Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१/२ गते
    ११० पटक
    नेपालगन्ज ।

    करीब ६ महिनाअघि प्रेमविवाह गरेकी एक युवतीको नेपालगञ्जमा रहस्यमय मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १२ भृकुटिनगर निवासी स्वस्तिका लिम्वु आइतवार घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

    मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको श्रीमानले नै हत्या गरेको राँझामा रहेका माइती पक्षले आरोप लगाएका छन् । लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको श्रीमानमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ । उनको हत्या भएको भन्दै माइती पक्षले कारवाहीका जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रर्दशन गरेका छन् ।

    प्रर्दशनका कारण जिल्ला प्रहरीमा तनाव भएको थियो । माइती पक्षले श्रीमानले नै लिम्बुको हत्या गरेको भन्दै कारवाहीको माग राखेर प्रर्दशन गरेका थिए । श्रीमानले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको मृतकको आमाले बताइन् । नयाँ बर्षको दिन बिहान छोरीले माइत आउँछु भनेको भन्दै उनकी आमाले मध्यान्ह १२ बजे श्रीमानले आउन नदिएको फोनबाट जानकारी गराएको बताइन् ।

    लगत्तै छोरीको मोवाइल स्विचअफ भएको उनले जानकारी दिइन् । आफुहरु दिउँसो ३ बजे खबर पाएको भन्दै मृतक लिम्बुका फुफाजु दिपक भण्डारीले गएर हेर्दा छोरी झुण्डिएको अवस्थामा भेटिएको बताए ।

    यता बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले आयुषलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्