Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/१३ गते
    २६४ पटक
    कोहलपुर ।

    बाँकेको बैजनाथ गाउँपालिकामा रहेको देउराली सामुदायिक वनमा १५ बर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

    किशोरीलाई बलात्कार गरेको आरोपमा १८ वर्षका विरु वली र २६ वर्षका रामजी रोकायलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर घरमा एक्लै रहेकी किशोरीलाई तानेर नजिकैको जंगलमा लगिएको थियो ।

    जंगलमा लगेपछि शुरुमा विरुले बलात्कार गरे । अलिकति टाढा बसेका रामजीले मोबाइलमा भिडियो बनाए ।

    विरुले बलात्कार गरिसकेपछि रामजी घटनास्थलमा पुगे । किशोरीलाई ‘यौनकाण्ड’को भिडियो बनाएकाले आफूलाई पनि यौन सम्पर्क गर्न नदिए बाहिर ल्याइदिने धम्की दिएर रामजीले बलात्कार गरे । किशोरीले विरु र रामजीको नाममा किटानी जाहेरी दिएकी छन् ।

    इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहको टोलीले भाग्दै गरेको अवस्थामा दुवैलाई पक्राउ गरेको थियो ।

    ‘किशोरीले किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौं’ डिएसपी सिंहले भने, ‘दुवै जनालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।’ ‘पक्राउ परेका रामजीको मोबाइल जाँच गर्दा भिडियो फेला परेन’ उनले भने, ‘डिलिट गरेको पनि हुन सक्छ ।’

    जंगलको छेउमै रहेकी किशोरीलाई विरुले जिस्क्याइरहने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बंगुर फारममा काम गर्ने दुवै जना त्यस दिन मदिरा पिएर गएका थिए ।

    मदिराको सुरमा रहेका दुवै जनाले घरमा एक्लै रहेकी किशोरीलाई देखेपछि यौन सम्बन्ध राख्ने सोच बनाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    फोटो क्यासनः सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका युवक ।

    प्रतिकृया दिनुहोस्