Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/१ गते
    ६९ पटक
    दाङ ।

    बर्दीसहित दाङ आइपुगेका दुई भारतीय प्रहरीलाई एक रात नियन्त्रणमा लिएर स्थानीय प्रशासनले रिहा गरेको छ । बाँकेको रुपैडिहा नाका हुँदै हिजो दाङको तुलसीपुर आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरी आज भारत फिर्ता गरेको हो ।

    दुई बर्दीधारीसहित ७ जना भारतीय नम्बर प्लेटको गाडीमा दाङ आएका जिल्ला प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा मुजफ्फरपुर थाना तिलाहर उत्तरप्रदेशमा कार्यरत थानेदार भिके मौर्य र हेड कन्स्टेबल महोम्मद अनिस छन् ।

    ५ जना भने गैरप्रहरी रहेको दाङ प्रहरीले जनाएको छ । उनीहरु भारतबाट कुनै घटनाको अनुसन्धान गर्न दाङ आइपुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मानव बेचबिखन सम्बन्धी मुद्दामा छानबिन गर्न आएको बयान दिएका उनीहरुले नेपाल प्रहरीसँग भने समन्वय गरेका थिएनन् ।

    भारतीय प्रहरीले दाङको ईट्टाभट्टामा कार्यरत भारतीय कामदारका बिषयमा मानव बेचबिखन मुद्दा भएकाले अनुसन्धान गर्न आएको बताए । नेपालको प्रहरीसँग समन्वय नगरी बर्दीसहित आएकाले प्रहरीको ध्यानाकर्षण भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबाहदुर पाण्डेले बताउनुभयो ।

    सोधपुछका क्रममा अन्य गलत मनशाय नभएको पाइएपछि उनीहरुलाई भारत फिर्ता गरेको उहाँले जानकारी दिनुभयो । आपराधिक घटनामा अर्को देश पुगेर अनुसन्धान गर्दा दुई देशबीच समन्वय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

    अपराधमा अनुसन्धान गर्न आए पनि जानकारी दिएर आउनुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । बाँकेको सीमा क्षेत्रबाट दाङ पुग्न करिब १ सय ५० किलोमिटरको यात्रा गर्नुपर्छ । थुप्रै ठाउँमा गाडी चेकजाँच पनि हुन्छ ।

    दाङ र बाँकेको सीमा क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले गाडीको दर्तासँगै खानतलासी गर्छ । यस्तो अवस्थामा बर्दीमै रहेका भारतीय प्रहरी दाङ आइपुग्नु आश्चर्यको बिषय हो ।

    #File Photo

    प्रतिकृया दिनुहोस्