Paschim News

  • पुरै गाउँमा जण्डिस र झाडापखालाको प्रकोप

    स्थानीय भन्छन्ः सरकार स्वास्थ्यकर्मी र औषधी पठाइदेउ

    पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/२/५ गते
    १६१ पटक
    कृष्ण ओली । महेशपुर (बाँके) ।

    यसै त सामान्य सुविधाकोसमेत पहुँचबाट टाढा रहेको गाउँमै एकैपटक महामारी फैलीए कस्तो अवस्था होला । राज्यको सबै पहुँच र सम्पर्कबाट निकै टाढा रहेको बाँकेका अति दुर्गम केही गाउँमा अहिले एक्कासी झाडापखाला र जण्डिसको प्रकोप फैलिएको छ ।

    खयरभट्टी, चुनभट्टी, महेशपुर लगायतका गाउँहरुमा झाडापखाला, जण्डिस लगायतका रोगहरुको प्रकोप फैलिएको हो । केही हप्तायता एकैसाथ फैलिएका विभिन्न रोगका कारण यहाँका आधा दर्जन भन्दा बढी गाउँका मानिसहरु प्रभावित भएका छन् ।

    शुक्रबार गाउँमा पुगेकी सोही क्षेत्रबाट निर्वाचित कृष्णा केसी ‘नमुना’लाई स्थानीयबासीले गाउँमा झाडापखाला, जण्डिस लगायतका रोग लागेका बिरामीहरु धेरै भएको बताए । उनीहरुले सरकारको नजरमा आफुहरु पुग्न नसकेको भन्दै सांसदसमक्ष छिटो भन्दा छिटो गाउँमा स्वास्थ्यकर्मी र औषधी पठाइदिन आग्रह गरे ।

    महेशपुरकी मिना बुढाले गाउँमा फैलिएका विभिन्न रोगहरु अझै पनी नियन्त्रणमा आउन नसकेको बताइन् । ‘गाउँमा रहेको एउटा स्वास्थ्य चौकिमा पनि स्वास्थ्यकर्मी नआएको महिनौ भइसक्यो’ उनले भनिन्, ‘स्वास्थ्य चौकिमा सिटामोल दिनेको लागी कार्यालय सहयोगीसमेत छैनन् ।’ उनका १० बर्षका छोरालाई पनि जण्डिसले भेटाइसकेको छ ।

    ‘छोरालाई जण्डिस रोग लागेको एक महिना भइसक्यो, भारतका अस्पताल र नेपालगन्जसम्म पु¥याउँदा पनि ठिक भएको छैन’ स्थानीय बुढाले थपिन्, ‘अब त छोराको उपचार गर्ने पैसा पनि छैन, अहिले यहाँका प्राय सबै घरमा कुनै न कुनै रोग लागेका व्यक्तिहरु रहेको स्थानीयबासीहरु बताउछन् । स्थानीय बुढाकाअनुसार जण्डिस रोगबाट थलिएकी ३० वर्षिया कविता रोकाको अवस्थामा गम्भिर रहेको छ ।

    भारतीय सीमा नजिकका अस्पतालमा उपचार गराएकी उनको अवस्था ठिक हुनुको साटो बिग्रँदै जान थालेको छ । स्थानीयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण कविताको थप उपचार गर्ने अवस्था छैन । राज्यको नजरमा पर्न नसकेका यहाँका आधा दर्जन भन्दा बढी गाउँका मानिसहरु आफ्नो गाउँ आउन भारतीय गाउँ हुँदै आउन बाध्य छन् ।

    दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचारसम्म भारतमा नै निर्भर रहनुपरेको स्थानीय अम्मर घर्तीले बताए । उनका अनुसार अहिले मानिसहरु झाडापखाला, जण्डिस, शरिर चिलाउने लगायतका रोगहरु एकैपटक देखा परेका छन् ।

    ‘गाउँमा अनेका खालका रोगहरु एकैपटक देखिएका छन्’ उनले भने, ‘गाउँमा नाम मात्रैको स्वास्थ्य चौकी छ, कर्मचारी कहिल्यै बस्दैनन् ।’ आर्थिक अवस्थाका कारण मानिसहरु रोग लागेपनी उपचार गर्न भारतीय बजार जान नसकेको उनले बताए ।

    राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने यी गाउँहरुमा सरकारी विद्यालय बाहेक अन्य कुनै सरकारी निकायको उपस्थिती छैन । एउटा स्वास्थ्य चौकी रहे पनि त्यहाँ दरबन्दी रहेका स्वास्थ्यकर्मीहरु महिनौं आउदैनन् ।’ सडक सञ्चार लगायतका सुविधा नपुगेको यो गाउँमा पुग्न भारतीय गाउँसम्म सवारी साधनमा पुगेर त्यहाँबाट दुई घण्टा हिडेर मात्र पुग्छ सकिन्छ ।

    बिरामीहरुलाई अस्पतालसम्म पु¥याउनसमेत सास्ती छ । प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले अती दुर्गम गाउँमा विभिन्न रोगहरु देखा परेको बताउँदै त्यसलाई नियन्त्रण गर्नको लागि पहल सुरु भइसकेको बताइन् ।

    ‘गाडी पनि नजाने भारतीय क्षेत्र हँुदै त्यहाँ पुग्नुपर्ने भएकाले अलिकती समस्या देखिएको छ’ उनले भनिन्,‘ रोगहरु नियन्त्रणको लागि विशेषज्ञ डाक्टरसहितको टिम लैजानको लागी छलफल चलाइराखेको छु ।’ केही दिनमा नै स्वास्थ्यकर्मी र औषधीसहित आफु त्यस गाउँमा जाने सांसद नमुनाले जानकारी दिइन् ।

    यसबारे राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कान्छा थारुसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

    प्रतिकृया दिनुहोस्