Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/१९ गते
    ६९ पटक
    लेखकः दामोदर पौडेल ।

    अत्याधुनिक सिटी हल, आधुनिक बसपार्क, मानसरोबर पार्क, राष्ट्र बैङकको क्षेत्रिय कार्यालय, मोनो रेल, मेट्रो रेल, व्यवस्थित र आधुनिक सुविधा सहितको स्मार्ट सिटी अन्तराष्ट्रिय स्तरका खेलमैदानहरु, अटो भेलेज, मुक्तकमैयाहरुलाई पक्की घर , अतिक्रमण हटायर व्यवस्थित बसोबास, गाउँगाउमा सहकारी घरघरमा भकारी, एकघर एक रोजगार बनाउने संकल्प लिएर ‘समाजवादको यात्रामा’रहेको ने.क.पाको नेतृत्वमा हाम्रो मिनी सिंहदरवारको बागडोर चलेको छ ।

    चिल जस्तै बनेर दुरदृष्टि र दृष्टिकोण अपनाएर कोहलपुरको विकास र समृद्धिलाई प्रभावकारी योजनासाथ अगाडि बढाउनु पर्नेमा यो सरकारले कुखुराले जस्तै भुई कोतरी रहेको यत्रतत्र जनगुनासा सुनिन्छ ।

    सबैलाई छाना, नाना, खाना र रोजगार बामपंथीहरुको नारा हो । नागरिक शुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारको जस्ता विषयलाई प्रमुख योजना राखेर अगाडि बढेमा मात्र यो उद्देश्यले मुर्त रुप लिन सक्छ । कृर्षि, पर्यटन, रोजगारमूलक उद्योगमा लगाानीको वातावरण, फोहर मैलाको उचित व्यवस्थापन, प्राविधिक र व्यवसायिक शिक्षा, स्वास्थ्य र पूवन सकिन्छ ।

    यसको लागि महत्वपूर्ण विषय आम जनसमुदायको विकासमा सहभागिता, नगर प्रमुखको कार्य कुसलता, मातहतका निकायसँगको नेतृत्वको चेन अफ कमाण्ड, पार्टी नेतृत्व र कार्यकर्ताको मेयरलाई पूर्ण सहयोग, विपक्षीमाथि विश्वासको वातावरण लगानीमा पारदर्शिता र खर्चमा मितव्ययिता आदि भित्रि र बाहिरी सहयोग तथा कार्यशैलीले मात्र हाम्रा कल्पना र सपना साकार हुन सक्छन् ।

    अव्यवस्थाबाट सुव्यवस्था तर्फको सुल्टो यात्राले मात्र अपेक्षित प्रतिफल प्राप्त गर्न सकिन्छ । अंग्रेजीमा एउटा भनाइ छ फुट लास्ट एट फस्ट अर्थात समाजको अति विपन्न, कमजोर र अति समस्यामा रहेका कुरालाई पहिले सम्बोधन गर । तर यही मुख्य प्रश्नमा हाम्रो स्थानीय सरकार अलमलिएको छ । र त, जनतामा निरासा, कर्मचारीको कार्यशैलीमा पुरानै ढर्रा तथा नेतृत्वको बीचमा रहेका अविश्वास र कमजोरी सडकसम्म छताछुल्ल पोखिएका छन् ।

    संविधानले स्थानीय तहलाई विधायिकी, कार्यकारिणी र न्यायिक अधिकार प्रयोग गर्न सक्ने अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले सहरी विकास, वस्ती विकास, गाउँ सभा सञ्चालन, नगरसभा सञ्चालन, मेलमिलाप र मध्यस्थता, स्थानीय अभिलेख व्यवस्थापन, सामाजिक शुरक्षा, अपाङ्गता र अशक्तको व्यवस्थापन, कृषि व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, भाषा संस्कृति तथा ललित कलाको संरक्षण सार्वजनिक खरिद नियम आदि २२ वटा अधिकार दिएको छ ।

    त्यस बाहेक शिक्षा,सवास्थ्य जस्ता जनताको प्रत्यक्ष सरोकारका विषय पनि स्वयँ स्थानयि सरकारको अधिकार क्षेत्र भित्र परेको छ । प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा ३२७ वटा अधिकार छुट्टाइएको छ । नेपालको संविधानले सिंह दरबारको अधिकार गाउँगाउँ सम्म पु¥याउने मार्ग चित्र कोरी सकेको छ । तर यति हुँदा पनि स्थानीय सरकार प्रभाबकारी रुपमा संचालन किन हुन सकेको छैन ?

    बाटो, विजुली, पानी, अस्पताल, शिक्षा, स्वास्थ्य, शुरक्षा तथा रोजगार विकास र सम्वृद्धिका आधार हुन् । तर यो आधार आजको भोलि रातारात हामीहरुले सोच्दैमा पूरा हुँदैनन् । यसकोलागि दिर्घकालिन योजनाको आवश्यक छ चुनाव जित्ने विषयमा होइन हाम्रो नेतृत्वले ५० वर्ष पछि कोहलपुरको अवस्था र आवश्यकतालाई हेरेर दिर्घकालिन गुरुयोजना बनाएर अगाडि बढ्न जरुरी छ ।

    तर तात्कालिक रुपमा साना तर जनताको प्रत्यक्ष रारोकार रहेका विषयहरुलाई बेवास्ता गरेर जनताको विश्वास जित्न सकिदैन । त्यसकारण नेतृत्वको पहिलो ध्यान सामाजीक सुरक्षा, र साना तर जनताका सरोकारका सामान्यलाग्ने विषयमा जान आवश्यक छ । तर हाम्रो स्थानीय नेतृत्वले झिना मसिना काम भनी यसतर्फ चासो देखाएको छैन ।

    कोहलपुर नगरपालिकाको आडैमा ट्राफिक कार्यालय छ । यसकोे मुख्य काम कोहलपुर क्षेत्रको यातयातलाई नियमन र व्यवस्थित पार्ने हो । कोहलपुर बजार क्षेत्रमा राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय महिला नेतृ गोमा शाही, शिक्षक , व्यवसायी र सर्वसाधारण नागरिकले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटना जेव्राक्रसिङमा भएका छन् । तर यातायात सुरक्षाको जिम्मा लिएको कोहलपुरको ट्राफिक कार्यालय र सडक विभागले एकाध गोष्ठीको आयोजना गर्ने र प्रतिक्रिया दिने बाहेक केही गरेको छैनन् ।

    दुर्घटना बढ्नुको मूलकारण पत्तालगाएर न्युनीकरणका विधि अवलम्बन गर्ने यिनीहरुको ध्यान पुगेको छैन । लाइसेन्स र ब्लुबुकको‘ चक्क्रमा’ मात्र यिनीहरुको दिन बित्छ । बजार क्षेत्रमा गुड्ने सवारी साधनलार्ई टाइमकार्ड दिने, जेव्रात्रसिङ यात्रुको लागि हो भन्ने चेत नभएकालाई पक्डेर कारवाही गर्ने, फुटपाथ हटाउने, पार्किङ एरिया तोक्ने, जथाभावी पार्किङ गर्न नदिने जस्ता काममा ध्यान दिनुपर्ने हो । यसमा नगरपालिकाले पनि पहल गर्नु पर्ने हो तर समन्वयको अभाव देखिन्छ ।

    जनताले नगरपालीका क्षेत्रमा खानेपानीको समस्या झेलिरहेका छन् । आजको भोलि खानेपानी योजना बनाउन सकिदैन तर अहिले भएको पानीलाई कसरी व्यवस्थित रुपमा वितरण गर्न सकिएला ? यसतर्फ ध्यान लगाउन सकिन्छ । हामीले कल्पनै नगरेको लोडसेडिङ् देश भरी अन्त्य भएको छ । कोहलपुरको सानो क्षेत्रमा यो हलगर्न नसकिने समस्या होइन ।

    खानेपानी कार्यालयमा हुने बदमासी, चुहावट र कमजोरी हटाएमा र वितरणलाई चुस्त बनाएमा तत्कालै हल गर्न सकिन्छ । नगरपालिकाबाट दिने सेवामा टोकन प्रणाली लागु गर्न सकिन्छ । प्रधानमन्त्री के.पी वलीले सबै मन्त्रालयका काम कारवाहीहरु प्रभावकारी बनाउन कार्यकक्षमा आईटीको उपयोग गरेका छन् ।

    तत्काल हुने कामलाई टोकनबाट गरिदिने र समय लाग्ने कामलाई जुन दिन पुरा हुन सक्छ त्यसैदिन बोलाउने, एउटा सूचना अधिकारी राखेर सेवाग्राहीलाई म्यासेज गरेर सूचना दिएर बोलाउने नीति अबलम्बन गर्दा नगरवासीले राहात महसुस गर्ने थिए । कामको फरक अनुभुति पनि हुने थियो । विचौलिया निरुत्साहित हुने थिए ।

    नगरपालिकाले सहरको दायाँ बायाँ किनारका २५ मिटर क्षेत्रमा राखेका फूटपाथ, घुम्ती हटाउन विगत दुई वर्षदेखि स्थानीय पत्रपत्रिकाहरुमा सूचना जारी गरिरहेको छ । किसानले खेतबारीमा देखाउने ‘बुख्याचा’को डर र यस्ता सूचनाको चेतावनी उस्तै उस्तै लाग्न थालेका छन् । अतिक्रमित सडक नगरपालिकाले जोगाउन सकेको छैन ।

    सडक अतिक्रमण र फूटपाथ कब्जागरी राखेका ठूला साना ब्यापारीका सामान र निर्माण सामाग्रीहरु दुर्घटनाका बाहक र मृत्युका यमराज बनी रहेका छन् । फुटपाथका साना व्यापारीलाई निश्चित भाडा लिएर काठमाडौको भृकुटी मण्डप जस्तै बजारको विकास गर्न सकिन्छ । तर यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । बरु बाहुवल र पहुँचको आधारमा अतिक्रमण जारी छ । नगरपालिका निरिह र रमिते बनेको छ ।

    कोहोलपुर नगरपालिका र नगर विकासको क्षेत्र अधिकारको जुँगे लडाई कोहलपुरको विकासको तगारो बनेको छ । अहिले पनि टाउन प्लानिङ् भित्र विजुली, पानीको समस्या भयाबह छ । टाउन प्लानिङ्वासीले ५०० मिटर टाढाबाट विजुलीका तार तानेका छन् । तर समस्याको हल हुन सकेको छैन । नगरपालिका नगर विकासको क्षेत्रमा लगानी गर्दैन । नगर विकास केही गर्दैन ।

    त्यसैले कोहलपुर नगर विकास र नगरपालिकाको द्धेध सत्तालाई हटाएर नगरपालिकाको मातहतमा नगरविकासलाई ल्याउन ढिलो गर्नु कोहलपुरको एकिकृत विकासको अवरोध हो । नगर विकासमा केन्द्र सरकारका मन्त्री र भू–माफियाको घडेरीको गोरख धन्दा सदाको लागि अन्त्य गर्ने यो नै उचित बाटो हो । यसले टाउन प्लानिङ् भित्र र बाहिरको मनोविज्ञानलाई पनि अन्त्य गर्ने छ । तर देशभरीका नगर विकास नगरपालिकामा समायोजन हुँदा हाम्रो नगरपालिकाले पहल गरेको छैन, चुपचाप छ ।

    अहिले कोहलपुर नगरपालिकाले कृषि र पर्यटन र उत्पादनमूलक उद्योगलाई आर्थिक समृद्धिको आधार बनाउने घोषणा गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा र मानसरोबर जाने प्रवेशद्वार कोहलपुर हो । पर्यटकको लागि पूर्वाधार विकास हुन आवश्यक छ । प्रर्यटन क्षेत्रमा लगानी गर्ने उद्योगी व्यापारीहरुलाई आकर्षण गर्न सके मात्र यसको विकास हुनसक्छ ।

    बाँसगढी नगरपालिकाले नगरपालिका भित्र खोल्ने उद्योगलाई ट्याक्स फ्री गरेको छ । यस्ता खाले नीतिहरु नगर पालिकाले ल्याउन सक्नु पर्दछ । प्रर्यटन उद्योगमा आन्तरिक पर्यटन, धार्मिक पर्यटन, खेलकुद र मनोरञ्जन पर्यटन, जल विहार, आरोग्य केन्द्रहरु , साइन्स सेन्टर, फनपार्क आदि पनि जोड्न आवश्यक छ । तर पर्यटनसँग कुनै ठूलो महत्व नराख्ने भ्यू टावर जस्तो अनुत्पादक क्षेत्रमा लगानी गर्न नगरपालिका हौसिएको छ ।

    नगर विकासले अत्याधुनिक सिटीहल बनाउने घोषण ग¥यो । अहिले त्यसको चर्चा सेलाई रहेको छ । मानसरोवर पार्क बन्ने भनेर विगतमा निकै परिचर्चा गरियो । राष्ट्र बैङ्क बन्न टेन्डर भएको समाचार प्रकाशित भए । अब तिनी विषयहरु पनि सेलाइ सकेका छ्न् । किन पानीका फोका जस्तै हाम्रा विकासका सपना फुटी रहेका छन् ? मेयर मात्र यसका दोशी हुन् वा हामी सबै ? सबै दोष मेयरमा थोपर्नु गलत मात्र होइन न्यायसंगत पनि छैन ।

    मेयरका केही कार्यशैलिगत समस्या पनि होलान । तर हजारौँ कार्यकर्ता भएको यो पार्टीका नेता कार्यकर्ताको विचार विहिनता, सबै नेताका गुट, उपगुट र अस्टबक्र जस्तै संगठन र रमिते र असहयोगी व्यवहार नै मेयरले प्रभावकारी काम गर्न नसक्नुको मुख्य कारण हो भन्दा फरक पर्दैन ।

    समाजवादमा पुग्न समाजवादी चेतनाको विकास, त्यसको अन्तर्य र संगठनात्मक स्प्रीट भएको बलियो प्रगतिशिल जनता तथा कार्यकर्ताको रक्षात्मक पंक्ति आवश्यक हुन्छ । पार्टी भित्रका गुटका पिलाहरुले समग्र कोहलपुरको विकास र समृद्धिको सपनालाई भित्रभित्र सडाई रहेको छ । फेसबुके विकासको प्रतिपर्धा कोहलपुरमा चलिरहेको छ ।

    ‘समाजवादको यात्रामा’ जनताको साथ देखाउन सकिनसकि खादा र माला ओढ्न लालायित समाजवादी अभियन्ताहरुको सोच र कार्यशैली सामन्तवादी राजा रजौटाको जस्तो छ । नेता मात्र होइन हामी जनताको चेतना र चाटुकारिताले पनि यो विकृतिलाई मलजल गरेको छ । त्यसैले आ–आफना काम जिम्मेवारी साथ नगर्ने हामीहरुले विकास र संमृद्धिको चेतना अनुसार आफैलाई सच्चाउन जरुरी छ ।

    बजारभरी फोहर पालेर मेयरलाई गाली गर्ने, पालेको कुकुरलाई बिहान सबेरै सडकमा रेष्ट गराउने, आफ्ना घर अगाडीका नगरपालिकाले लगायका विरुवामा पानी नहाल्ने बरु उखेलेर आफ्ना खेत र फुलवारी सजाउने, करेसाबारीमा साग नरोप्ने कृषि क्रान्ति र आत्मनिर्भरको भाषण छाट्ने, आलु थोरै फलेको चिन्ता नगर्ने तर बिहानै सरकारलाइृ सुझाव दिने हाम्रा आनीवानी नसुध्रेसम्म जुन बहादुरले सरकार चलाएपनि केही हुँदैन ।

    त्यसैले आवश्यकता विकासमा एकताको छ । अलमलको होइन दृढताको छ । जनता भनेका मौरी जस्तै हुन् । लोकतन्त्रमा जनता जनार्दन हुन् । रानी मौरीले रानी मात्र जन्माउँदैन कर्मी मौरीहरुले कोषौ टाढाबाट दुःख गरी ल्याएको मह बसीबसी खाने भाले खन्चुवा डायनाहरु पनि जन्माउँछ । कर्मी मौरीले क्षमता भएसम्म डायनाहरुलाई पाली रहन्छन् । तर पाल्नै नसकिने अवस्था आयो भने कर्मी मौरीले फेरी अर्को घारको तयारी गर्दछन् । सबैलाई होस् ।

    प्रतिकृया दिनुहोस्