Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/३० गते
    ४४ पटक
    कृष्ण ओली । कोहलपुर ।

    बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पाठ्यपुस्तक पढाई गराउने नगरपालिकाले तयारी गरेको छ । सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर समान गराउनका लागि नगरपालिकाले दुवै प्रकारका विद्यालयमा एकै खालको पाठ्यपुस्तक पढाउने तयारी गरेको हो ।

    नगरपालिकाको योजना अनुसार यसअघि विद्यालयपिच्छे फरक–फरक प्रकाशनको पाठ्यपुस्तक अध्यापन गराउँदै आएकोमा अब दुवै विद्यालयमा एउटै प्रकाशनको पुस्तक अध्यापन गराउने तयारी थालिएको हो ।

    नगरपालिकाको योजना कार्यान्वयन भएमा अब पाठ्यक्रम फरक भए पनि सबै संस्थागत विद्यालयहरुले एउटै प्रकाशनको र सामुदायिकमा पनि एउटै प्रकाशनको पुस्तक पढाउनुपर्नेछ । यस्तै, अब दुवै प्रकारका विद्यालयले पोशाक पनि एउटै लागु गर्नुपर्नेछ ।

    विद्यालयले आफुखुशी पोशाक लागु गरे पनि आगामी दिनमा भने सबै संस्थागतले एउटै किसिमको पोशाक लागु गर्नुपर्नेछ । सामुदायिक र संस्थागत विद्यालयको पाठ्यपुस्तक र पोशाक एउटै हुने कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जानकारी दिए । ‘कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न यस कार्यक्रमले ठूलो सहयोग पु¥याउनेछ’ उनले भने, ‘अन्य स्थानीय तह भन्दा कोहलपुरलाई नमूना बनाउनका हाम्रो प्रयासमा यसले साथ दिन्छ ।’

    सामाजिक विकास समिति संयोजक नारायणी ओलीले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार नै एउटै पाठ्यपुस्तक र पोशाक बनाउने कार्यक्रम रहेको जानकारी दिइन् । ‘विभिन्न समयमा विद्यार्थी संगठनसँग नगरपालिकाले गरेका सम्झौता कार्यान्वयन गर्नसमेत यो कार्यक्रमले सहयोग पुग्नेछ’ उनले भनिन्, ‘त्यसका लागि अहिले सबै सरोकारवाला निकायहरुसँग बृहत् रुपमा छलफल गरिरहेका छौं ।

    सबै क्षेत्रबाट आएको सुझावको आधारमा कस्तो किसिमको मापदण्ड अपनाउने भन्नेबारे निर्णय हुनेछ ।’ संयोजक ओलीले सामुदायिक विद्यालयहरुमा समस्या नभए पनि संस्थागत विद्यालयबाट भने विरोधका स्वरहरु सुन्निन सुरु भइसकेको बताइन् ।

    अहिले कोहलपुर नगरपालिकाका भित्रका संस्थागत विद्यालयहरुले फरक फरक प्रकाशनका पाठ्यपुस्तक प्रयोग गरिरहेका छन् । सामुदायिक विद्यालयहरुले एउटै प्रकाशनका पाठ्यपुस्तक प्रयोग गरे पनि पोशाक भने फरक÷फरक नै प्रयोग गरेका छन् ।

    कोहलपुर नगरपालिकाका शिक्षा विज्ञ एकराज शर्माले अहिले कक्षा ५, ८, ९ र १० मा संस्थागत तथा सामुदायिक दुवै विद्यालयमा एउटै पाठ्यक्रम लागु भएको बताए । ‘नगरका संस्थागत विद्यालयहरुले नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट नै पढाइरहेका छन्’ उनले भने, ‘सामुदायिक विद्यालयतर्फ भने पुरै अंग्रेजी माध्यममा पढाउने विद्यालय छैनन् ।’

    सामुदायिक विद्यालय त्रिभुवन माविमा कक्षा ६ देखि अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई गरेको छ, भने ज्ञान ज्योती मावि चप्परगौडीमा कक्षा ८ र ९ मा मात्र लागु गरेको छ । यसै बिषयमा आउँदो चैत्र ५ गते कोहलपुरमा सामुदायिक विद्यालयका प्रअ, संस्थागत विद्यालयका संस्थापक र प्रिन्सिपलबीच नगरपालिकाले बृहत् अन्तरक्रियाको आयोजना गरेको छ ।

    एउटै पाठ्यपुस्तक र पोशाक लागु गर्न सकिए बिशेष गरी संस्थागत विद्यालयहरुको मनोमानीबाट विद्यार्थी र अभिभावकहरुले केही भए पनि राहात पाउने नागकिरले विश्वास लिएका छन् ।

    प्रतिकृया दिनुहोस्