Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२८ गते
    १८ पटक
    सत्या पहाडी ।

    बादलले आकाश डम्म ढाकिरहेको थियो । मलाई त्यो मन परिरहेको थिएन । किनकि बादल लाग्दा शरीर दुख्छ । पुरानो बिरासत बल्झेर आउँछ । किनकिन त्यसै पनि आकाश रोएको मन पर्दैन ।

    तर जीवनमा मनपर्ने कुरा भएकै कहाँ छ र ? तापनि सधैँ सङ्घर्ष गर्नु मेरो दिनचर्या बन्यो । लामो समय भयो मेरो दिनचर्या हस्पिटलदेखि कोठासम्म मात्र थियो । किन भयो यस्तो मैले सबैलाई भनिनँ । आन्दोलनमा जाँदा होस् या पार्टीको बैठकमा होस्, हस्पिटलबाटै जाने गर्थें । यही हस्पिटलबाट आउँछ भनेको भए फेरि अनर्थ लाग्थ्यो होला र प्रश्न उठ्थ्यो होला कि ‘तपाईं त कति बिरामी पर्नुहुन्छ हँ ?’

    किनकि, सन्दर्भ आजभोलि कमैले बुझ्छन् र नबुझेर प्रश्न गर्छन् अनि नानाथरि सवाल उठाउँछन् । आजभोलि यस्तै भएको छ पार्टीभित्रको भीडको चरित्र । यसको धेरै वर्णन नगर्दा उपयुक्त हुन्छ । त्यसैले चुपचाप कार्यक्रममा पुग्छु र समय सकिएपछि ‘सेम टु यु’ भन्दै फर्किन्छु ।

    ठूलो भीडभित्र पुराना परिचित अनुहारहरू हुन्थे । तर म मृत्यु झेलिरहेकी मेरो आमाको लमतन्न शरीर मात्र झलझली आँखा वरिपरि हेर्थें । ती परिचित अनुहारतिर चार पटक दोहोर्याएर हेर्थें कि कतै भकारी रित्याएर मेरी आमाले चारकोश टाढा रोटी बोकेर लगेर खुवाएका क्रान्तिकारी नेताहरूले सोध्छन् कि मेरी आमालाई सोच्दै मरुभूमिमा तिर्खाएझैँ सहानुभूतिको तिर्खाले भरिएको आँखाले एक टकले हेर्थे तर आँखाहरू आफै ओझेल पर्थे ।

    अनि झेल्न बानी परेको विवश मनलाई बोकेर फेरि हस्पिटल आइपुग्थे । यही क्रम लामो समयसम्म चल्यो । यस्तो विगत याद गर्न चाहन्न मन तर आउँदारहेछन् स्मृतिका तस्बिरहरू आँखा अगाडि जसलाई छेक्ने शक्ति कहीँ कतै हुँदोरहेनछ ।

    उनीसँग बिताएको एक वर्ष मात्र थियो कल्पना पनि गरिन कि उनीसँग छुट्टिँदैछु । आवश्यकता इच्छा र आकाङ्क्षाभन्दा धेरै फरक छ । सायद कल्पना गर्न पनि सकिँदैन ।

    एक वर्षअगाडिको स्मृति नचाहेर पनि दिमा गभित्र आइरहेको छ । सायद यतिखेर नै हो आफ्नो गाउँको मायालाई आँखाभरी साँचेर जन्मेको चोखो माटोलाई छुने आकाङ्क्षालाई पालेर मेरी ममतामयी बाँचिरहेकी थिइन् । मान्छेहरूको जङ्गलभित्र हामी नचाहेर बास् बसेका यात्रीहरू जसरी आफ्नो आगन छुन र त्योसम्म पहुँच, पहिचानसहितको समानतामा घाम पुर्याउन आतुर छौँ ।

    मलाई जानकारी थियो, मेरो संसारमा मेरी आमा अब मसँग धेरै दिन रहने छैनन् भनेर । म मनभरि टाउकोमाथि बज्रिने प्रहारको प्रतीक्षा गर्दै आमाको अन्तिम पटक स्वास्थ्य परीक्षण गराउन गएँ ।

    मनसुनपछिको पूर्णचन्द्रजस्तो निर्भिक निडर, निश्चल मुहारकी मेरी आमालाई यति कठोर ढङ्गले हामीबाट छुट्याउँदैछ भन्ने कल्पनासम्मले पनि आतङ्कित बनाउँथ्यो । रिपोर्ट हेर्न मन थिएन । केवल परीक्षणले गालेको मेरी आमाको शरीरमाथि फेरि डाक्टरहरूको अध्ययन अनुसन्धानबाट चल्ने छ । फेरि नचाहेर पनि दुख्ने छ ।

    यो सम्झनाले मात्र पनि ममा असह्य पीडा हुन्थ्यो । तर के नै थियो र अरू उपाय । लाग्थ्यो आमालाई थुप्रै वर्षसम्म छोडेर हिँड्नु पर्यो, त्यसैले जीवनभरिको खुशी दिन पाए हुन्थ्यो र त्यस्तै हुँदो रहेछ । मेरो यात्राको प्रेरणा अनि उनको अभावमा पचाउनुपर्ने दुःखका पहाडहरू आँखा अगाडि भएझैँ लाग्थ्यो । म ट्याम्पोभित्र यस्तै नानाथरि सोच्दै मैले पार्टी कार्यालयबाट बबरमहल पुगेको पत्तो नै पाइन छु ।

    टेम्पोको झ्यालमा टाउको ठोक्किदा पो थाहा पाएँ । म झर्नुपर्ने थापाथली थियो । त्यसैले एक पटक बाटो हराएको बटुवाझैँ भएँछु । सायद यसरी नै आउँछ होला यात्रामा अकर्मण्यता ।

    आदर्शको यात्रामा व्यावहारिक कठिनाइले बाटो छेकेपछि याद आउँदो रहेछ जीवनको असली परिभाषा । म हारेको सिपाही युद्धको मैदानबाट थुप्रै शिक्षा लिएर फर्किएझैँ एक पटक त्यो लडाइको मैदान नियाल्न पुगेँ । जनताको पहुँच नभएको पर्खालभित्र जहाँ कुनैबेला मेरो कार्यक्षेत्र थियो । जुनबेला एउटा त्यागी आदर्श सिपाहीले झैँ निस्वार्थ पसिना बगाएर फर्कें ।

    स्वार्थीहरूको भीडभित्र थाहा भएन म त एक्लै हराएँछु, जहाँबाट फरक चिनारी हुनै सकेन । एकपटक फेरि आमाको जीवनतिर फर्केर हेरेँ । उनीसँग शरीरको ताकत हुन्जेल समाजका दुःखीहरूलाई साथ दिइन् र सहयोग गरिन तर आज मृत्युसँग एक्लै लडिरहेकी छिन् । केवल एक्लै । हुनेखानेहरूको समाजमा मैले गर्ने अपेक्षा के नै पो हुन्थ्यो र ?

    डाक्टर आउने समयमा बुझेर म त्रिपुरेश्वरतिर आमाको सिटी स्क्यानको रिपोर्ट लिएर हुत्तिएँ । डाक्टर सुबोधको समय थियो । उहाँले आमाको क्यान्सरको अपरेसन गर्नुभएको थियो । डाक्टरसापहरूले खासै मलाई चिन्नुहुन्नथ्यो । कर्णालीको औसत आयु बोकेर बाँचेका हामी राज्यले ठगेका मान्छेहरू राज्यप्रतिको दायित्वले थिचिएका हामी जस्तैलाई झट्ट चिन्न सायद गाह्रै हुन्छ होला ।

    तर डा. सुबोधले सहजै चिन्नुहुन्थ्यो । तापनि राम्रोसँग समय लिएर देखाउनलाई शक्ति बस्नेतजीको समय र सहाराका लागि कुर्नुपर्यो । त्यसैले कहिलेकाहीँ ढिला हुन्थ्यो । तर त्यस दिन समयमै सुबोध डाक्टर सापकोमा पुगेँ, डाक्टरले रिपोर्ट हेर्नुभयो ।

    धेरै कुरा गर्नुभयो आमाको अपरेसन पूर्णरूपमा सफल भए पनि क्यान्सरका किटाणुहरू निश्चित एरियाभन्दा बाहिर फैलिसकेको बताउनुभयो । किमोथेरापी समयमा गर्न पाए हुन्थ्यो भन्ने राय राख्नुभयो । नचाहेर पनि आमालाई छोड्नुपर्ने बाध्यता सबैलाई कहाँ पो थाहा हुन्छ र ! जीवनमा कसैको अगाडि आँसु बगाइनँ तापनि त्यो परिस्थितिमा कठोर हुन सकिनँ ।

    लाग्थ्यो कहीँ न कहीँ आमालाई बचाउने उपाय डाक्टरसँग हुनुपर्छ । तर अनुत्तरित परिस्थिति र रिपोर्टको अवस्थाले अपुगताको पीडा बल्झाउँथ्यो । विपन्नता र आदर्श जीवनले निम्त्याएको अर्को कठोरताले भनेको ठाउँमा आमाको उपचार गर्न नसक्दाको पश्चातापले चिमोटिरह्यो ।

    समवेदना र सहयोगको संस्कार मरिसकेको हाम्रो यात्राभित्र केवल सहानुभूति मात्रको अपेक्षा गर्नु पनि मूर्खता जस्तै थियो । त्यो मूर्खता गर्ने साहस पनि थिएन ।

    सायद कतिलाई लाग्दोहोला सात महिनासम्म मन्त्री भएका कारण अरुले झैँ पैसा कमाए होलान्, त्यस्तैहरूको बोलवाला हुँदै आएको देशमा त्यो सोच्नु पनि अपराध थिएन । वास्तविकताको पर्दा खोल्न नमान्ने संस्कारको हाम्रो समाजमा जीवनको यथार्थताको उद्घाटन गर्नेहरू विवश र कमजोर मानिन्छन् ।

    तर मलाई कुनै डर छैन । हाम्रो जीवन खुला पुस्तकको पाना हो, जहाँ जे लेखिन्छ पढेर सबैले शिक्षा लिऊन् । सुलभ र स्पष्ट आदर्शमा ढोङ त हुँदैन, मलाई त्यस्तै लाग्छ । सबैले यस्तै मान्नुपर्छ भन्ने पनि होइन ।

    त्यसैले देखेको र भोगेको कुरा भन्नु यो लेखाइको अर्थ हो । त्यसैले म मेरो जिम्मेवारीमा इमानदार भएर काम गर्ने प्रयत्न गरेँ, नयाँ अनुभवमा नयाँ जिम्मेवारीलाई इमानदार भएर निर्वाह गर्ने सिलसिलामा मन्त्री बनेँ तर पार्टीलाई लेबीसम्म तिर्न सकिनँ ।

    किनकि, हाम्रा कार्यपालिका नियम, कानुन र कार्यशैलीहरू सोह्रौँ शताब्दीका छन्, जसले नयाँ आवश्यकतालाई पूरा गर्न सक्दैनन् न त नयाँ चुनौती र समस्यालाई नै चिन्न सक्छन् । राजनीतिक परिवर्तनको आन्दोलनमा प्रभावित सबैको समस्या हल गर्ने शान्ति मन्त्रालयमा त्यहीअनुसारको व्यवस्था र बजेट थिएन ।

    जनयुद्ध, जनआन्दोलन, तराई आन्दोलन आदि भिन्न आन्दोलनमा घाइते हुनुभएका थुप्रै सहयोद्धाहरूको राज्यले निःशुल्क उपचार गर्ने नीति बनाए पनि त्यो खालको व्यवस्थापन गर्न सकेको थिएन । कैयौँ त मन्त्रालयको मन्त्री कार्यक्षेत्रमै भेट्न आउँदा आउँदै बेहोस भएर इमरजेन्सी हस्पिटल कुदाउनुपथ्र्यो ।

    तत्कालीन उपचारका लागि कुनै व्यवस्था नभएकाले आफ्नै तलबबाट कटाएर हस्पिटल पठाउनुपथ्र्यो । स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालय केवल रैवारे र रमिते हुन्थ्यो । सायद अहिले पनि त्यस्तै छ । पी १ मा राखिएको शान्ति मन्त्रालय रकम प्रायः खर्च सामान्य हिसाब र नियममा हुँदैनथ्यो ।

    आपतकालीन घाइते उपचार कोष निर्माण गर्नेबारे धेरै पटक क्याबिनेटमा ठाडो प्रस्ताव लागिाियो तर अन्य मन्त्रीहरू सकारात्मक देखिएनन् । आफूसँग भएको सहयोग गर्नुबाहेक अरू कुनै निकास थिएन । नियमभित्र पसेर उपचार खर्च जुटाउन्जेल मर्ने अवस्था हुन्थ्यो । यस्तो समस्या अनेकौँ रगतले सिर्जिएको कुर्सीमा बस्नेहरूलाई हेक्का हुँदैन ।

    हर दिन शान्ति प्रक्रियाको काममा जुट्दा लाग्थ्यो मन्त्रालय एक ठूलै युद्धको मोर्चा हो । यो मोर्चामा मैले गर्ने त्याग के हुनसक्छ र जस्तै हुन्थ्यो ।

    अनि आमाले भनेका धेरै कुराहरू मेरा मार्गदर्शन बन्थे । कुरा अरूको सुन्नु, बुद्धि आफ्नो गर्नु ।’ सायद त्यसैले सोचिनँ कि कुनै दिन मेरो आमा आभावको बाध्यतामा दुख्नेछिन् र त्यो दुखाइको मूल्य चर्को हुनेछ ।

    आमा भन्थिन्– ‘कान्छी सक्छौ भने राम्रो गर्नू, सकेनौँ भने नराम्रोचाहिँ कुनै हालतमा नगर्नू’ त्यही कुरा बिर्सन सकिनँ सायद, त्यसैले एउटा नयाँ कलम लिएर गए त्यो जिम्मेवारीमा मसी सिध्याएर रित्तै फर्किएर आएँ ।

    अभावमा जीवन असाध्यै चर्कोसँग दुख्यो तर गौरवले शिर उँचो छ र नैतिक बल अझै थपिएको छ । भएर अपराध गर्नु अपराध हो नभएर साँचो बोल्नु इमानदारिता हो । इमानदारितामा पश्चाताप र आत्मग्लानि हुँदैन, सायद जीवनको असली परिभाषा त्यही होला ।

    ओछ्यानबाटै आमा सम्झाउँथिन्, लाग्थ्यो कहिलेकाहीँ सम्पन्नहरूले झैँ मेरो आमालाई पनि विदेशको सुविधा सम्पन्न कुनै हस्पिटलमा लैजान पाए के हुन्थ्यो, तर खै… ? नचाहेरै मुटु दुख्थ्यो । अनि मेरा आमाजस्तै हजारौँ हजार आमाहरूलाई सम्झन्थे, जसले काठमाडौँको हस्पिटलहरू देखेका छैननन् ।

    तब त्यो याद घाउको अचुक दबाइ बन्थ्यो । अनि सपनाहरू फेरि ब्युँझन्थे कुनै दिन अवश्य आउनेछ त्यो दिन धेरै छोराछोरीहरूले आफ्नै देशमा आफ्नी आमाको सफल उपचार गर्न पाउने छन् । त्यसपछि आमाको सिरानीलाई आधा सिरानी बनाएर सपनाहरूलाई जीवित रख्थेँ ।

    विस्तारै आमासँगका अन्तिम दिन आउँदैथ्यो । मन अझै गह्रौँ र कठोर बन्दै थियो । दबाइले आमालाई असर गर्न छोडिसकेको थियो । एउटा मात्र दबाइ त्यसले अलि काम गरिरहेको थियो । केही दिनपछि त्यो दबाइ नै भेटिएन । नेपालको सबै मेडिकलदेखि प्रायः इन्डियाको हरेक ठाउँमा जहाँ त्यो दबाइ पाइन्थ्यो । त्यसहाँसम्म खोजियो अन्तिममा कम्पनी नै बन्द भएको कुरा जानकारी भयो ।

    एक साइकलमा २५ देखि ३५ हजारसम्मको किमोथेरापी गर्नुपर्छ क्यान्सरको बिरामीले । त्यो पनि केवल मान्छेको शरीरमाथि त्यसमा पनि जीवित मान्छेलाई दुनियाँले बनाएको दुखाइको परीक्षण गरिन्छ । मान्छेको प्राणलाई बन्दकी राखेर परीक्षण गर्ने त्यो दबाइको बजारको निम्ति मरिदिनुपर्छ मान्छे । उसको जिउने कुनै ग्यारेन्टी हुँदैन ।

    तर पनि विवश परीक्षणको वस्तु बनिदिनुपर्छ मान्छे । किमोथेरापी रेडियो थेरापीले अहिलेसम्म पूर्ण क्यान्सर निको भएको पनि कहाँ छ र उदाहरण तर पनि किन चर्को परीक्षण गरिन्छ मान्छेमाथि । यो प्रश्नको अहिलेसम्म सटिक उत्तर बनेकै छैन ।

    विकसित मुलुकबाट भित्र्याइने ती परीक्षणका दबाइहरूको चर्को ढुवानी खर्च र भ्याट खर्च पनि बिरामीले नै बेहोर्नुपर्ने । सायद पुँजीवादी साम्राज्यवादी अर्थव्यवस्था यस्तै होला । त्यसको चपेटामा गुज्रिरहेका विकासोन्मुख देशका नागरिकहरूको अवस्था यस्तै हुँदोरहेछ । यो कल्पना गर्न सहज छ तर झेल्न गाह्रो रहेछ ।

    गरिबहरूलाई नलाग्ने रोग लागेपछि हाम्रो देशमा सहजरूपमा सहज मृत्यु रोज्नुबाहेक कुनै उपाय नै नहुँदो रहेछ । ज्येष्ठ असारको महिना थियो म जनसम्बन्ध सुदृढीकरण अभियानमा बर्दिया जिल्लाको १ नं. निर्वाचन क्षेत्रमा कार्यरत थिए ।

    पार्टी कामको व्यस्तताका कारण आमाको स्वास्थ्य परीक्षण नगराएको पनि २, ३ वर्ष लगभग पुग्दैथियो । बरु हाम्री आमाको लागि बोझ बन्यौँ, तर आमाले हाम्रो यात्रामा जहिले पनि सहयोग गर्नुभयो । त्यसैले लामो समयदेखि आमालाई ज्वरो आउने, पेट दुख्ने र दिशाबाट रगत देखिने भइरहेको रहेछ तर हामीलई भन्नुभएन ।

    तर आमाको चिन्ता लागेर फोन गरेँ सानुमायाले आमा बिरामी भएको कुरा गरिन् । मलाई असाध्यै छटपटी भइरहेको थियो । तापनि बीचमा अभियान छोडेर सुर्खेत जाने अवस्था पनि भएन । चर्को झरीको बीचमा पसिना बगाउँदै कहिले सहिद गाउँ त कहिले पीएलएको बस्तीमा कुदिरहेकी थिएँ । फोन पनि राम्रोसँग लागिरहेको थिएन ।

    मनको तनाव व्यस्तता र घामपानीले गर्दा ज्वरो आइरहेको थियो । सानुमाया आत्तिएर बेलाबेलामा फोन गर्थिन् । निरन्तर हरिदाइ, नैनदाइ, लीला दिदी, दुर्गादिदी, राजन आत्तिएर फोनमै भावुक हुने अवस्था थियो । मन थाम्न सकिनँ अन्तिम दिन डाक्टरसँग फोन गरेर सोधेँ आमालाई आमाशयको क्यान्सर भएको कुरा कन्फर्म कुरा गर्नुभयो । म छाँगाबाट खसेझैँ भएँ ।

    बाबाले त सानैमा छोडेर जानुभयो । मेरो गोरेटोको सहारा मेरो आमा थिइन् । त्यो पनि दुई दिनको पाहुना बन्दैछिन् भन्ने कुराले मुटु नै छियाछिया भयो । घरपरिवार सबैको अभिभावक जस्तै भएकाले आफूलाई सम्हाल्न धेरै कोसिस गरेँ ।

    ज्वरोले छोडेको थिएन । सबै भाइबिना सबै स्तब्ध थियौं । १० वर्ष आमालाई छोडेका दिनहरू सम्झनामा आउन थाले । जीवनका असाध्यै कठिन घडीहरूमा भूमिगतकालमा पनि आमा मेरै साथमा हुन्थिन् । हजारौँ यात्रीहरूकी आमा थिइन् उनी ।

    उनीजस्तै हजारौँ आमाहरू अरू पनि थिए र छन् पनि तर पनि उनी सारै निःस्वार्थ लाग्थिन् । कति आधिमय दिनहरूमा सधैँ भन्थिन्, ‘कान्छी तुँसँगै हिँड्ने हो है ? तुँलाई हान्या गोली म थापुँला कथाइ ।’ एकोहोरो अनुहारमा हेर्दै भन्थिन्– ‘तेरो पीर लाग्छ क्या । तुँ धेरै फुच्ची छेस्, कोहीले केही गर्देलान् ।’ २४सै घण्टा मेरो पीर गर्ने मेरो प्राणजस्तै मेरी आमा यति चाँडै छोडेर जान्छिन् होला भन्ने त सोचेकै थिएन ।

    कार्यक्रम सकिनेबित्तिकै काठमाडौँ ल्याउनलाई आमालाई सुर्खेतबाट नेपालगन्ज बोलाएँ । आमालाई देख्नेबित्तिकै आँखा नचिम्लिएरै लामो समय हेरेँ । आमा मुठीभित्रकै चल्लाजस्तै भएकी थिइन् । तर उनको आत्मबल असाध्यै थियो । त्यस्तो कमजोर मान्छे आफै हिँड्ने माग राख्नुहुन्थ्यो ।

    आमालाई सूर्य दाइ, चित्रजङ्ग दाइलाई खबर गरेर काठमाडौँ पठाउनेबित्तिकै हस्पिटलमा भर्ना गरिदिन भनेँ र आफू गाडीमा हिँडेँ । बाटोबरि छटपटीले आँखा ओभाउन सकेनन् ।

    किनकि मेरो लागि सबैथोक आमा नै हुनुहुन्थ्यो । कुनैबेला लाग्थ्यो सायद आमालाई पूर्णसञ्चो बनाउँछु तर रोगले धेरै चापिसकेको थियो । राति एक बजे वीर हस्पिटल पुगेँ । निरन्तर एक महिनाको आरामपछि आमाको क्यान्सरको स्टेज निश्चित भयो । आमालाई बचाउने धेरै उपायहरू सोच्यौँ र खोज्यौँ । त्यहीबेला अभावको पीडाले दुखाएको दुखाइ राम्रोसँग थाहा भयो । दाइ–भाउजू, बुहारी र दिदीहरूका आँखाहरू कहिल्यै ओभाएनन् ।

    एकातिर आमाको क्यान्सरको अपरेसन अर्कोतिर संविधानसभाको निर्वाचन । कसलाई रोज्ने जस्तो अवस्थाको सिर्जना भयो । आमाको धैर्यताले जहिले पनि हामीलाई मजबुत बनाइरह्यो । अपरेसनको १० दिन नपुग्दै आमालाई अपरेसनको बेडमा र कान्छीको जिम्मा लगाएर छातीमा ढुङ्गा राखेर चुनावको तयारीका लागि डोल्पा पुगेँ ।

    ३ महिनापछि चुनाव पनि असफल भयो फर्केर काठमाडौँ आइपुगेँ आमाको अवस्था अलि सुधारिएको जस्तो लाग्यो । १० दिनपछि फेरि आमालाई निधारमा लगाएर डोल्पा पुगेँ । फर्केर आउन्जेल फेरि आमाको अवस्था नाजुक भइसकेको थियो । आमालाई फेरि चेकअप गराउने क्रम सुरु भयो । मेरी आमा सायद संसारकै धैर्यवान् र सहनशील आमा हुनजस्तै लाग्यो ।

    आमाको क्यान्सर चौथो अवस्थामा पुगिसकेको थियो । डा. सुदीपले सरी भनिसक्नुभएको थियो । तर आमाले डोल्पा जाने जिद्धी छोड्नु भएन । आफू जन्मको माटोमै मर्ने इच्छा कसलाई हुँदैन र ? तर सास रहुन्जेल आश हुँदोरहेछ, आखिर आमा कहिल्यै फेरि डोल्पा नजाने गरी फर्कनुभयो सिरियस अवस्थामा । काठमाडौँमा उक्लने बित्तिकै हस्पिटलको यात्रा सुरु भयो । आमाको हामीसँग छुट्टिने अवस्था आइसकेको थियो ।

    पीडामय ती अन्तिम दिनहरू जीवनका कहिल्यै नबिर्सने दिनहरू भए । जीवनका अन्तिम पलमा पनि आमा अरूकै बारेमा सोझ्दै थिइन्, गाउँघर कस्तो छ ? अरूलाई कस्तो छ ? उनलाई चिन्ता थियो गाउँघरमा अराजकता बढ्यो, गुण्डागर्दी बढ्यो । चुनावले घर बाँडियो भनेर । सबैलाई नफुट्नु भनेर सबै भेट्न आउनेलाई भन्दै थिइन् ।

    आखिरी सास मेरो चिन्तामा रोकिएको थियो सायद । आमासँग एउटा वाचा गर्न बाँकी थियो । जीवनको यात्रामा सामना गर्दै अगाडि बढ्नेछु । तिम्रो अभावमा आँसु खसाउने छैन, सत्यको पक्षमा निर्ममतापूर्वक उभिनेछु । आमाको अभावमा एक्लो महसुस गर्ने छैन । जब यो वाचा आमासँग आमाको जीवनको अन्तिम श्वासमा गरेँ । थाहा भएन, आमाले दुनियाँलाई छोड्नुभयो । आमासँग यो कसम खाएर विछोडिनुपर्यो । तापनि आमाको शिरमा शिर राखेर अलिबेर आमासँगै समय बिताउने आशा राख्दै थिए त आमालाई अन्तिम बिदाइ गर्नेबेला भइसकेछ ।

    आमाको शरीर तातै थियो । तीन घण्टापछि आमालाई मृत घोषित गरियो । जुन प्रमाणमा आफैले हस्ताक्षर गरेर अन्तिम संस्कारमा पुगिसकेकी थिएँ, तापनि आमा हुनुहुन्न भनेर विश्वास लागिरहेको थिएन ।

    आमा उठ्नेछिन् र कहिल्यै नरुनु है भन्नेछिन् जस्तै लागिरहन्थ्यो । आफ्नै हातले आमाको शवलाई चितामा चढाएर दागबत्ती दिइसकेको थियो, तापनि लागिरहेको थिएन कि आमाले हामीलाई छोडेर जानुभयो भनेर । बाबालाई त देख्दै पाएनौँ आमा र बाबा दुवै आमा नै थिइन् तर उनले पनि छोडेर गइन् ।

    युद्धमा आफन्त गुमाउँदा र सामान्य अवस्थामा आफ्नै आमालाई गुमाउँदाको भिन्न परिवेश र प्रकृतिले भिन्न पीडाबोध हुँदोरहेछ । पत्याउनै गाह्रो भयो । आमाले हामीलाई विस्तारै भौतिक रूपमा छोडेर गइन् ।

    आमालाई राखेको चिता जलिरहेको थियो । विस्तारै आमाको शरीर धुवाँमा विलिन हुँदै थियो । आमाको मायाको अभावको पीडाले मुटु चहर्याइरह्यो, चिता जलिरह्यो धुवाँ उडिरह्यो ।

    (लेखक प्रतिनिधिसभा सदस्य तथा पूर्वशान्ति मन्त्री हुन् ।)

    प्रतिकृया दिनुहोस्