Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२५ गते
    ४२ पटक
    कोहलपुर ।

    सामुदायिक विद्यालयहरुले कुनै पनी बहानामा आधारभुत तहसम्म शुल्क लिन नपाउने निर्णय बाँकेको कोहलपुर नगरपालिकाले गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले नगरभित्र रहेका सामुदायिक विद्यालयहरुले आधारभुत तहसम्म शुल्क लिन नपाउने निर्णय गरेको हो ।

    नगर प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले नगर शिक्षा समितीको सिफारिस अनुसार आधारभुत तह कक्षा ८ सम्म पुर्ण रुपमा निशुल्क गर्ने निर्णय गरेको नगरपालिकाकी सामाजिक समिति संयोजक नारायणी ओलीले जानकारी दिइन् । शैक्षिक सत्र २०७६ बाट कोहलपुर नगर भित्रका कुनै पनी सामुदायिक विद्यालयहरुले कुनै पनी शिर्षकमा आधारभुत तहसम्म शुल्क लिन पाउने छैनन् ।

    ‘सामुदायिक विद्यालयमा आधारभुत तहसम्म निःशुल्क शिक्षा दिइने छ’ नगर प्रमुख रावतले भने, ‘विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्नको लागि नगरपालिकाले लगानी बढाइरहेको छ ।’ नगर शिक्षा प्रमुख राम शुरेस यादवको संयोजकमा शिक्षकका पेशागत घटकका अध्यक्षहरु सदस्य रहेको ४ सदस्यीय कार्यदलले नगरमा कक्षा ८ सम्म निःशुल्क गर्न सकिने प्रतिवेदन समितिलाई बुझाएको थियो ।

    ‘नगर भित्रका सबै बालबालिकालाई विद्यालयसम्म पु¥याउने गरी काम गरिने छ’ नगर शिक्षा प्रमुख यादवले भने, ‘अब कोही बालबालिकाको पनी पैसाको अभावमा विद्यालय जाने बाटो बन्द हुनेछैन ।’ नगर भित्र रहेका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

    ‘नगर भित्र रहेका सामुदायिक विद्यालयहरु पनी संस्थागत विद्यालय भन्दा कम छैनन्’ उनले अगाडि थपे, ‘अब विद्यार्थी तथा अभिभावकको सामुदायिक विद्यालय प्रतिको धारणा परिवर्तन गर्न आवश्यक छ ।’

    यसैगरी कोहलपुर नगर शिक्षा समितिको शनिबार बसेको बैठकले कोहलपुर नगर भित्रका सामुदायीक बिद्यालयको ऐच्छिक बिषय नगर शिक्षाले नै उपलब्ध गराउने निर्णय गरेको छ ।

    बैठकले नगर क्षेत्र भित्र प्रक्रिया पु¥याई आएका र मापदण्ड पुरा भएका बिद्यालयहरुलाई कक्षा थपको अनुमति प्रदान गरेको नगर शिक्षा प्रमुख रामसुरेश यादवले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्