Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१०/२१ गते
    ४८४ पटक
    कोहलपुर ।

    बाँकेको नरैनापुर गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रंगशाला निर्माण गरिने भएको छ । नरैनापुर गाउँपालिकाको वडा नम्बर–२ मा निर्माण हुने अत्याधुनिक रंगशालाको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) समेत तयार पारिसकेको छ ।

    गाउँपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक रंगशालाको डिपीआर दंगिशरण कन्सल्टले तयार पारेको हो । नरैनापुरको आलिनगरमा बन्ने रंगशालाको शिलन्यास समेत भइसकेको छ ।

    पुर्व राज्य मन्त्री दिनेशचन्द्र यादव, नरैनापुर गाउपालिका प्रमुख मो. ईस्तियाक अहमद शाहको उपस्थितीमा सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) ले रंगशालाको शिलन्यास गरेकी हुन् । झण्डै ८ विगाह क्षेत्रफलमा अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुनेछ ।

    एक अर्ब १० करोड खर्च लाग्ने अनुमान गरिएको रंगशाला सांसद नमुनाले पहलमा निर्माण हुन गइरहेको हो । सांसद नमुनाका अनुसार रंगशाला भित्र आधुनिक क्रिकेट मैदान, स्वीमिङ्ग पुल, लङ्ग टेनिस, बास्केट वल, भलिवल कोर्ट निर्माण गरिनेछ ।

    अहिले गरिएको रंगशालाको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) अनुसार तीनसय ५० वटा मोटरसाइकल र एकसय वटा गाडिहरु पार्किङ गर्न मिल्ने सुविधासम्पन्न पार्किङस्थल बनाइनेछ ।

    ‘नरैनापुरमा अत्याधुनिक रंगशाला निर्माण भएपछि यस क्षेत्रको परिचय नै बदलिने छ,’ सांसद नमुनाले भनिन्, ‘अबको केही बर्षमा नरैनापुर क्षेत्र बाँकेको कर्णाली भनेर चिनिनुपर्दैन । सुगम जिल्लाको अत्यन्त विकट क्षेत्रलाई विकासमा पछि परेको ठाँउ भनेर चिनिने दिन अब ईतिहासमै सिमित हुन्छन् ।’

    अन्तर्राष्ट्रिय क्रिकेट मैदानले नरैनापुरलाई खेलकुदको हबका रुपमा स्थापी गराउने उनको भनाइ छ । अहिले प्रदेश सरकारको ‘एक स्थानीय तहः एक रंगशाला’ कार्यक्रमको बजेटबाट नै निर्माणको काम सुरु गरिने प्रदेश सांसद नमुनाले जानकारी दिइन् ।

    ‘प्रदेश सरकारले अहिले छुट्याएको ३६ लाख रकमबाट अन्तराष्ट्रिय स्तरको अत्याधुनिक रंगशालाको काम सुरु हुन्छ’ उनले भनिन्, ‘डिपिआर अनुसार बजेट धेरै आवश्यक पर्ने भएकाले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर अन्य बजेट विनियोजन गरिनेछ ।’

    प्रदेश सरकारले बहुवर्षिय योजनाको रुपमा नरैनापुर क्रिकेट रंगशालाको आयोजना अघि सारेको बताउदै संघ तथा स्थानीय सरकारलाई पनि अपनत्व लिन उनले आग्रह गरिन् ।

    नरैनापुर आफ्नो निर्वाचन क्षेत्र रहेकाले यो क्षेत्रको विकासका हरेक गतिविधिमा आफ्नो चासो र सहयोग हुने भन्दै सांसद नमुनाले रंगशाला निर्माण गर्न प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने भएकाले सहयोगी हात तथा मनहरुको खोजी गरिरहेको जानकारी दिइन् ।

    गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद शाहले नरैनापुरको विकासमा प्रदेश सरकारको पहलका कारण चाँडै नयाँ रुप र गति लिने बताए । ‘यस क्षेत्रमा विकासका गतिविधि अगाडि बढाउन सांसद नमुनाले ठूलो हात रहेको छ’ उनले भने, ‘यस क्षेत्रको विकास गर्नमा प्रदेश सरकारले गर्ने जुनसुकै काममा पनी गाउँपालिका सहयोग गर्न तयार हुन्छ ।’

    २० हजार दर्शकको क्षमता हुने अत्याधुनिक रंगशालामा भिआइपी, भिभिआईपी सर्वसाधारणका लागि प्याराफिट समेत निर्माण हुनेछ ।

    हुलाकी सडकदेखि अत्याधुनिक रंगशाला निर्माण हुन गइरहेको स्थानसम्म पुग्नको लागि गाउँपालिकाले समेत पहिलो चरणमा सडक निर्माणको लागि १७ लाख बजेट बिनियोजन गरेको छ ।

    प्रतिकृया दिनुहोस्