Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/२० गते
४२६ पटक
खगेन्द्र दाहाल । नेपालगञ्ज ।

घरमा खान लाउन मुस्किल हुँदा दिनहँु मजदुरी गरेर साँझ विहानको छाक टारे ।

१० जनाको परिवारलाई मजदुरी गरेर खान मात्र ठिक्क हुन्थ्यो ।  चाड पर्व आउँदा मिठो मसिनो खाने र राम्रो लुगा लगाउने रहर मनमै हराएर जाने गर्दथ्यो ।  यो परिस्थिति २०६८ साल अघिको हो, बाँके बनकटुवा पेडारीका भागिरथ थारुको । पहिले र अहिलेको कथामा आकाश पातालको फरक छ ।

तरकारी हाट बजारमा उनले ल्याएको तरकारी लिन हारालुस हुन्छ । अर्गानिक तरिकाले उत्पादन गरेका कृषक भागिरथले ३ कट्ठा क्षेत्रफलमा ९ वटा टनेल निर्माण गरी करेला, ४ कट्ठामा टमाटर, ३ कट्ठामा खुर्सानी, ३ कट्ठामा फुलगोभी, १ कट्ठामा मुला ४ वटा टनेलमा लौका र काँक्रो लगाएका छन । मजदुरी गरेर ल्याएको पैसाले घर खर्च चलाउनै कठिन भएपछि उनले तरकारी खेती गर्न थालेका हुन् ।

उनले एकै वर्षमा यति धेरै तरकारी लगाउन सक्ने भएका भने होइनन् । व्यवसायिक तरकारी खेतीमा अग्रणी देखिएका भागिरथले शुरुमा ५ कट्ठा क्षेत्रफलमा टमाटर, गोभी र खुर्सानी खेती गरेर तरकारी खेतीमा व्यवसायीकरण शुरु गरेका हुन् ।

अहिले कृषक भागिरथले १ विगाह क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्छन् । उनी गाउँकै अगुवा कृषकका रुपमा आफूलाई चिनाउन सफल छन् । होलसेलमा तरकारी विक्रि गर्ने गरेका भागिरथले करेला ६० रुपैयाँ किलो देखि २० रुपैया सम्म विक्रि गरिरहेका छन् ।

टनेल माथि करेला र तल टमाटर लगाएका भागिरथले यसबाट दोहोरो फाइदा लिने बताए ।  उनले अहिले खेती गरिरहेको १ विगाह क्षेत्रफललाई बढाएर थप १० कट्ठा क्षेत्रफलमा तरकारी लगाउने योजना बनाएका छन् । थप गर्न लागेको जमिनलाई उनले ‘लिज’मा लिएका छन् ।

करेलाबाटै उनले मासिक ५० हजार बढी आम्दानी गरिरहेका छन् । धेरै प्रकारका तरकारी खेती गर्ने कृषक भागिरथले बार्षिक १० लाखसम्म आर्थिक आम्दानी गर्ने गरेको बताए । गत वर्ष पनि १४ वटा टनेलमा करेला लगाएका उनले १ सय क्वीन्टल विक्रि गरेका थिए ।

“अहिले पनि तरकारी लगाउने स्थान बढाउँदैछु,” उनले भने—“१० जनाको परिवारलाई खर्च गरेर बचत गर्न पुगेको छ ।” तरकारी उत्पादन गरेरै उनले पल्सर मोटरसाइकल, तरकारी ढुवानी गर्ने इलेक्ट्रिक रिक्सा, पावर टेलर खरिद गरेका छन् ।

उनले तरकारी विक्रि गरेरै घरछेउँमै केही जमिन खरिद समेत गरेका छन् । पक्की घर निर्माण गर्नका लागि जग समेत उनले हालिसकेका छन् । कृषक भागिरथले तरकारी विक्रिबाट आएको आम्दानीले घरका ४ जनाको जीवन विमा समेत गरेका छन् ।

उनले आफू सहित आफ्नो दुई श्रीमती र बुहारीको जीवन विमा गराएका छन् । जीवन विमा गर्दा बुझाउने रकम समेत उनले तरकारी विक्रिबाटै तिर्छन् ।

प्रतिकृया दिनुहोस्