Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२३ गते
    १०४ पटक
    कोहलपुर ।

    एनआइसी एशिया बैंकले विभिन्न १५ नयाँसहित २२ वटा चमत्कारिक बचत निक्षेप योजना ल्याएको छ । बैंकले २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा चमत्कारिक योजना ल्याएको बताएको छ ।

    ‘सबै खालका ग्राहकलाई समेट्ने गरी चमत्कारिक बचत योजना ल्याइएको हो’ बैंकका नेपालगञ्ज क्षेत्रीय प्रवन्धक तेजराज तिमिल्सिनाले कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा भने,‘अब एनआइसी एशिया खाता खोल्दा ग्राहकले २२ वटा विभिन्न सुविधाहरु पाउनेछन् ।’

    चमत्कारिक बचत खाता, नारी बचत खाता, ज्येष्ठ नागरिक बचत खाता, बाबु नानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, तलब बचत खाता लगायतका योजना बैकले ल्याएको छ ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चमत्कारिक खातामा एक हजार रुपैयाँसम्म बचत गर्नेलाई सिल्भर, २५ हजार रुपैयाँ बराबरको खातालाई गोल्ड र एक लाख रुपैयाँ बराबरको खातालाई डायमन्ड खाताको रुपमा वर्गीकरण गरिएको छ ।’

    चमत्कारिक खाता खोल्ने ग्राहकलाई डिपोजिट रकम अनुसारका १५ लाख रुपैयाँसम्मको दुर्घटना विमा र १५ लाख रुपैयाँसम्मको १८ घातक रोगको विमा तथा एक लाख ५० हजार रुपैयाँ बराबरको औषधि उपचार विमा सुविधा उपलब्ध गराइने छ ।

    चमत्कारिक खाता खोल्ने ग्राहकले देशका जुनसुकै शाखाको एटिएमबाट रकम निकाल्दा निःशुल्क र सिल्भर र डायमन्ड खाता खोल्ने ग्राहकले २८ वटा जुनसुकै वाणिज्य बैंकको एटीएमबाट पैंसा निल्शुल्क रुपमा निकाल्ने व्यवस्था गरिएको बताइएको छ । डायमन्ड खाता खोल्ने ग्राहकले निःशुल्क लकर सेवा पनि पाउनेछन् ।

    बैंकका देशभर १८१ वटा शाखा, २८९ एटीएम र ३९ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । कोहलपुरमा भएको पत्रकार सम्मेलनमा यस क्षेत्रका व्यवसायीहरुले बैकलाई सेवा सुविधा घोषणा मात्रै गर्नुभन्दा पनी छिटो छरितो सेवा दिन आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्