Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/१० गते
    ६२ पटक
    नेपालगन्ज ।

    बाँके डुडुवा गाउँपालिका ३ की निरादेवी कुर्मीको आत्महत्या नभएर हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन् ।

    कुर्मीको गत जेठ २ गते दिउँसो घरमा नै आत्महत्या गरेको अवस्थामा शवं फेला परेको थियो । बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर माइती पक्षले दाईजो नपाउँदा छोरीको हत्या भएको बताएका हुन् । मृतक निरादेवीका बुबा राधेश्याम कुर्मीले उनका श्रीमान् राममनोहर कुर्मीले हत्या गरेको दाबी गरे ।

    ‘राममनोहरले दाईजो नल्याएको भन्दै छोरीलाई शारिरीक तथा मानसिक रुपमा यातना दिने गरेका थिए’ उनले भने,‘छोरीले प्रहरीमा उजुरी समेत दिएकी थिइन पछि आगामी दिनमा कुटपिट र यातना नदिने भन्दै मिलापत्र गराइएको थियो ।’

    मोटरसाइकल र नगद माग गर्दै आएका राममनोहरले दाइजो नपाएपछि योजनाबद्ध रुपमा छोरीको हत्या गरेको बुबा राधेश्यामले बताए । गत २०७२ साल बैशाखमा विवाह गरेका उनीहरुलाई २०७५ साल बैशाखमा गौना थौना गरी छोरीलाई माइती पक्षले राममनोहरको घर पठाएका थिए ।

    ‘विवाहमा सकिनसकी ७ लाख रुपैयाँ खर्च गरे’ मृतकका बुबाले भने,‘ ‘आर्थिक अबस्था नाजुक हुँदा पनि विवाहमा त्यति धेरै खर्च गरियो, तर पनि दाइजोकै कारण अहिले छोरीको ज्यान गयो ।’

    श्रीमान राममनोहरबाट दाइजोको बहानामा यातना खेप्दै आएकी निरादेवीले महिला सेल गुल्म प्रहरी केन्द्र बाँकेमा गत बैशाख १७ गते जाहेरी दिएकी थिइन् । प्रहरी महिला सेलले श्रीमतीलाई आगामी दिनमा यातना नदिने सर्तमा मिलापत्र गराउदै बैशाख २३ गते श्रीमान्लाई रिहा गरेको थियो ।

    मृतकका बुबा राधेश्यामले अहिलेसम्म प्रहरीले राममनोहरलाई पक्राउ गरेर अनुसन्धान बढाइराखेको बताए । उनले दोषीलाई नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरे ।

    यता जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । ‘आरोपित राममनोहरमाथि अहिले सुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ’ उनले भने,‘ अपराध प्रमाणित भए कानुन बमोजिम कारवाही हुनेछ ।’

    प्रतिकृया दिनुहोस्