Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/३ गते
    १४४ पटक
    काठमाडौं ।

    आउँदो चैत्र ४ र ५ गते काठमाडौंमा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ । ‘परिवार योजना सेवाको पहुँच बाहिर परेकाहरुलाई समेट्ने’ सम्मेलनको उदेश्य रहेको छ । आज स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै परिवार योजना सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।

    दुई दिन हुने उक्त सम्मेलनमा २० संघ–संस्थाले सहयोग र सहभागिता जनाउने आयोजकको भनाई छ । सम्मेलनको लागि ६० देखि ७० लाख खर्च हुने सरकारको अनुमान रहेको छ ।

    नेपालमा परिवार योजनाको साधान प्रयोग गर्नेमा ५३ प्रतिशत रहे पनि आधनुनिक साधन प्रयोग गर्नेमा ४३ प्रतिशत मात्रै रहेको महाशाखाले जनाएको छ । यो दर केही समयदेखि स्थिर अवस्थामा रहेको छ ।

    अझै सम्म पनि किशोर–किशोरी तथा युवा, सुत्केरी महिला, गरिब तथा सीमान्तकृत समुदाय अझैसम्म पनि परिवार योजनाको साधान प्रयोग गर्नबाट बञ्चित रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    नेपालमा सन् १९९६ मा सरदर एक महिलाले ४.६ अर्थात ५ सन्तान जन्माउथिन् भने सन् २०१६ मा यो संख्या घटेर २.३ अर्थात ३ मा आएको छ ।

    यस्तै परिवार योजनाको साधनमध्ये धेरै प्रयोग गरिनेमा कण्डम रहेको छ ।

    परिवार कल्याण महाशाखाका प्रमुख डा. आरपी बिच्छाले दिएको जानकारीअनुसार एक वर्षमा २ करोड ३३ लाख गोटा कण्डम, ८० हजार व्यक्तिले इम्प्लान्ट, १० लाख डिपो, १२ लाख प्याक पिल्स परिवार योजनाको साधन प्रयोग गरिएको छ ।

    प्रतिकृया दिनुहोस्