Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२४ गते
    ६४ पटक
    काठमाडौं ।

    स्वामित्व परिवर्तन भएपछि सौर्य एयरलाइन्सले नियमित उडान आजदेखि पुनः शुरु गर्ने भएको छ। आर्थिक अभाव भएपछि मंसिर ११ गतेदेखि नियमित उडान बन्द गरेको एयरलाइन्सले पुनः उडान शुरु गर्ने भएको छ।

    केही समय अघि गैरआवासीय नेपालीले किनेर चलाउन नसकी बन्द भएको सौर्य एयरलाइन्स फेरि बिक्री भएको थियो। अघिल्लो पटक खरिद बिक्रीको सम्झौता भएर पनि स्वामित्व हस्तान्तरण नभएको एयरलाइन्स अहिले भारतीय कम्पनीले ६२ करोड रुपैयाँमा किनेको थियो।

    भारतीय कुबेर ग्रुपले नेपाली साझेदारसँगको साझेदारीमा पूर्ण स्वामित्व किनेको थियो। स्थापना भएको चार वर्षमै चलाउन नसकेपछि संस्थापकहरुले बिक्री गरेका थिए।

    जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा थियो। अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौती गर्दै आएको थियो।

    विमानस्थलमा पार्किङ र ल्यान्डिङबापतको शुल्क तिर्न सकेको थिएन। बक्यौता बापत ५० लाख रुपैयाँ विमानस्थललाइ बुझाइएको र बाँकी २ महिनाभित्र बुझाइसक्ने एयरलाइन्सले जानकारी दिएको छ।

    क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो।

    एयरलाइन्सले दैनिक सात उडान गर्न पाउने गरी अनुमति पाएको छ। लामो समयदेखि जहाजमा प्राविधिक समस्या आएपछि एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो।

    २०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो। यात्रु हिस्साको हिसाबले राम्रै प्रदर्शन गरिहेको भए पनि एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा पर्दै गएको छ।

    जेट जहाज चलाइरहेको एयरलाइन्सले अब एटिआर ल्याउने भएको छ। उसले अबको छ महिनाभित्र दुईवटा एटिआर ७२ सिरिजका २ जहाज ल्याउने बताएको छ।

    प्रतिकृया दिनुहोस्