Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/३० गते
    ५६ पटक
    कृष्ण ओली । कोहलपुर ।

    इलाका प्रहरी कार्यालय कोहलपुरले विद्यार्थीहरुलाई लक्षित गरेर ‘विद्यार्थी सुरक्षा’ कार्यक्रम लागू गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोहलपुर प्रहरी आफैले ‘विद्यार्थी सुरक्षा’ कार्यक्रम लागु गरेको हो ।

    अहिले सोही कार्यक्रम अन्तरर्गत कोहलपुर क्षेत्रका विद्यालयमा पुगेर प्रहरीले विद्यार्थीहरुलाई पढाइराखेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रमेश बहादुर सिंहले विद्यार्थीलाई आफ्नो सुरक्षा कसरी गर्ने भन्ने लगायतका विषयमा पढाउन सुरु गरिएको जानकारी दिए ।

    ‘बिशेष गरी छात्राहरुलाई लक्षित गरेर यो विद्यार्थी सुरक्षा कार्यक्रम लागु गरिएको हो’ कार्यक्रमबारे जानकारी दिंदै उनले भने, ‘विद्यार्थीहरुबाट एकदमै राम्रो प्रतिक्रिया आएको छ ।’ प्रहरीले छात्रामाथि हुने विभिन्न अनैतिक क्रियाकलाप बिषयमा प्रशिक्षण दिइरहेको छ ।

    ‘छात्रामाथि विद्यालयमा शिक्षक, अभिभावक लगायतबाट हुने विभिन्न खाले दुव्र्यहारको बारेमा प्रशिक्षण समेत दिइरहेका छौं’ प्रहरी नायब उपरिक्षक सिंहले भने, ‘साथै विद्यार्थीहरुलाई साइबर क्राइम, रोड सुरक्षा, मानव बेचबिखन लगायतका बिषयमा जानकारी दिन्छौं ।’ यस्तै बिषयलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको जानकारी दिँदै उनले सोही अनुसार कक्षा ८, ९, १०, ११ र १२ का छात्र छात्रालाई प्रशिक्षण दिइरहेको बताए ।

    ‘बिशेष गरी छात्रहरुले सामाजिक सञ्जालको दुरुपयोग जानी नजानी गरेको पाइन्छ’ प्रहरी नायब उपरिक्षक सिंहले भने, ‘त्यसैले उनीहरुलाई लक्षित गरेर साइबर क्राइम सम्बन्धी जानकारी दिने गरेका छौं ।’ छात्राहरुलाई आफुमाथि दुव्र्यहार भएमा कसरी आफ्नो सुरक्षा गर्ने भन्ने जानकारी दिने गरिएको छ । ‘विद्यार्थी सुरक्षा’ कार्यक्रमबाट आफुहरुले धेरै कुरा सिक्न पाएको त्रिभुवन नमुना माध्यामिक विद्यालयका छात्रा सिता थारुले बताइन् ।

    ‘पहिले प्रहरीसँग सहज रुपमा कुराकानी गर्न पनी डर लाग्ने गरेको थियो’ उनले भनिन्,‘प्रहरीहरु आएर पढाएपछि हामीहरुको मनोबल बढिरहेको छ ।’ आफुले सिकेका कुराहरु घरमा गएर अन्य साथीहरुसँग बाँड्ने गरेको छात्रा थारुले बताइन् ।

    विद्यार्थीहरु बिशेष गरी यौन दुव्र्यहार, साइबर क्राइम, मानव बेचविखन, लागुऔषध लगायतका बिषयमा कानुनी कुराहरु सिक्न पाएको बताउछन् । अहिलेसम्म कोहलपुर क्षेत्रका आधा दर्जन भन्दा बढी विद्यालय तथा क्याम्पसमा ‘विद्यार्थी सुरक्षा’ बारे विद्यार्थीहरुलाई प्रशिक्षण दिइसकेको कोहलपुर प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्