Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/१९ गते
१२३० पटक

२०५८ जेठ १९ गते शुक्रबार राति।

करिब पौनै नौ बजे।

त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे।

सुरुमा सिलिङ र पश्चिम भित्तामा।

केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे।

वीरेन्द्र लडे। उनलाई बहिनी शोभाले समातिन्। शाही नातेदार राजीव शाही पनि दौडँदै आए र वीरेन्द्रलाई उठाए।

अचानक वीरेन्द्रले पेस्तोल झिके। शोभाले ‘यो छाडिबक्स्योस्’ भन्दै च्याप्प थुतिन्।

शोभाको हातमा म्याग्जिन आयो।

फ्याँकिदिइन्।

त्यसपछि करिब पौने नौदेखि नौबजेभित्र १५ मिनेटमा दीपेन्द्रले नारायणहिटी राजदरबारमा जुन वितण्डा मच्चाए, त्यसले १६ वर्षअघिको त्यो कालो रातलाई नेपाली इतिहासका सर्वाधिक भयानक दिनमध्ये एक बनाइदिएको छ। त्यो दिनको घटना सम्झिँदा अहिले पनि शरीर थरर काँप्छ।

त्यो पन्ध्र मिनेटको त्रासदीमा तत्कालीन राजा वीरेन्द्र, युवराज दीपेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीसहित दस जनाको ज्यान गएको थियो। त्यो रात दीपेन्द्रको पहिलो फायरिङपछि नै वीरेन्द्रले हातमा निकालेको पेस्तोल शोभाले नखोसिदिएको भए के हुन्थ्यो ?

फेमस ग्राउजका केही निट पेग, गाँजा र अन्य लागू पदार्थ खाएर होसहवास गुमाइसकेका दीपेन्द्रको मस्तिष्कमा प्रेमिका देवयानी राणासँग सम्बन्ध गाँस्न परिवारले गरेको आनाकानीले झनै आगो बालिदिएको थियो। होसहवास गुमाएर जथाभावी फाइरिङ गर्दै हिँडेका दीपेन्द्रलाई नै आफूलाई गोली लागिसकेपछि वीरेन्द्रले गोली प्रहार गर्थे वा गर्थेनन् ?

दीपेन्द्रसँग त्यो रात चारवटा हतियार थिए, दुइटा राइफल, अर्को बाह्र बोरको बन्दुक र ह्यान्डगन।

सैनिक कम्ब्याटमा चारवटा हतियार लिएर अचानक बिलियार्ड हल छिरेका दीपेन्द्रले गोली बर्साउन थालेपछि अरु कसैलाई हतियार निकाल्ने होस नै भएन।

वीरेन्द्रले भने पेस्तोल निकालिसकेका थिए। तर, शोभाले च्याप्प समाइन् र म्याग्जिन थुतिदिइन्।

वीरेन्द्रको हातबाट शोभाले म्याग्जिन नथुतिदिएको भए सम्भवतः नेपाली राजतन्त्रको इतिहास नै बदलिन्थ्यो ! … त्यतिबेला नारायणहिटी राजदरबारमा हरेक महिना तेस्रो शुक्रबार पारिवारिक जमघट हुन्थ्यो।

तत्कालीन युवराज दीपेन्द्रको खोपी रहेको त्रिभुवन सदनमा हुन्थ्यो त्यो पारिवारिक जमघट। त्यो दिन निम्त्याइएका २४ जनामध्ये तीन जना आएनन् – प्रेक्षा, मोहनबहादुर शाही र विमला सिंह। अरु २१ जना साँझ आठ बजे आसपास त्रिभुवन सदन पुगिसकेका थिए।

साँझ साढे सात बज्नुअघि नै दीपेन्द्रले बिलियार्ड हलमा बसेर फेमस ग्राउज ह्विस्कीको दुई पेग मारिसकेका थिए – एक्लै बिलियार्ड खेल्दै। साढे सात बजे बोलाइएका शाही नातेदार बिस्तारै आउन थालेका थिए। आमा कोमल, बहिनी प्रेरणा, पत्नी हिमानीसहित पारस ७ः४० मा निर्मल निवासबाट नारायणहिटीमा रहेको बिलियार्ड हल आइपुगे। त्यो दिन ज्ञानेन्द्र भने पोखरामा थिए।

पारसले सुरुमै आउँदा दीपेन्द्रलाई मातिसकेको देखेका थिए। मातेका दीपेन्द्रले देवयानीलाई संकेत गर्दै पारसलाई भने, ‘बिहेको कुरा भएको छ, मुमाले हुँदैन भन्नुभयो। अब पर्सि बुबासँग कुरा गर्छु।’

दीपेन्द्र–देवयानी सम्बन्धको गहनता र जटिलता दुवै नारायणहिटीको चौघेराबाट आम जनताको कानसम्म पुगिसकेको बेला थियो। तत्कालीन मुमा बडामहारानी रत्न त्रिभुवन सदन नजिकैको महेन्द्र मञ्जिलमा बस्थिन्। आठ बजे दीपेन्द्र बिलियार्ड हलबाट बाहिर निस्के र आफैं मोटर चलाउँदै महेन्द्र मन्जिलबाट रत्नलाई लिएर त्रिभुवन सदन फर्के।

रत्न मुख्य जमघटस्थल बिलियार्ड हल पस्दिनथिइन्। त्यो दिन पनि उनी अधिराजकुमारी हेलेनसँग आडैको सानो बैठकमा बसिरहिन्। बिलियार्ड हल बिस्तारै गुल्जार हुँदै गयो। मातिसकेका दीपेन्द्रले आफैं पाहुनाहरुलाई ड्रिंक्स सर्भ गरे। सबैभन्दा ढिलो साढे आठ बजे राजा वीरेन्द्र आफ्नो कार्यालयबाट पैदलै जमघटस्थल आइपुगे। सबैभन्दा पहिला सानो बैठकमा छिरेर आमा रत्नको दर्शन गरे, एकछिन भलाकुसारी गरे र त्यसपछि बिलियार्ड हल प्रवेश गरे।

वीरेन्द्र बिलियार्ड हल छिर्नुभन्दा केही मिनेटअघि दीपेन्द्रले पाश्ववर्ती गजेन्द्र बोहोरालाई भने, ‘चुरोट ल्याऊ।’ गजेन्द्रले आदेश दिएअनुसार अर्दली रामकृष्ण केसीले गाँजा र नाम नखुलेको कालो पदार्थ मिसाएको शिखर चुरोट बिलियार्ड कोठाको पूर्वढोकामा गएर पारसलाई जिम्मा लगाए, दीपेन्द्रलाई दिन आग्रह गर्दै।

यसअघि ८:१२ मा दीपेन्द्रले देवयानीलाई फोन गरेका थिए, १ मिनेट १४ सेकेन्ड। छ मिनेटपछि देवयानीले दीपेन्द्रलाई फोन गरिन्। ४ मिनेट १४ सेकेन्ड कुरा भयो। कुरा भइरहँदा नै दीपेन्द्रको स्वर लर्बराइरहेको थियो। पूरा कुरा हुन पनि पाएन। नसालु चुरोटको मातले दीपेन्द्र झनै माते र बेहोसै भएजस्तो गरी ढले। बिलियार्ड हलमै दीपेन्द्र ढलेपछि पारस, गोरख, निराजन र राजीवले उठाए।

यी चार जना मिलेर दीपेन्द्रलाई उनको खोपीमा पु¥याए तर मूल ओछ्यानमा सुताउन सकेनन्। भुइँको सानो ओछ्यानमै दीपेन्द्रलाई सुताइदिएर उनीहरु बिलियार्ड हलमै फर्केर रमाइलो गर्न थाले। देवयानीले दीपेन्द्रका पाश्ववर्ती बोहोरा र राजु कार्कीलाई फोन गरेर सोधिन्, ‘युवराजधिराजको स्वर लर्बराइरहेको छ, सञ्चो छैन कि ?’

बोहोराको आदेशअनुसार अर्दली रामकृष्ण र द्वारेआमा जमुना अधिकारी दीपेन्द्रको खोपीमा पुग्दा उनी भुइँमा पल्टेर शरीरको माथिल्लो भागका कपडा खोल्न खोज्दै थिए। रामकृष्ण र जमुनाले उनलाई कपडा खोल्न सघाए। दीपेन्द्र बाथरुम छिरे। जमुनाले उनले वाक्वाक गरेको आवाज सुनिन्।

बाथरुमबाट निस्केपछि दीपेन्द्रले रामकृष्ण र जमुनालाई भने, ‘तिमीहरु जाओ।’ बिलियार्ड हलमा पार्टी चल्दै थियो। दीपेन्द्रले खोपीबाटै देवयानीलाई फोन गरे। भने, ‘अब म सुत्न लागेँ।’

देवयानीको जवाफपछि दीपेन्द्रले भने, ‘गुडनाइट, भोलि कुरा गरौंला।’ ३२ सेकेन्डमात्र चलेको त्यो नै दीपेन्द्र र देवयानीको अन्तिम संवाद थियो।

देवयानीलाई ‘सुत्छु’ त भने तर दीपेन्द्र सुतेनन्। सैनिक कम्ब्याट लगाए। हातहतियार बोके र खोपीबाहिर निस्किए। अर्दली रामकृष्णलाई लाग्यो, ‘कहिँ बाहिर सवारी हुने रहेछ कि क्या हो !’ उनले दीपेन्द्रलाई सोधे, ‘इमर्जेन्सी ब्याग टक्र्याउँ सरकार ?’

दीपेन्द्रले भने, ‘पर्दैन अहिले।’ दीपेन्द्र सैनिक कम्ब्याटमा दुइटा राइफल, बाह्र बोरको बन्दुक र ह्यान्डगन भिरेर बिलियार्ड हल छिरे।

कालो रङको हतियारले हलको सिलिङ र पश्चिम भित्तामा फायरिङ गरे।

राजा वीरेन्द्रले भने, ‘के गरेको ?’ बिलियार्ड टेबुलको पूर्वउभिएर नातेदारसँग कुरा गर्दै तत्कालै दीपेन्द्रले आफ्ना बुबा राजा वीरेन्द्रलाई फायर गरे।

फायर गर्दै पछाडि सरे र कोठाबाहिर भित्री बगैँचा छेउको उत्तरतर्फ भर्‍याङमा बाह्र बोरको बन्दुक फ्ँयाके र फेरि बिलियार्ड हल छिरे। बत्ती र टेलिस्कोपसहितको अर्को राइफल सोझ्याएर राजा वीरेन्द्र, कुमार गोरखशमशेर, धिरेन्द्र र कुमार खड्गविक्रमलाई फायर गरे। फेरि पछाडि सरे।

तेस्रोपटक जथाभावी फायरिङ गरे। श्रुती, शारदा, शान्ति र जयन्तीलाई लाग्ने गरी। त्यसपछि दीपेन्द्र बिलियार्ड कोठाबाहिर रहेको भित्री बगैँचामा पछाडि सर्दै गए। रानी ऐश्वर्या र अधिराजकुमार निराजन बगैँचामा दीपेन्द्रको पछिपछि दौडिए।

निलकाँडाको झ्याङ नाघी सानो चौरमा उभिएर दीपेन्द्रले फेरि गोली चलाए। निराजनलाई त्यहीँ गोली लाग्यो र उनी ढले। त्यतिञ्जेल राजा वीरेन्द्रलाई अस्पताल लगिसकिएको थियो।

दीपेन्द्रको सनक उत्कर्षमा पुगिसकेको थियो। उनले आफ्नो खोपी जाने सानो पोखरीको पुलबाट उत्तर लागी मुख्यद्वार हुँदै भित्री भ¥याङको सातौं खुटकिलामा रानी ऐश्वर्यालाई फायरिङ गरे। गिदी बाहिर निस्क्यो र छरपस्ट भयो। दात र बंगारा पनि झरे। रातो टीका, कानको टप, रातो चुरा जताततै छरिए।

त्यसपछि त्रिभुवन सदनअगाडि बगैँचाको पोखरीको पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वारघ्वार आवाज निकालिरहेको अवस्थामा दीपेन्द्र भेटिएका थिए। उनले आफैंलाई गोली हानेका थिए।

वीरेन्द्र, ऐश्वर्या, निराजन, श्रुती, शान्ति, शारदा, जयन्ती, कुमार खड्गविक्रम घटनास्थलमै मारिए। गोली लागेर घाइते भएका दीपेन्द्र र धिरेन्द्रको तीन दिनपछि सैनिक अस्पतालमा निधन भयो।

घटनामा कोमल, शोभा, गोरखशमशेर, केतकी घाइते भए। घटनास्थलमा ५.५६ क्यालिबरको अटोमेटिक राइफलका ४७ वटा गोली भेटिए। मेसिनगन र अटोमेटिक पिस्तोल प्रयोग गरेको अनुसन्धानबाट खुल्यो।

३० वर्षीय दीपेन्द्रको सनकले यसरी नेपाली इतिहासको एउटा कालो दिनको कथा लेखियो। १५ मिनेटमा शक्तिशाली हतियारले फाइरिङमाथि फाइरिङ गरेका दीपेन्द्रलाई कसैले रोक्न सकेन। वीरेन्द्रले भने दीपेन्द्रको पहिलो प्रहारपछि नै पेस्तोल निकालिसकेका थिए। तर, उनले पनि त्यो हतियार आफू र परिवारका सदस्यको सुरक्षाका लागि प्रयोग गर्न पाएनन्।

बहिनी शोभाले उनको हातबाट पेस्तोल खोसेपछि त्यो रात पन्ध्र मिनेटमै दीपेन्द्रले आधुनिक नेपाली इतिहासको सर्वाधिक त्रासद रक्तपात गराइदिए। बुबाआमा, भाइबहिनी, काका, फुपुसहित नौ जनाको ज्यान लिए र आफूलाई पनि गोली हाने।

(२०५८ जेठ १९ गतेको घटनासम्बन्धमा तथ्य जाहेर गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय समितिले तत्कालीन राजा ज्ञानेन्द्रलाई बुझाएको प्रतिवेदनमा आधारित। सेतोपाटीमा यसअघिनै छापिएको अर्काइभ स्टोरी)

#सेतोपाटीबाट साभार ।

प्रतिकृया दिनुहोस्