Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/१९ गते
४३० पटक
काठमाडौं ।

रिमा (नाम परिवर्तन)को स्थायी ठेगाना हो, हेटौंडा । पढाइका क्रममा काठमाडौं बस्दै गर्दा एक युवकसँग नजिकिइन्, उनी । प्रेम अंकुराउन पाएकै थिएन, ती युवकले यौन सम्पर्कको प्रस्ताव गरे । परिणाम, रिमा ‘ब्रेक अप’को निर्णयमा पुगिन् ।

भन्छिन्, ‘प्रेम, निश्चल भावना हो ।’ त्यही निश्चलता कायम गर्न नसक्दा उनका पहिलो प्रेमिसँग ‘ब्रेक अप’ भयो । अब फेरि कुनै युवकसँग सम्बन्ध गाँस्ने मनस्थितिमा छैनन्, उनी ।

विगतको प्रेम अलग थियो, टाढैबाट हेरेर आत्म सन्तुष्टी लिन्थे, प्रेमि–प्रेमिकाले । अहिलेको प्रेम जमानासँगै बदलिएको छ, छिट्टै शारीरिक सम्पर्कसम्म पुग्छन्, युवा–युवती । अर्थात्, ‘इन्स्ट्यान्ट’ जमानाको प्रेम । पहिले सेक्स अनि मात्र प्रेम बस्यो कि बसेन भनेर विश्लेषण ।

तर, त्यही उदारताको आग्रहले कतिको प्रेम सधैंका लागि टुक्रिएको छ । थोरै मात्र स्थायी सम्बन्धमा पुगेको देखिन्छ ।

अर्को उदाहरण हुन्, रविन लिम्बू (नाम परिवर्तन) । उनको सम्बन्ध दुई वर्षसम्म लम्बियो । त्यसबेलासम्ममा उनीहरूबीच शारीरिक सम्पर्क पनि भइसकेको थियो । सबै राम्रै चलिरहेको थियो । साहित्यमा रूचि भएका उनी त्यसैमा आफूलाई स्थापित गर्ने प्रयासमा थिए ।

उनीहरू अन्तरजातीय प्रेमि–प्रेमिका थिए । परिवारले जात र भविष्यको प्रश्न उठाउँदै उनीहरूको प्रेमलाई विवाहमा परिणत गर्न दिएन । ‘हाम्रो नाता यसरी छुट्ला भनेर सोचेकै थिएनौं,’ उनी भन्छन् ।

उनको परिभाषामा प्रेम भनेको आकर्षणको हो । भन्छन्, ‘जब आकर्षणको चरण पार गरेर सम्बन्धमा आशक्ति आउँछ, तब सामिप्यता बढ्न थाल्छ ।’ त्यतिबेला उनीहरू आपसी कमजोरीलाई सम्बोधन गर्न सक्छन् र हौसला दिन सक्ने गरी ‘कम्प्रोमाइज’ गर्छन् । त्यसबेला प्रेमको बीज अंकुराउन थाल्छ । ‘कम्प्रोमाइज’ छैन भने प्रेम भ्रुणमै मर्छ ।

प्रेमका केही विम्ब छन्, रोमियो–जुटियल, लैला–मजनु, हीर–राँझालगायत । तर, आधुनिक प्रेम कहानीमा उनीहरूको जस्तो त्याग र लगाव पाउन र देख्न विरलै पाइन्छ ।

पहिले–पहिले केटा–केटी आपसमा बोलेको मात्र देख्दा पनि उनीहरूको ‘लभ’ परेछ भनिन्थ्यो । त्यसताका पनि प्रेमको अस्तित्व नभएको होइन तर ती लुप्तप्रायः हुन्थे । अहिले केही खुला भने भएको छ ।
 

आकर्षणको चरण पार गरेर आशक्ति आउँछ, सामिप्यता बढ्छ । एकअर्कालाई हौसला दिन सक्ने गरी ‘कम्प्रोमाइज’ गर्छन् ।

माया अर्थात् विश्वास

काठमाडौंका विमल तामाङको हालसम्म तीन ‘गर्लफ्रेन्ड’ भइसकेका छन् । उनका लागि प्रेम भनेको विश्वास हो । मायामा सबैभन्दा ठूलो कुरो भनेको एकअर्कोलाई दिने ‘टाइम’ र ‘केयर’ हो । ती दुवै भएनन् भने यौन सम्पर्क नै भए पनि प्रेम स्थायी नहुने उनको ठम्याइ छ ।

उनका यसअघिका दुई ‘गर्लफ्रेन्ड’ साथीमै सीमित बने । अहिले भने उनकी प्रेमिकासँग शारीरिक सम्बन्ध बन्यो ।

प्रेममा सेक्स अनिवार्य होइन तर भएको राम्रो भन्ने मान्यता राख्छन्, उनी । तर, आजकलका प्रेमि–प्रेमिका ‘फास्ट फरवार्ड’ छन् । यस पाटोमा केटीहरू पनि कम छैनन् । डेट जाने, सेक्समा संलग्न हुने । यस पाटोलाई चाहीं विकृति मान्न सकिन्छ ।

मनोविद् गोपाल ढकालका अनुसार अहिले सामाजिक सञ्जालको प्रभावका कारण यस प्रकारका गतिविधि बढ्दै छन् । उनी भन्छन्, ‘खास अर्थमा यौन चाहना गलत होइन, हाम्रो समाजले हेर्र्ने प्रवृत्तिमा पनि फरकपन ल्याउने बेला भएको छ ।’

मनोविज्ञानले सेक्सलाई प्राकृतिक स्वभावका रूपमा लिएको ढकाल बताउँछन् । यसलाई समाजले पनि स्वीकार्नुपर्ने भएको छ । यदि समाजले यसलाई सकारात्मक तरिकाले हेर्नसके मात्र पनि धेरै मात्रामा यो समस्या हट्न सक्ने उनको ठम्याइ छ ।

तर, अहिले यो प्रवृत्ति विकृतिका रूपमा स्थापित हुन थालेको छ । ‘यसलाई निर्मुल पार्न पनि किशोर–किशोरीलाई यौन तथा मनोविज्ञानको शिक्षा दिनु जरूरी छ,’ ढकाल भन्छन् ।

‘छाड्न पनि सकिरहेकी थिइनँ, प्रस्ताव मान्न पनि सकिरहेकी थिइनँ । सम्झाउँदा मान्थ्यो, आफैं सरी पनि भन्थ्यो । र, हीनताबोध पनि गथ्र्यो ।’

माया आफैंलाई

अमेरिकामा रहेकी अपेक्षा फुँयाल भने आफैंलाई प्रेम गर्छिन् । उनलाई विपरित लिंगीप्रति प्रेमको अनुभूति कहिल्यै भएको छैन । ‘क्रस’ धेरै परे पनि ती ‘क्रस’मै सीमित रहेको उनी बताउँछिन् ।

भन्छिन्, ‘अमेरिकन लिभ फर फुड एन्ड सेक्स ।’ तर, प्रेम र सेक्सको सन्दर्भमा उनले आफ्नो संस्कृतिलाई बिर्सेर अमेरिकी ‘लाइफ स्टाइल’ अपनाउन सकेकी छैनन् ।

सेक्सको मामिलामा उदार ठान्छिन्, उनी आफूलाई । र, यसलाई प्राकृतिक स्वभावका रूपमा लिन्छिन् ।

त्यसो त, प्रेम र यौन सृष्टीका अभिन्न अंग नै हुन् । फुँयाललाई लाग्छ, जीवनमा अनुभूति गर्ने भावना गलत व्यक्तिमा नपरोस् । ऊ नै पहिलो र अन्तिम होस् । भन्छिन्, ‘प्रेमको उत्कर्षमा पुगेर माया गरूँ, उसलाई ।’

निशा गुरूङ (नाम परिवर्तन)को भने कथा बेग्लै छ । उनका प्रेमिले यौन सम्बन्धको प्रस्ताव राखे । इच्छा त थिएन तर पटक–पटकको आग्रहबाट आजित भइसकेकी थिइन् । झगडा बढ्दै गयो र सम्बन्ध टिक्न पनि मुस्किल होलाजस्तो भयो ।

प्रेमिले ‘बे्रक अप’को घुर्की लगाए । तर, उनले प्रस्ताव स्वीकार्न सकिनन् । ‘उसलाई छाड्न पनि सकिरहेकी थिइनँ, प्रस्ताव मान्न पनि सकिरहेकी थिइनँ,’ उनी भन्छिन्, ‘सम्झाउँदा ऊ मान्थ्यो । आफैं सरी पनि भन्थ्यो । र, हीनताबोध पनि गथ्र्यो ।’

फेरि २/३ दिनमा यौनको प्रस्ताव गर्थे । त्यसरी नै बित्यो, करिब ६ महिना । अन्त्यमा, उनीहरू बीचमा सेक्स भयो । पहिलो यौन सम्बन्ध भएको करिब दुई वर्ष बित्यो । समस्या आएको छैन र सम्बन्ध पनि राम्रै चलिरहेको छ ।

गुरुङलाई भने कहिलेकाहीं आफ्नो परिवारलाई धोका दिएजस्तो लाग्छ । हीनताबोधले आफूलाई भित्रभित्रै खाइरहेको ठान्छिन् ।

महिला इमानदार, पुरुष बेइमान


इन्फोग्राफ्स  ( नेपाल डेमोग्राफ्रिक एन्ड हेल्थ सर्वे–  सन् २००६ )

‘नेपाल डेमोग्राफ्रिक एन्ड हेल्थ सर्वे, २०११’मा १५ देखि २५ वर्ष समूहका युवा–युवतीको वर्षदिनको यौन क्रियाकलापको अध्ययन भएको थियो । त्यस क्रममा उक्त समूहका महिलाले श्रीमान्सँग मात्र यौन सम्पर्क हुने गरेको बताए । त्यस्ता महिलाको आँकडा सन् २००६ मा ९९ दशमलव सात र सन् २०११ मा ९९ दशमलव पाँच प्रतिशत थियो । दुवै सर्वेको आँकडामा ठूलो फरक देखिएन ।

यो प्रवृत्ति पुरूषमा भने फरक देखिएको छ । वैवाहिक सम्बन्धमा रहेकामा सन् २००६ मा ८२ प्रतिशतले आफ्नै श्रीमतीसँग शारीरिक सम्पर्क राखेको बताएका थिए । सन् २०११ मा भने ६५ प्रतिशतले मात्र त्यस्तो जवाफ दिए ।

केही पुरुषले त यौन व्यवसायमा लागेका महिलाहरूसँग शारीरिक सम्पर्क हुने गरेको समेत बताए ।

प्रेमि–प्रेमिकामध्ये सन् २००६ मा ११ प्रतिशत केटाहरूले पे्रमिकासँग शारीरिक सम्बन्ध भएको बताएका थिए । सन् २०११ मा आइपुग्दा उक्त आँकडा ३१ दशमलव दुई प्रतिशत पुगेको पाइएको छ । यसबाट देखिन्छ, विवाहअघिको यौन सम्बन्धको ‘ट्रेन्ड’ बढ्दो क्रममा छ ।

केटीहरूले भने दुवै सर्वेमा खुलेर बताएनन् । अझै पनि ‘क्लोज्ड’ छ, नेपाली समाज । लोकलाजको डर केटामा भन्दा केटीमा बढी छ । सन् २००६ मा शून्य दशमलव एक प्रतिशत केटीले मात्र विवाहअघिको यौन सम्बन्ध स्वीकारेका थिए । सन् २०११ मा शून्य दशमलव पाँच प्रतिशतले प्रेमिसँगको यौन सम्बन्ध स्वीकारेका थिए ।

इन्फोग्राफ्स  ( नेपाल डेमोग्राफ्रिक एन्ड हेल्थ सर्वे–  सन् २०११ )

बदलिँदै परिभाषा

संसार २१औं शताब्दीमा छ । र, प्रेमको परिभाषामा पनि अघिल्ला शताब्दीमा भन्दा परिवर्तन आएको छ । युवा–युवतीले प्रेमलाई सैद्धान्तिकभन्दा व्यावहारिक रूपमा लिन थालेका छन् । हलिउड र बलिउड फिल्म तथा इन्टरनेटको सहज पहुँचले उनीहरूको धारणामा निकै परिवर्तन ल्याएको मान्न सकिन्छ ।

मनोविद् करूणा कुँवर भन्छिन्, ‘प्रेम सम्बन्ध हुन्छ भने त्यहाँ यौन हुनु आपत्ति होइन । तर, सम्बन्ध कतिको स्वस्थ छ र कतिको समझदारी छ भन्ने ख्याल गर्नुपर्छ ।’

संसारले ‘इन्स्ट्यान्ट’ जमानाको अभ्यास गर्दै गर्दा नेपाली समाजले प्रेम र यौनलाई सांस्कृतिक संकुचनमा राखेको छ । यौनले सम्बन्धलाई अझ सबल बनाउँछ भन्ने बुझेका युवा–युवती पनि प्रेमको दुरुपयोग नहोस् भन्ने कुरामा सचेत देखिन्छन् ।

मनोविद् कुँवरका अनुसार किशोर–किशोरीका लागि त्यस्ता पुस्तक आवश्यक छन्, जसले उनीहरूको उमेरमा हुने परिवर्तनबारे जानकारी दिऊन् । अहिलेका युवाले प्रेमको अर्थ सेक्ससँगै लगाउन थालेका छन् । हुन त, प्रेममा परेपछि आकर्षणको चरण आउँछ । यौन प्राकृतिक चाहना पनि हो ।

‘यदि समाज र परिवारले यस पक्षलाई खुलेर बुझाउन सके शायद युवा–युवतीको कौतुहलता मेटिन्छ,’ कुँवर भन्छिन्, ‘जुन दिशामा अहिलेका युवा–युवती गइरहेका छन्, त्यसलाई अवश्य रोक्न सकिन्छ ।’

भनिन्छ, जे काम नगर भन्यो, त्यही नै मान्छेलाई गर्न मन लाग्छ । यदि यौनका बारेमा समाजले खुलेर बोल्ने हो भने यस प्रकारको समस्या धेरै हट्न सक्छ । कुँवर भन्छिन्, ‘सेक्सलाई लुकाउन खोज्यौं भने झन् विकराल रूप लिन्छ ।’

www.nepalsamaya.com

प्रतिकृया दिनुहोस्