Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/१८ गते
    १८७९ पटक
    नेपालगन्ज ।

    श्याम गिरी उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन सम्वाद कार्यक्रममा उनले सम्वाद गर्न भ्याएकै हुन्छन् । उनी आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्छन् ।

    ४८ बर्षिय श्याम नेपाल आयन निगमका कर्मचारी पनि हुन् । साथीभाईहरुसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो । उनी नयाँ साथीहरुसँग छिट्टै नजिक बन्छन् र सक्ने सहयोग गर्न तयार हुन्छन् ।

    नेपालगन्जको एफएम स्टेशन रेडियो हिमालका सबैजसो कार्यक्रमहरुमा उनले फोन गरेर अन्तरक्रिया गरिरहन्थे । रेडियो हिमालमा करिब सात बर्षअघि पत्रकार काशीराम शर्माले सञ्चालन गर्ने लोकप्रिय रेडियो कार्यक्रम ‘एक बिस पारी’ कार्यक्रममा उनले फोन गरिरहन्थे ।

    कार्यक्रमका अतिथिलाई प्रश्नहरु गर्थे । सम्वाद कार्यक्रममा मात्र नभई रेडियोका अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन सम्वाद भइरहन्थ्यो । नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाएका छन् ।

    बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियो मोह पनि उस्तै छ । उनी पनि रेडियो हिमालका सबै कार्यक्रमहरुमा फोन सम्वाद गरिरहन्थिन् । राप्ती सोनारी गाउँपालिका–५, बिनौना निवासी २९ बर्षिया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित छन् ।

    पढाईमा स्नातक उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छिन् । स्नातकसम्मको पढाई पुरा गरेकी श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षित मध्येमा गनिन्छिन् । सामाजिक विभेदका विरुद्धका अभियानमा उनको सहभागिता छुट्दैन् ।

    गाउँ समाजमा हुने विभिन्न विभेदका विरुद्धकी अभियन्ताको रुपमा परिचय बनाउन सफल श्यामकुमारी सोंचलाई सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्छिन् । श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करिब १९ बर्ष छ ।

    थर र लिंग फरक भए पनि एउटै रेडियोमा एउटै नामका दुई पात्रले फोन सम्वाद गरिरहन्थे । रेडियोमा हुने फोन सम्वादले श्याम र श्यामकुमारीले मितेरी लगाएका छन् । सायद महिला र पुरुषबीचको यो मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी छ । रेडियोका कार्यक्रममा हुने फोन सम्वादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएको छ ।

    यो सम्बन्धले उनीहरु दुवैका परिवारलाई एउटै परिवार जस्तो बनाइदिएको छ, अर्थात् दुवै परिवार एक भएजस्तो महशुस उनीहरुलाई हुन्छ । ‘नाम मिलेपछि रेडियो सम्वादकै क्रममा फोन नं. आदानप्रदान भयो,’ उनीहरु भन्छन्, ‘हामीले मित र मितिनी भनेर एक अर्कालाई सम्बोधन गर्यो ।

    यो सम्बन्ध पारिवारिक रुपमा पनि निकट भयो ।’ श्याम भन्छन्, ‘रेडियोमा नाम सुने, मेरै नाम रहेछ । मात्रै जात र लिंग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाए । केहीले शंका गरे । मैले त्यो शंकालाई प्रष्ट्याए । हामी दुवैको एक अर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।’

    उनीहरु आफूलाई भाग्यमानी ठान्छन् । सबैले समान लिंगबीच मितेरी लगाउँछन् । तर उनीहरुबीचको मितेरीको सम्बन्ध नौलो छ । श्यामकुमारी भन्छिन्, ‘सकारात्मक रुपमा हामी दुई परिवार एक भएका छौं ।

    मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिक रुपमा एउटा परिवार भएका छौं । महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो ।’

    दुई वटा परिवारलाई रेडियोले बनाइदिएको छ । ‘हाम्रा सोंचहरु अझै नकारात्मक विकारहरुले भरिएका छन् । हामी अरुलाई राम्रो होइन, शंकाको दृष्टिले हेर्छौ ।

    हाम्रा सोंचहरुकै कारण समाज अझै पनि पछाडि परिरहेको छ,’ श्यामकुमारी भन्छिन्, ‘हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुण मानिरहेकी छु ।’

    प्रतिकृया दिनुहोस्