Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१८ गते
    १६६ पटक
    नेपालगन्ज ।

    बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा रहेको कमिलाल थारुको घरमा शुक्रबार बिहानैदेखि अन्य दिनको तुलनामा चहलपहल धेरै थियो । घरमा रहेका कमिलाल दम्पत्ती खुसी देखिन्थे भने टाढा टाढाबाट घरमा मानिसहरु आउने क्रम समेत चलिरहेको थियो ।

    २०७४ सालको बाढीमा तीन छोरी गुमाएका थारु दम्पतीले ६ महिनाअगाडि एकैपटक जुम्ल्याह सन्तान पाएका थिए । एकैपटक जुम्ल्याह एक छोरा एक छोरी पाएको ६ महिना पछि खुशि साट्न शुक्रबार भब्य कार्यक्रमको आयोजना गरिएको थियो ।

    छोरी गंगा र छोरा सागरलाई काखी च्यापेर थारु दम्पत्तिले सांसद देखि गाउँपालिका अध्यक्षसम्म खुसी साटेका थिए । कमिलाल दम्पत्तीका छोरा र छोरीलाई आशिर्वाद दिन सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) समेत पुगेकी थिइन् ।

    जुम्ल्याहा सन्तानले शुक्रबार पहिलो पटक अन्न ग्रहण गरेका छन । भर्खरै ६ महिनामा टेकेका उनिहरुलाई प्रदेश सांसद ‘नमुना’ ले अन्न खुवाएकी थिइन् । उनले ुदवै सन्तानको उज्वल भविष्यको कामना गर्दै दम्पत्तीलाई बधाई दिइन् ।

    सांसद नमुनाले राप्ती सोनारीमा दैवीप्रकोपबाट कसैले पनि ज्यान गुमाउन नपरोस भन्नका लागि प्रदेश र केन्द्र सरकारले गुरुयोजना अगाडि बढाउन लागेको जानकारी दिइन् ।

    गत असोज ७ गते नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा कमिलालका १ छोरा १ छोरी जन्मिएका थिए । खुसी साट्न शुक्रबार घरमा सांसद नमुना सँगै गाउँपालिका अध्यक्ष लाहुराम थारु, स्थानीय जनप्रतिनिधी, पत्रकार, समाजसेवी, स्थानीय अगुवा लगायतका ठूलो संख्यामा स्थानीयबासीहरु पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्