Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२८ गते
    १२ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेटको उपाधी नेपालगञ्ज मोडेल एकेडेमीले हात पारेको छ । मंगलबार भएको खेलमा होलिल्याण्ड माविलाई १ रनले पराजित गर्दै मोडेल एकेडेमीले उपाधी आफ्नो हातमा पोको पारेको हो ।

    खेलमा टस जितेर पहिला व्याटिङ गरेको मोडेल एकेडेमीले १५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय २६ रन बनाएको थियो । उसका लागि स्वस्तिका बजगाईले ५५, सुस्मिता बजगाईले १३, शोभा शाहीले ११ रन बनाइन् ।

    होलिल्याण्डका बलर मलिका शर्मा र श्रृस्टी पौडेलले १, १ विकेट लिइन् । जवाफी व्याटिङमा आएको होलिल्याण्डले १५ ओभरमा ३ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

    उसका लागि श्रृस्टी ले ३५, सुमन योगीले ३३ रन बनाउनु वाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । मोडेल एकेडेमीका बलर स्वस्तिका बजगाई, पबित्रा चन्दले १,१ विकेट लिइन् । प्रतियोगितामा मोडेलकी सुस्मिता बजगाई बेस्ट व्याटमेन, मंगलका प्रतीक्षा चौधरी बेस्ट बलर, उदयमान खेलाडी आदर्शका निशा पुन मगर, बेस्ट फिल्डर मंगलका अखिला जिएम र प्लेर अफ द सिरिज होलिल्याण्डकी श्रृष्टि पौडेल घोषित भए ।

    प्रतियोगितामा बिजयी विद्यालयले ४० हजार र उप–विजेता स्कुलले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता तथा उपविजेता विद्यालयलाई प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिका उप मेयर उमा थापा मगर, क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष सञ्जय सिंह, जिल्ला अध्यक्ष दुर्गा बहादुर थापा, वडा २ का अध्यक्ष सुनिल सिंह हमाल लगायतले पुरस्कार बितरण गरे ।

    कार्यक्रम संयोजक मेराज अन्सारी, पुर्व जिल्ला शिक्षा अधिकारी विष्णुु प्रसाद थैव, वडा न ६ का अध्यक्ष समिर प्रताप सिंह, क्रिकेटर नैरी थापा लगायतका अतिथीले पनि बिजयी खेलाडीलाई मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

    प्रतियोगितामा १४ माविका महिला टिमको सहभागीता रहेको थियो । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भएको थियो ।

    प्रतिकृया दिनुहोस्