Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/७/१५ गते
    ११९ पटक
    कोहलपुर ।

    इलाका प्रहरी कार्यालय कोहलपुरले अत्याधुनिक पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका ६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अत्याधुनिक पेस्तोल र सोमा लाग्ने गोलीसहित बिहीबार राती युवाहरुलाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले नेपाल तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाह लगायत ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा शाहसहित माधव नेपाली, याम बहादुर बुढा, प्रितम थापा मगर, दिनेश कुमार शाही र राघव शाह सानु रहेका छन् ।

    रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन् ।

    ‘विशेष सुचनाको आधारमा हामीले सर्च गर्दा अत्याधुनिक हतियार फेला पार्न सफल भएका हौं’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘हतियार र गोली बरामद भएको कार शाहको हो ।’

    पहिला नै हत्कडी लगाएर प्रहरीले कार खानतलासी गरेको आरोप सरासर झुठो भएको प्रहरी नायब उपरीक्षक शाहीले दाबी गरे । ‘मैले आफ्नो कमाण्डरलाई रिपोर्ट गरेर पुरै पक्रिया पु¥याएर पेस्तोल बरामद गरेको छु ।

    अहिले एउटा भिडिओ पनि आएको छ रे । त्यो हिजोको होइन,’ उनले भने, ‘तपाईंलाई मेरो कुरामा विश्वास लागेन भने एसपी, डिआइजीसाबहरूलाई सोध्नुस् । मैले प्रक्रिया पूरा गरेरै मान्छे समातेको हो ।

    ‘अवैधानिक पेस्तोल जसको गाडीमा भेटिएको हो उसैको मानिन्छ, हामी थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘पक्राउ परेकाहरूले विगतमा गरेका केही घटना छन् कि भनेर मिसिल पनि हेरिरहेका छौं ।’ यसैबिच बाँके जिल्ला अदालतले हतियारसहित पक्राउ परेका नगर सभापती शाहसहित अन्यहरुलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ ।

    कोहलपुर प्रहरीले शुक्रबार अनुसन्धानको लागि भन्दै हिरासतमा राख्न अनुमती माग्दै उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो । कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीले शुक्रबार बाँके अदालतबाट हिरासतमा राख्न सात दिनको अनुमती प्राप्त भएको जानकारी दिए ।

    ‘पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमती पाएका छौं’ उनले भने, ‘अनुसन्धान पश्चात उनीहरुमाथि हातहतियार तथा खरखजना ऐन अन्तरगत मुद्दा दर्ता गरिनेछ ।’

    प्रतिकृया दिनुहोस्