Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२६ गते
    ४१ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा पाँचौ कोहलपुर औद्योगिक, व्यापार, कृषि फुडफेस्टिबल तथा पर्यटन महोत्सव हुने भएको छ । कोहलपुर उद्योग बाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरको संयुक्त आयोजनामा आगामी माघ १४ गतेबाट २७ गतेसम्म महोत्सव हुन गइरहेको हो ।

    कोहलपुर शहर हाम्रो शान व्यावसायीक प्रवद्र्धन हाम्रो पहिचान भन्ने मुल नाराका साथ महोत्सव हुन गइरहेको बिहीबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

    कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक चक्र बहादुर अधिकारीले कोहलपुर क्षेत्रको व्यावसायको प्रबद्र्धन तथा कृषि, वन तथा उद्योग र पर्यटनलाई टेवा दिदै स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरणलाई टेवा दिने प्रमुख लक्ष्य महोत्सवले राखेको बताए ।

    उनका अनुसार सम्बन्धित व्यवसायमा लागेका उद्योगी व्यापारीहरू र उपभोक्ताको पहुँचमा वृद्वि समेत महोत्सवले गराउनेछ । विगतका महोत्सव भन्दा फरक ढंगले सञ्चालन गर्ने हाम्रो तयारी रहेको छ, संयोजक अधिकारीले पत्रकार सम्मेलनमा भने,– यसपटकको महोत्सव पहिलाका भन्दा पृथक बनाइने छ ।

    होटल व्यवसायी संघ बाँके कोहलपुरका अध्यक्ष तथा महोत्सवका सह–संयोजक बलराम भट्टराईले फुडफेस्टिबल महोत्सवको विशेष आकर्षणका रुपमा रहने जानकारी दिए । महोत्सवको आर्कषक बाल उद्यान तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम र हाँस्यब्यङ्ग्यको प्रस्तुति समेत हुने उनले बताए ।

    १ लाख भन्दा बढी मानिसहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सव अवधिभर करिब ३ करोड भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।

    महोत्सव कार्यन्वयन समितीका सदस्य सचिव विश्वराज खनालले महोत्सवको प्रमुख आर्कषणमा फुडफेस्टीभल र दर्शकका लागि ९० फिटको भ्यूटावरबाट कोहलपुर क्षेत्रको दृश्य अवलोकन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

    उनका अनुसार महोत्सवबाट आम्दानी भएको रकमले उद्योग बाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने र होटल व्यवसायी संघ बाँके कोहलपुरले भवन निर्माणको लागि जग्गा खरिदमा खर्च गर्नेछन् ।

    महोत्सवलाई सफल पार्नको लागि ५०१ सदस्यीय मुल समिति ३ सदस्यीय समन्वय समिति २० सदस्यीय कार्यन्वयन समिति ५५ सदस्यीय उप–समिति समेत गठन गरिएको छ ।

    महोत्सवमा औद्योगिक उत्पादन तथा विविध वस्तु तथा सेवाहरूका २ सय ७५ वटा स्टलहरु रहने महोत्सव कार्यन्वयन समितीका अर्का सदस्य सचिव तेज प्रसाद अधिकारीले जानकारी दिए ।

    #फाइल तस्बिर

    प्रतिकृया दिनुहोस्