Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१७ गते
    ५६ पटक
    अनन्तकुमार पौड्याल ।

    शिक्षकहरुले पूर्व तयारीका साथ कक्षामा शिक्षण गर्न जानुपर्छ भन्ने कुरा अब दोहोर्याएर भन्नु पर्ने कुरा होइन । यो कुरा सबै शिक्षक तथा सरोकारवालाहरुलाई थाहा भएकै कुरा हो ।

    तर कतिपय शिक्षकहरुले ‘दिमागमा नै योजना बनाएर आउने गरेको छु’ भन्नु हुन्छ । धेरै वर्षसम्म एउटै विषय शिक्षण गरेर प्रायः सबै पाठ र अभ्यासहरु याद गरिसक्नु भएका शिक्षकहरुका लागि यो तर्कलाई एक हदसम्म त ठिकै मान्न सकिएला र यस किसिमको तर्कलाई पूर्ण रुपमा गलत नै भनिहाल्न पनि नमिल्ला । तर योजना वा पूर्ण तयारीको प्रमाण अरुलाई देखाउने कसरी ? भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

    यसै मेसोमा हिन्दू धर्मको एक पौराणिक ग्रन्थ रामायणमा भएको प्रसंग स्मरण गरौँ जस्तो लाग्यो । मर्यादा पुरुषोत्तम श्रीरामप्रतिको भक्तिलाई सावित गर्नका लागि हनुमानजीले छाती चिरेर देखाउन परेको थियो । त्यो अवस्था किन आयो होला त हनुमानजीलाई, कुनै लिखित प्रमाणको अभाव भयो कि ? त्यस्तै के दिमागमा बनाइएको योजना पनि हनुमान जस्तै दिमागै खोलेर देखाउन सम्भव होला र ?

    अहिलेको समय भनेको आफूले गरिने हरेक कामको प्रमाण दिने समय हो । त्यस्तो प्रमाण अरुले मागेका बखत देखाउन मात्र होइन, आफैँलाई पनि आफूले गरेका कामको सिंहावलोकन गर्न काम लाग्छ । यसका लागि हिजोआज कुनै लिखित लिपि वा फोटो वा भिडियोको प्रयोग गरिन्छ ।

    अर्को कुरा लिखित योजनाको तयारीले आधा काम सकिन्छ भनिन्छ । त्यसकारण कुनै सानो वा छोटो नोटमा विषयवस्तुको सार वा क्रियाकलापको लिखित विवरणको आवश्यक हुन्छ ।

    विद्यालयमा एकै दिन पाँच,सात घन्टी शिक्षण गर्नु पर्ने, विद्यार्थीको गृहकार्य परीक्षण गर्नुपर्ने तथा विद्यालय समय बाहिर रहँदा निजी तथा पारिवारिक कामका कारण शिक्षकहरु यस्त रहनु पर्ने कारणले योजना बनाउन समय नभएका कुरा पनि छन् । यदि त्यस्तो अवस्था भए त्यसका लागि के के वैकल्पिक उपायहरु अपनाइएछन् त भन्ने कुरा पनि आउन सक्छन् ।

    त्यस्तो विकल्पका रुपमा केही विद्यालयहरुले धेरै किसिमका उपायहरु अपनाएको पनि देखिएको छ, जस्तै शिक्षकको डायरी, दैनिक पाठयोजनाको शीर्षकगत खाकामा तयार गरिएको पाना वा तालिकाको डारी, आदि ।

    यस्ता प्रयाहरु केही दिन चले पनि लामो समयसम्म टिकेको त्यति पाइएको छैन । यस्ता वैकल्पिक उपायहरु परम्परागत ढाँचाभन्दा सहज र प्रभावकारी भएभने निरन्तरता दिन सकिन्छ । नत्र अर्को ढाँचा पनि विकास गरेर कार्यान्वयनमा ल्याउन सकिन्छ । मूलकुरा शिक्षक तयारीका साथ कक्षाकोठामा शिक्षण भएको अवस्था सुनिश्चित गर्नु हो ।

    यहाँ एउटा त्यस्तै वैकल्पिक उपायको प्रसताव गरिएको छ, त्यो हो प्रम्प्ट कार्ड । प्रम्प्ट कार्ड ( prompt card) भनेको एउटा ३×२.५ इन्च साइजको बाक्लो कागजको एउटा कार्ड हो, जसको शीर्ष भागमा कक्षा। मिति, विषय र पाठ शीर्षक लेख्ने ठाउँ छाडी तल मुख्य मुख्य कुरा लेख्नका लागि खाली ठाउँ छाडिएको हुन्छ ।

    यसमा लेखिने कुराको कुनै निश्चित खाका हुँदैन । आवश्यकता अनुसार कक्षामा शिक्षण गर्नका लागि मुख्य मुख्य विषयवस्तु वा चित्र वा क्रियाकलाप विवरण वा त्यस्तै कुनै हिसाबका संकेतहरु टिपोट गरेर कक्षामा लैजान सकिन्छ ।

    कक्षामा शिक्षण गरिरहेको समयमा बेला बेलामा हेर्दै शिक्षण गर्न सकिन्छ । प्रम्प्ट कार्डलाई शिक्षकले सर्ट वा कोटको गोजी वा पर्समा बोकर लैजान सक्छन् । यसको निर्माण नै यसरी बोक्न सकिने किसिमले गरिन्छ । देब्रेपटिको छेउमा पन्चिङ मेसिनले प्वाल पारेर फाइलमा स्रग्रह गनै सकिन्छ ।

    यो हरेक पिरियडका लागि एउटा बनाउन सकिन्छ । पाँच मिनटको बसाइमा यसमा टिपोट गर्न सकिने हुनाले बिहान चिया खाँदा वा कुनै छोटो समयको बसाइमा यसलाई तयार गर्न सकिन्छ । यसमा कुनै खाका आवश्यक नपर्ने हुनाले शिक्षकले आपूmले बुभ्mने शैली र खाकामा विवरण भर्न र कक्षामा प्रयोग गर्न सक्छन् र निरीक्षण भएको समयमा वा कतै योजना र तयारी भइको छ छैन देखाउन परेमा वा कामको प्रमाण दिन परेमा सहजै देखाउन पनि सकिन्छ ।

    सबै शिक्षकले शैक्षणिक योजना बनाउन कठिन मान्छन् भन्ने पनि होइन । छिटोछरितो रुपमा लिखित तयारी गरेर कक्षामा जाने कुनै उपाय भए प्रयोग गर्न हुन्थ्यो भन्ने पनि छन् ।

    केही गरौँ भन्ने भावना भएका शिक्षक मित्रहरु छन् । यो महत्वपूर्ण हो । त्यसैले सरोकारवालाहरुले शिक्षकले योजना बनाएनन् भनेर आक्षेप लगाउनु भन्दा पहिला उहाँहरुलाई परेको कठिनाइ के हो र त्यसो गर्न के कुराले रोकेछ भन्ने कुरा पहिचान गर्न पनि आवश्यक छ । जान्ने बुझ्ने व्यक्तिहरुसँग यस्ता अरु कुनै उपाय भए यसैगरी बताइदिनु राम्रो कुरा हो ।

    यसो गर्दा योजनाको एउटै खाकामा सीमित हुन पनि आवश्यक छैन । विभिन्न ढाँचाका पाठयोजनाहरु निर्माण गर्ने बानीले शिक्षकमा पनि सिर्जनात्मकता र पेसागत दक्षताको विकास हुँदै जान्छ । असल अभ्यास गर्न कसैको बाटो हेर्नुपर्दैन ।

    (लेखक कोहलपुर नगरपालिकाका नगर शिक्षा प्रमुख हुन्)

    प्रतिकृया दिनुहोस्