Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१०/२३ गते
    १७५ पटक
    कोहलपुर ।

    सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नौ जना नेता कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । राज्य विरुद्धको नारा लगाउँदै बाँकेमा आइपुगेका राउत समूहका नेता कार्यकर्तालाई प्रहरीले बाँकेको गनापुरबाट पक्राउ गरेको हो ।

    प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट बाँकेमा प्रदर्शन गर्न आइपुगेका राउतका नेता कार्यकर्तालाई प्रहरीले सोमबार राती गनापुर क्षेत्रबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    जानकी गाउँपालिका वडा नम्बर ६ कपासी गाउँका राम मनोहर यादवको काठमाडौंबाट पाँच महिनापछि ल्याइएको शवलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा राउतका नेता कार्यकर्ता बाँकेका आएका थिए ।

    दाहसंस्कार गर्दा प्रहरी आउनु नहुने शर्तमा शव बुझेका राउतका समर्थकहरुले सोमबार राममनोहरको शवलाई राखेर अन्तिम श्रद्धाञ्जली दिनुको साथै सलामी समेत दिएको बताइएको छ ।

    दाहसंस्कारपछि ठूलो संख्यामा रहेका सुरक्षाकर्मीहरुले गनापुर क्षेत्रबाट राउतका २१ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुर इन्चार्ज डीएसपी रमेशबहादुर सिंहले राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका २१ जना कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए ।

    ‘पक्राउ गरेकामध्ये १२ जनालाई भने, मंगलबार छोडिसकेका छौं’ उनले भने, ‘नौं जना प्रमुख नेताहरुलाई राज्यविरुद्वको कसुरमा मुद्दा चलाउनेछौं, जिल्ला अदालतबाट राज्यविरुद्वको कसुरमा मंगलबार पाँच दिनको म्याद थपेर पक्राउ परेका नौं जनामाथि थप अनुसन्धान अगाडि बढाइरहेका छौं ।’

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सिराहाका विसुनदेव ठाकुर, सुदिप कुसहवा, महोत्तरीका सन्तोष मण्डल, सञ्जय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्यनारायण शाह, बाराका विनोद यादव, रौतहटका विरेन्द्र शाह, र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।

    प्रहरी नियन्त्रणमा रहेका नौं जनाहरु सक्रिय कार्यकर्ताका साथै जिल्ला र केन्द्रीयस्तरका नेताहरु रहेको कोहलपुरका डिएसपी सिंहले जानकारी दिए । गत भदौ ७ गते बर्दियामा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आउदा सिके राउतका कार्यकर्ताहरुले कालो झण्डा देखाउने कार्यक्रम राखेका थिए । त्यही क्रममा बाँकेका राममनोहर यादव पक्राउ परेका थिए ।

    प्रहरी हिरासतमै अर्धचेत भएका उनको उपचारका लागि काठमाडौं लैजाने क्रममा गत भदौं १५ गते बाटोमा नै मृत्यु भएको थियो । घरपरिवारले भने शव बुझ्न मानेका थिएनन् ।

    पाँच महिनापछि आएर घरपरिवारले सोमबार शव बुझेका थिए । राममनोहरको शवलाई गाउँ घुमाउनका लागि २ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट पाँचसय भन्दा बढीको संख्यामा राउतका नेता कार्यकर्ता बाँके आएका थिए । शवलाई बोकेर गाउँ तथा आसपासमा परिक्रमा गर्ने उनीहरुको योजनालाई भने प्रहरीले रोकेको थियो ।

    प्रहरीले सोमबार बिहान केहीलाई आउँदा आउँदै बाटोमा नियन्त्रणमा लिएको थियो । तर, शव बुझ्ने क्रममा पक्राउ गरिएकालाई छोड्ने र दाहसंस्कार हुँदा प्रहरी आउन नपाइने शर्त राखेपछि प्रहरी पछाडि हट्न बाध्य भएको थियो । अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कारको बेला विखन्डनकारी गतिविधी गरेको आरोप उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    बाहिरी जिल्लाबाट आएका राउतका कार्यकर्ताहरुले बिहानैदेखि विखन्डनकारी गतिविधी गरिरहेका थिए, उच्च सुरक्षा स्रोतले भन्यो, सुरक्षालाई मध्यनजर गरेर मुख्य मुख्य नेताहरुलाई ‘मार्क’ गर्दै बसेर राती आ–आफ्नो गन्तब्यतिर फर्किने क्रममा नियन्त्रणमा लिएका हौं ।

    सोमबार यादवको शवं पाँच महिनापछि गाउँमा ल्याउने भएपछि राउतका कार्यकर्ताहरुले विखन्डनकारी गतिविधी गर्नसक्ने भएकाले ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्