Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१६ गते
    ६१ पटक
    बब्लिनराज शाक्य, रेडियोलोजिस्ट कान्तिपुर अस्पताल

    एमआरआईको पूरा अर्थ म्याग्नेटिक रेसोनेन्स इमेजिङ स्क्यान हो । जसको माध्यमबाट हाम्रो शरीरमा भएका विभिन्न रोग र त्यसको अवस्थाबारे थाहा पाउन सकिन्छ ।

    एमआरआईलाई चिकित्सा क्षेत्रको कान्छो विधा मानिन्छ । सन् १८९५ नोभेम्बर ५मा विल्हेम रोन्टजेनले एक्सरेको आविस्कार गरेपछि चिकित्सा क्षेत्रमा रेडियो इमेजिङको प्रभाव बढ्दै गएको पाइन्छ ।

    जुन अहिले महत्वपूर्ण उपचार पद्धतिभित्र पर्छ । यसभित्रकै एक पद्धति हो, एमराआई । एमआरआई प्रविधि सन् १९८० देखि नै कतिपय विकसित देशमा आइसकेको थियो । तर, नेपालमा भने सन् १९९० मा मात्र यो सेवा सुचारु भयो ।

    चेकजाँच विधि
    एमआरआई पद्धतिमा शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अंगहरूको सूक्ष्म तथा विस्तृत अध्ययन गर्न सकिन्छ  ।

    चुम्बकीय क्षेत्रमा  मानव शरीर राखिन्छ र त्यहाँ रेडियो तंरग प्रसारण गरी अंगहरूको अध्ययन सम्भव बनाइन्छ । सामान्यतया एमआरआई गर्न १५ देखि ९० मिनेट समय लाग्छ ।

    शरीरको कुन भागको स्क्यान गर्ने हो र कति तस्बिर लिने हो भन्नेमा समय निर्भर गर्छ । मेसिनको क्षमता मापन गर्ने युनिटका आधारमा एमआरआई विभिन्न प्रकारका हुन्छन् । यसको चुम्बकीय शक्ति टेस्ला (युनिट)मा नापिन्छ ।
    फाइदा
    एमआरआई रेडियोलोजीअन्र्तगतको उत्कृष्ट सेवामध्येमा पर्छ ।

    यसमा एक्सरे र सिटी स्क्यानमा जस्तो विकिरणको प्रयोग नहुने भएकाले यसलाई आधुनिक पद्धति मानिन्छ । जसमा विकिरणका कारण हुने साइड इफेक्ट हुँदैन ।
    गर्नुपूर्व यी सावधानी

    -एमआरआई गर्नुभन्दा पहिला यसबारे जानकार हुन आवश्यक छ । यो कतिपय अवस्थामा घातक हुन सक्ने भएकाले ध्यान दिनुपर्ने हुन्छ । एमआरआई कोठामा प्रवेश गर्नुपूर्व बिरामीसँग कुनै धातु भए/नभएको जाँच गरिन्छ ।

    धातुलाई मेसिनमा भएको चुम्बकीय शक्तिले आफूतिर तान्ने र चोट पु-याउन सक्ने भएकाले यो सावधानी अपनाउनुपर्छ । शरीरभित्र कुनै स्क्रुलगायत तिखो चिज तथा निकोटिन प्याच लगाएर स्क्यान गर्ने कोठामा जानु हुँदैन । त्यस्तै, बिरामीले धारिलो नङ राखेको हुनुहुँदैन ।
    एमआरआई गर्नुपूर्व 
    -बिरामीको स्वास्थ्य जानकारी लिइन्छ । जसले गर्दा उसको स्क्यान गर्न मिल्छ–मिल्दैन भन्ने पत्ता लाग्छ ।

    -एमआरआई गर्नुभन्दा अघि खाना खान, पानी पिउन र औषधि सेवन गर्न सकिन्छ । यद्यपि, बिरामीको अवस्था हेरेर खानाको विषयमा निर्णय गरिन्छ ।

    -एमआरआई मेसिनमा राख्नुभन्दा पहिला बिरामीलाई रंगहीन पदार्थ (एमआरआई कन्ट्रास्ट एजेन्ट दिइन्छ । यसकारण शरीरभित्र कुनै दाग देखिँदैन ।

    साथै, यसको माध्यमले शरीरका भित्री अंग र प्रक्रिया सहजै देख्न सकिन्छ । जुन रोगको अवस्था पत्ता लगाउन निकै उपयोगी हुन्छ ।

    प्रतिकृया दिनुहोस्