Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२६ गते
    २६ पटक
    कृष्ण ओली । कोहलपुर ।

    कोहलपुर नगरपालिकाको जारी चौंथो नगरसभामा नगर स्वास्थ्य ऐन २०७५ र नगर सभाका समिति गठन नियमावली २०७५ पेश गरिएको छ । सभामा बुधबार कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा विधेयक समितीका संयोजक भिम बहादुर नेपालीले स्वास्थ्य ऐन र समिति गठन नियमावली २०७५ पेश गरेका हुन् ।

    नगरसभाको पहिलो दिन गत शनिबार वडा नम्बर ६ का अध्यक्ष रामशोहन थारुको शोक प्रस्ताव पारित गर्दै बुधबारसम्मका लागि स्थगित भएको थियो । वडा नम्बर १० का अध्यक्ष निम बहादुर चलाउनेले सभामा पेश भएको नगर स्वास्थ्य ऐन २०७५ माथि अध्ययन गर्नको लागि २४ घण्टाको समय माग गरेको कार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिइन् ।

    उनका अनुसार वडाअध्यक्ष चलाउनेले अध्ययनको लागि समय माग गरेपछि सभाका अध्यक्ष लुट बहादुर रावतले आज (बिहीबार) १० बजेसम्मको समय दिएका छन् । आज १० बजे बस्ने नगर सभाको बैठकमा नगर स्वास्थ्य ऐन र नगर सभाका समिति गठन नियमावली २०७५ माथि छलफल हुनेछ ।

    सभामा पेश गरिएका ऐन र नियमावली माथि गहन छलफल हुनेछ, विधेयक समितीका संयोजक नेपालीले भने,– त्यसपछि दुवै सभाबाट पारित गर्ने कार्यक्रम रहेको छ । नगर स्वास्थ्य ऐन २०७५ र नगर सभाका समिति गठन नियमावली २०७५ संशोधनसहित पारित हुने सभ्भावना रहेको बताइएको छ ।

    चौथो नगर सभाबाट नगर सभाका समिति गठन नियमावली २०७५ पारित भए तीन वटा विभिन्न समितीहरु गठन गर्ने बाटो खुल्नेछ । नियमावली पास भएपछि लेखा, सुशासन र विधायक समिती गठन गर्ने कानुनी बाटो खुल्नेछ ।

    नगर सभाका समिति गठन नियमावली २०७५ सभाबाट पारित भए लगत्तै लेखा, सुशासन र विधायक समिती गठन गरिने कार्यपालिका सदस्य तथा विधेयक समितीका संयोजक नेपालीले जानकारी दिए । दोस्रो दिनको सभामा कोहलपुर नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रेम प्रसाद देवकोटाले आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    उनले चालु आर्थिक बर्ष २०७५÷०७५ को प्रथम चौमासिक प्रगती प्रतिवेदन समेत सभामा पेश गरेको वडा अध्यक्ष चलाउनेले जानकारी दिए । चौंथो नगरसभा स्वास्थ्य ऐन २०७५ र नगर सभाका समिति गठन नियमावली २०७५ संशोधनसहित पारित गर्दै आज नै सम्पन्न हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्