Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२६ गते
    २५ पटक
    चितवन ।

    १२ औं चितवन महोत्सवको दोस्रो दिन करिव १० हजारले अवलोकन गरेका छन् । दोस्रो दिन बिहीबारबाट नै सांस्कृतिक कार्यक्रम सुरु भएपछि अवलोकनकर्ताको चाप बढेको हो ।

    साँझ ५ बजेसम्म ७ हजार दर्शक पुगेको महोत्सवमा करिव एक घण्टामै दर्शकको अत्यधिक चाप बढेको टिकट व्यवस्थापन संयोजक तारानाथ पाठकले जानकारी दिए ।

    दोस्रो दिन चर्चित हाँस्य कलाकार जीतु नेपालको हाँस्य प्रहशन रहेकाले पनि अवलोकनकर्ताको चाप बढेको सांस्कृतिक कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठको भनाई छ ।

    करिव ३ः३० बजे स्टेजमा मुन्द्रे उक्लिएपछि दर्शकहरु सबै सांस्कृतिक कार्यक्रम स्थल आसपास नै देखिन्थे । कार्यक्रममा मुन्द्रेले देशको परिवेशबारे पेचिला शब्दहरु मार्फत घोचपेच गर्दा दर्शकको ताली पाए ।

    यस्तै जादुगर बलराम सरकारको प्रस्तुतीले अवलोकनकर्तालाई अचम्मित बनाएको थियो । महोत्सव अवलोकनका लागि पुगेकी तुलसी न्यौपानेले जादुको बारेमा धेरै सुनेपनि आफ्नै आँखा अगाडी जादुगरले देखाएका थरीथरीका चमत्कार अनौठो लागेको बताइन् ।

    महोत्सव अन्र्तगत बिहिबारबाट लोक गीत प्रतियोगिता समेत सुरु भएको छ । ११ जना प्रतियोगि कलाकारहरुले आआफ्नो प्रस्तुती दिएका छन् ।

    उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा भएको महोत्सवलाई टेस्ला एयर कण्डिसले मुख्य प्रायोजन गरेको हो । महोत्सवमा यस पटक ५ सय ७२ वटा स्टल रहेको महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ ।

    महोत्सवमा परिसरमा आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरु बनाइएका छन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएका छन् ।

    २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

    महोत्सवको तेस्रो दिन शुक्रबार भने आधुनिक गीत प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा १० जनाले आफ्नो प्रस्तुती दिनेछन् । हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकारहरु घिरौली र सापटीको पूस्तुतीले दर्शक संख्या बढाउने आयोजकको अपेक्षा छ ।

    साथमा नारायणी कला मन्दिर, रोयल डान्स सेन्टर, चितवन डान्स सेन्टर, नेपाल तामाङ घेदुंग, नेपाल भुजेल सेवा समाजले सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्