Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१२/१ गते
    ६० पटक
    नेपालगन्ज ।

    बाँकेको खजुरा बजारमा अत्याधुनिक बहुउद्देश्यीय सभागृह निर्माण हुने भएको छ । खजुरा गाउँपालिका र प्रदेश सरकारको लगानीमा निर्माण हुने अत्याधुनिक बहुउद्देश्यीय सभागृहको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

    रु सात करोड ४८ लाख लागतमा निर्माण हुने सभागृहका लागि गाउँपालिकाले रु एक करोड ४० लाख र प्रदेश सरकारले रु ६० लाख बजेट छुट्याइसकेको छ । गाउँपालिकाकाको वडा नं ३ बजार क्षेत्रमा निर्माण हुने सभागृह जिल्लाकै नमूना हुने गाउँपालिका अध्यक्ष कक्षपतिले बताउनुभयो । राष्ट्रिय सभागृहको ढाँचामा आधुनिक भवन बनाउन लागेको उनको भनाइ छ ।

    ‘साढे दुई तले सभागृहको माथिल्लो तलामा ‘भिआइपी’ हल र तल्लो तलामा लक्षित वर्गका कार्यक्रम सञ्चालन हुनेछन्,’ अध्यक्ष कक्षपतिले भने, ‘सभागृहका लागि आवश्यक बजेट आगामी आवमा पनि थप्दै जानेछौँ ।’

    क्रमागतरूपमा निर्माण प्रक्रिया अगाडि बढाई आर्थिक वर्ष २०७७÷०७८ भित्र सक्ने लक्ष्यका साथ सभागृहको निर्माण प्रक्रिया अगाडि बढेको इञ्जिनीयर कञ्चन तिवारीले जानकारी दिए । उनका अनुसार सभागृहको भिआइपी हल ५०० जना क्षमताको बनाउन लागिएको छ ।

    प्रतिकृया दिनुहोस्