Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२५ गते
    ९९ पटक
    काठमाडौं ।

    संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ।

    कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको बन्द प्रशिक्षणमा १६ खेलाडीले मात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले जानकारी दिए।

    उनले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताए। कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरी भने अष्ट्रेलियामा छन्। यस्तै सन्दीप लामिछाने बंगलादेश प्रिमियर खेल्न बंगलादेशमा छन्।

    केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षण सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ।

    नेपालको प्रारम्भिक टिममा प्रशिक्षणमा २० खेलाडी छन्। नेपाली टिममा कप्तान पारस खड्का, वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन्।

    त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन्।

    युइर्एमा हुने सिरिज आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ। युएइसँगको पहिलो एक दिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ। यस्तै टी ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ।

    नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो।

    प्रतिकृया दिनुहोस्