Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/२१ गते
    ३५ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुर नगरपालिकाले नयाँ शैक्षिक शत्र २०७६ को लागि विद्यार्थी भर्ना अभियान सुरु गर्ने तयारी थालेको छ । नगर शिक्षा समितीले शैक्षिक सत्र नजिकिदै जाँदा नगर भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्नको लागि योजना बनाउन थालेको हो ।

    कोहलपुर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम शुरेस यादवले सामुदायिक विद्यालयहरुमा विद्यार्थी आकर्षण गर्नको लागि योजना बनाइएको जानकारी दिए । ‘नगरभित्रका अधिकांश सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या न्यून रहेको छ’ उनले भने,‘नयाँ शैक्षिक सत्रमा विद्यार्थीको आकर्षण बढ्नेगरी केही योजना अगाडि बढाइनेछ ।’

    सबै वर्ग तथा समुदायका विद्यार्थीहरुले निजी बिद्यालयको महंगो शुल्क तिर्न नसक्ने भएकाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा समेत सुधार गर्नुपर्ने नगर शिक्षा समितीका सदस्य सचिव समेत रहेका यादवले बताए ।

    ‘संस्थागत विद्यालयहरुको मंहगो शुल्क सबै विद्यार्थी तथा अभिभावकहरुले धान्न सक्दैनन्’ उनले भने, ‘सोही कुरालाई मध्यनजर गर्दै नगरपालिकाले अब सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिन्छ ।’ नगर शिक्षा समितीका अनुसार अहिले कोहलपुर नगरपालिका भित्र २९ वटा सामुुदायिक विद्यालयहरु सञ्चालनमा रहेका छन् । ती मध्ये अधिकांश विद्यालयमा विद्यार्थी संख्या एकदमै न्यून रहेको अधिकारीहरु बताउछन् ।

    ‘पछिल्लो समय सामुदायिक विद्यालयहरुमा समेत अंग्रेजी माध्यमबाट पढाई हुन सुरु भइसकेको छ’ नगर शिक्षा प्रमुख यादवले भने,‘आगामी शैक्षिक शत्रदेखि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा राम्रो हुदै जानेछ ।’

    ‘कोहलपुर नगरपालिकाको कार्यपालिकाले शैक्षिक शत्र २०७५ देखि सबै सामुदायिक बिद्यालयहरुमा कक्षा १ मा अँग्रेजी माध्यम लागु गरेको छ’ उनले भने ‘अब नयाँ शैक्षिक शत्रदेखि सबै विद्यालयले कम्तीमा २ कक्षासम्म अँग्रेजी माध्याममा पठनपाठन गर्नुपर्ने योजना लागु गर्ने तयारीमा छौं ।’

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको भ्रम फैलिएको भएपनि सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो भएको नगर शिक्षा प्रमुख यादवले बताए । ‘संस्थागत विद्यालय छोडेर विद्यार्थीहरु त्रिभुवन माध्यमिक विद्यालयमा भर्ना हुन जान्छन्’ उनले भने,‘यो नै सामुदायिक विद्यालयको उपलब्धी ठूलो उपलब्धी हो ।’ पछिल्लो समय सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि निजी विद्यालय छोडेर सामुदायिकमा विद्यार्थीहरु भर्ना आउने गरेका
    छन् ।

    ‘नगरभित्रका विद्यालयको पहुँचबाट बाहिर रहेका वालवालिकाहरुलाई विद्यालयसम्म पु¥याउन छिट्टै नै भर्ना अभियान सुरु गर्देछौं’ यादवले भने,‘अब नगरभित्रमा विद्यालयको पहुँचभन्दा बाहिर कोही पनी हुनु हुदैन ।’ केही दिनमा नै नगर शिक्षा समितीको बैठक बसेर कसरी विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भन्ने बिषयमा निर्णय गर्नेछ ।

    नगरपालिकाको तथ्याङ्क अनुसार चालु शैक्षिक शत्रमा कोहलपुर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा १० हजार ७ सय ८५ विद्यार्थीहरु अध्यनरत रहेका छन् । सामुदायिक विद्यालयमा भौतिक पुर्वाधार, जनशक्ति लगायतको राम्रो व्यवस्था भएपनी शैक्षिक गुणस्तर भने खस्किदो क्रममा रहेको भन्दै शिक्षा विज्ञहरुले भने चिन्ता व्यक्त गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्