Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२६ गते
    १४ पटक
    कोहलपुर ।

    बाँकेको नरैनापुर गाउँपालिकाको मँझरेटीमा आइतबार देखि क्रिकेट टुर्नामेन्ट शुरु भएको छ ।

    युवा तथा खेलकुद व्यवस्थापन समिति कट्कुइँयाको आयोजना एवम् नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा कट्कुइँया मँझरेटीस्थित खलिफा रंगशालामा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद््घाटन गरेका थिए ।

    अध्यक्ष शाहले खेलले नै विभिन्न जातजाति, धर्म, सम्प्रदायलाई जोड्ने भएकाले यस्ता खाले प्रतियोगिताले सामाजिक सद्भाव र मेलमिलाप बढाउन भूमिका खेल्ने दाबी गरे । खेलकुदको विकासका लागि आफूले हरसम्भव पर्यत्न गर्ने भन्दै उनले खेल मैदानको विकास र स्तरोन्नति गर्ने प्रतिबद्धता समेत जनाए ।

    अध्यक्ष शाहले अब निर्माण हुने रंगशालाले नरैनापुरको खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले खेलकुदको विकासका लागि गाउँपालिकाले यथेष्ट बजेट विनियोजन गरेको भन्दै आगामी बर्षमा अझ बढाइने जानकारी दिए ।

    आगामी चैत्र १० गतेसम्म चल्ने प्रतियोगितामा नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयाका ५ गाउँका टिम सहभागी छन् । टि–ट्वान्टि फम्र्याटमा खेलाइने प्रतियोगितामा बनियाँ गाउँ, महत्नियाँ गाउँ, कट्कुइयाँ, मँझरेटी र सुइया गाउँ सहभागी रहेको स्थानीय साहजाद अलि जोलाहले बताए ।

    प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगदसहित रेन्जर साइकल, द्वितिय हुनेलाई रंगीन टेलिभिजन र ३ वटा भित्ते घडी र तेस्रोलाई स्ट्याण्ड पंखा र ३ वटा भित्ते घडी प्रदान गरिने आयोजक युवा तथा खेलकुद व्यवस्थापन समितिका अध्यक्ष रमजान अलि अन्सारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्