजना फत्तेजंग शाह बाहेक अरुको चर्चा किन छैन ? भवनियापुरको चौधरीले माल, अमिनी, वनजाँच, रामलीला मैदान, धर्मभकारी, बाल मन्दिर र रेडक्रसको केही अंशसम्म दान दिए तर कुनै लेखत राखेनन् ।

उनको कुनै चर्चा छैन । मन्दिर र धर्मशालाका लागि दान दिने दाताहरुको कुनै लागत छैन र मन्दिरहरुका नाममा छुट्याइएका जमिनको आयस्ता कहाँ छ, कसले उपयोग गरेको छ । त्यसको कुनै लगत, नगरपालिका, नगर पञ्चायत, पुनः नगरपालिकाबाट उपमहानगरपालिका भैसकेको कार्यालयसँग छैन । तमाम सार्वजनिक जग्गा, जमिनको कुनै लेखा छैन ।

२००७ सालपछि पं. योगेश्वर मिश्र, मुलचन्द आजाद, ललितचन्द ठकुरी, फत्तेसिंह थारु, डा. त्रिवेणी प्र. प्रधान, सुशिल कोइराला, शान्ति समशेर, प्रेम बहादुर भण्डारीहरु जिल्लाबाट राष्ट्रिय सत्ता केन्द्रमा पुग्नु भयो ।

तर, नेपालगन्जको विकासमा निम्ति, कुनै कल्पनशीलता, भिजन दिन सक्नु भएन । नेपालगन्जको विकासका लागि के गुरु योजना तयार गर्नुपर्छ भनेर कहिल्यै बहस चलाउनु भएन ।

नेपालगन्जका अगुवाहरुको दृष्टिहीनताको भने थुप्रै उदाहरण दिन सकिन्छ । नुनको गोदाम भएको र नुनले खाएर उत्पादन क्षमता नष्ट भएको सराय भत्काएर त्यहाँ ग्रीन पार्क बनाउने परिकल्पना गरेर पार्क बनाइन्छ ।

नेपालगन्ज बजार सहरीकरण गर्न पुरानो सीमसार जस्तो ठूलो तलाउको रुपमा रहेको थियो त्यसलाई छानिन्छ । तर, बरसाती पानीको निकास र ढल व्यवस्था कसरी गर्ने त्यहाँ ध्यानै दिइँदैन ।

पहिला त त्यता बाटो खोल्नलाई नै ठूलो तगारो यहाँका ठूलो अगुवा नेता नै बनिदिन्छन् । बाटो बन्छ, सहर विकास हुन्छ र प्रत्येक बर्षात्मा सडक डुबानमा पर्छ । भएको पीच बाटो पनि टुटफुट हुन्छ ।

ढल विनाको सहर सधै फोहोर हुन्छ । ढल निकासका लागि प्रयत्न गर्नुपर्छ भन्ने भिजन न ललित चन्द ठकुरीमा आयो न मूलचन्द्र आजादमा न फतेह सिंह थारुमा न देशका ठूला पार्टीका ठूला नेता र देशकै प्रधानमन्त्री भै सक्नु भएका सुशिल कोइरालामा नै ।

गोपाल बहादुर श्रेष्ठ, गोपाल कर्माचार्य, सर्वज्ञमान श्रेष्ठ, पूर्णमान आजाद, शेखर शर्मा, देवी सिंह ठाकुर, महावीर गुप्ता, रामहर्ष गुप्ता, राम प्रसाद ढेवा, सीताराम हलवाई, बदलुराम हलुवाई, मदन कुमार श्रेष्ठ, पाटनदीन गुप्ता, जोगराज अग्रवाल, ओमकार मल खेतान, भुवनेश्वर शर्मा, कृष्णजंग शाह । यिनीहरु नै त थिए नेपालगन्जका भाग्य विधाता अगुवाहरु ।

यिनीहरुमा त्यो कल्पनाशीलता र दुरदृष्टि नै थिएन । यिनमा पनि धेरै जसो त प्रशासनका कठपुतला मात्र थिए । यस्तै ननभिजनरी थिए, यम इसहाक, सफिक सिद्दिकी, असगर अली अन्सारी आदी मुस्लिम नेताहरु । नेपालगन्ज हाँक्ने यिनीहरु अगुवा थिए । तर, यिनीहरुले नेपालगन्जको विकासका लागि कुनै भिजन दिन सकेनन् ।

नेपालगन्जको ऐतिहासिक तलाउ, रानी तलाउ र ऐतिहासिक कठमहलको दुर्दशाखा तिर कहिले विचार गर्न सक्यो । कठमहललाई जोगीहरुको अखाडा र सार्वजनिक सरकारी जग्गालाई बाबु मेवालाल कसौंधनको व्यत्तिगत सम्पत्ति झैं गरेर ऐतिहासिक धरोधर भागवण्डा गरियो । आधा जोगीको अखाडा र आधा कसौंधन समाजको स्कुल । नेपालगन्जको ऐतिहासिकता छोप्ने दुरदृष्टि रहेछ, हाम्रा अगुवाहरुको ।

राती तलाउ र त्यसका वरिपरिका मन्दिरहरुको आयस्ता खोजेर लिनको सौन्दर्यकरणमा कस्ले ध्यान दिने । रानी तलाउलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा बनाउन एउटा बिस्तृत माष्टर प्लानको आवश्यकता छ । त्यो भिजन र अहिलेको मेयर धवल समशेरमा पनि रहेछ त । उनी नगरपालिकामा मेयर भएको बखत जसरी रानी तलाउ योजना बन्यो त्यसले त रानी तलाउलाई झन् कुरुप बनाइ दिएको छ ।

नेपालगन्जलाई प्लाष्टिकजन्य वस्तुले फोहोर र नालीनाला, ढल सबै बन्द गरेर फोहोर पारिरहेको देख्दादेख्दै जाँदाजाँदा नगर्ने र यहाँका नेता सामाजिक अगुवा, नागरिक समाजलाई कसरी भिजन भएका, दुरदृष्टि भएका कल्पनाशील भन्ने ?

यो प्रश्नमा घोत्लिन परेको छ । पश्चिम नेपाल मात्र नभई समग्र तराईको पुरानो सहर मध्य र सुदुरपश्चिमको २४ जिल्लाको व्यापारिक नाका, जडिबुटी, उद्योग, खाद्य उद्योग र अन्य थुप्रै उद्योगहरुको प्रशस्त सम्भावना । धार्मिक पर्यटन र अन्य पर्यटनका लागि एउटा प्रमुख नाका ।

१५८ बर्षको इतिहासमा किन टाक्सिएको टाक्सिएको छ ? किनभने यहाँका अगुवाहरुमा दुर दृष्टि र कल्पनाशीलता थिएन । उनीहरुले यहाँका नागरिकहरुमा नागरिक चेतना दिनुको सट्टा कसरी व्यक्तिगत फाइदा उठाउने भन्ने बारे सिकाए । अनि कसरी न टाक्सियोस् नेपालगन्ज ।

आजको आवश्यकता भनेको १५८ बर्षको इतिहासमा भएका परिघटनाहरुबाट सिकेर एउटा फराकिलो दृष्टि, नयाँ कल्पनाशीलताका साथ दुरदृष्टि दिंदै नेपालगन्जको मुहार फेर्नु रहेको छ । अब यो काममा नागरिक समाजका युवाहरु जाग्रित हुनुपर्छ ।

नेपालगन्जको मुहार कसरी गर्ने भन्ने विषयमा गोष्ठी र सेमिनार गरेर त्यसको निष्कर्ष कार्यान्वयन गर्न, नेपालगन्ज उपमहानगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारमा दबाब सिर्जना गर्नुपर्छ । अनि मात्र यो टाक्सिएको नेपालगन्ज फुल्छ, फक्रन्छ र एक सुन्दर नेपालगन्जको निर्माण हुनसक्छ ।

New Home Page

प्रतिकृया दिनुहोस्