Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२२ गते
    ५२ पटक

    नेपालको सबैजसो संरक्षित क्षेत्र दुर्लभ वन्यजन्तु तथा वनस्पति जोगाउने उद्देश्यसहित स्थापना गरिएका हुन्। तर पश्चिम नेपालमा एउटा आरक्ष छ जहाँ व्यवस्थित सिकार प्रक्रिया अन्तर्गत बग्रेल्ती पाइने नाउर र झारलको सिकार खेल्न पाइन्छ।

    त्यसका लागि सिकारीहरूले नेपाल सरकारलाई मोटो रकम तिरेर अनुमति लिनुपर्छ।

    लाखौँ रुपैयाँ तिर्नु पर्ने भए पनि धौलागिरि हिमालको दक्षिणपश्चिममा फैलिएको ढोरपाटन सिकार आरक्षमा हिमाली सौन्दर्यको रसपान गर्दै चुनौतीपूर्ण मानिने नाउर र झारलको सिकार गर्न विदेशबाट सिकारको सोख भएका पर्यटकहरू आउने क्रम बढ्न थालेको छ।

    उच्चहिमाली क्षेत्रका भीरपाखामा विचरण गर्ने जङ्गली नाउर र झारल निकै टाठा र फुर्तिला हुन्छन्। त्यसैले तिनको सिकार गर्न सजिलो छैन।

    तैपनि यसपालि ढोरपाटन पुगेका विदेशी सिकारीले केही नाउर र झारल मारेर तिनको सिङसहितको टाउको आखेटोपहारका रूपमा आफ्नो देश लैजान सफल भएका छन्।

    ‘हिमाली ट्रफी’ मोह

    ढोरपाटनमा नाउर शिकार

    ढोरपाटनमा शरद् र वसन्त ऋतुमा सिकार खेल्ने गरिन्छ। यो आर्थिक वर्षको शरद् (असोज-मंसिर) मा सिकार भएका दशवटा नाउर र छवटा झारलमध्ये चार रुसी सिकारीले आठवटा नाउर तथा चारवटा झारलको सिङ आफ्नो देश लगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ।

    बाँकी सिकारीले आफ्नो आखेटोपहार स्वदेश लैजान अनुमति लिने प्रक्रिया थालेका छ‍न्। ढोरपाटन रुस, अमेरिका, जर्मनी, फ्रान्स, स्पेन, क्यानडा, बेल्जियम लगायतका देशका ट्रफी सिकारका सौखिन व्यक्तिहरूमाझ प्रख्यात छ।

    ट्रफी सिकारीहरूले नेपालको ढोरपाटनलाई जीवनमा एक पटक पुग्नै पर्ने गन्तव्य मान्न थालेका छन्। सिकारीको सङ्ख्या बढेका कारण ढोरपाटन सिकार आरक्षको कमाइमा पनि वृद्धि भएको बताइन्छ।

    पोहर सिकार आरक्षले नाउर तथा झारलको सिकारबाट ५९ लाख ७५ हजार सात सय रुपैयाँ कमाएको थियो। यो वर्ष सिकार खुलेको पहिलो ऋतुमा कुल एक करोड आठ लाख ५७ हजार रुपैयाँ सङ्कलन भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ।

    सिकारबाट कसरी हुन्छ संरक्षण?

    पश्चिम नेपालका तीन जिल्ला रुकुम, बाग्लुङ र म्याग्दीको १,३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन सिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्।

    अनुमति लिएका सिकारीले तोकिएको समय र क्षेत्रमा निश्चित वन्यजन्तुको सिकार गर्न पाउँछन्। तीमध्ये नाउर र झारल प्रमुख हुन्।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बेलाबेलामा ती वन्यजन्तुको गणना गर्ने र सिकारको वार्षिक कोटा निर्धारण गर्ने गरेको छ।

    विभागका अनुसार यसरी सिकार गर्न दिँदा कुनै वन्यजन्तुको सङ्ख्या ह्वात्तै घट्ने वा ती सखापै हुने परिस्थिति बन्दैन। साथै तिनको सङ्ख्या बढेर आफ्नै वासस्थानलाई नोक्सान पुर्‍याउने वा आरक्षको छेउछाउमा रहेका क्षेत्रमा गरिने खेतीपातीमा क्षति पुर्‍याउने परिस्थिति पनि उत्पन्न हुँदैन।

    सिकार गरिने भए पनि ढोरपाटनमा वन्यजन्तु संरक्षणका लागि यथेष्ट काम गरिएको आरक्षको दाबी छ।

    आरक्ष कार्यालयकी प्रमुख सरस्वती पौडेलका अनुसार नाउर र झारललगायत अन्य वन्यजन्तुको संरक्षण कार्यमा आरक्षका कर्मचारी र नेपाली सेना संलग्न छन्।

    उनी भन्छिन्, “हामीले वन्यजन्तुको वासस्थानमा गस्ती गर्ने गरेका छौँ। त्यसले संरक्षणमा सहयोग पुगेको छ।”

    विदेशी सिकारीको ओइरो

    ढोरपाटनमा नाउर शिकारी

    ढोरपाटन आरक्षबाट धौलागिरिका अतिरिक्त गुर्जा र सिस्ने हिमालका मनमोहक दृश्य देख्न सकिन्छ।

    समुद्र सतहबाट पाँच हजार मिटरभन्दा माथिका क्षेत्रमा नाउर पाइन्छन्। तीन हजार तीन सय मिटरभन्दा माथिल्लो भेगमा झारल पाइन्छन्।

    हिमाली क्षेत्रमा भएकोले ढोरपाटनमा विदेशी सिकारीहरूले विश्वका अन्य देशमा भन्दा फरक अनुभूति गर्ने गरेका छन्। उच्चपहाडी क्षेत्रको अति कठिन क्षेत्रमा बस्ने नाउर र झारलको सिकार गर्नु पर्ने भएकोले ढोरपाटन विश्वभरिका साहसी सिकारीको प्रमुख रोजाइमा पर्न थालेको छ।

    यहाँ नाम चलेका सिकारीहरू आउने गरेका छन्। ढोरपाटन आरक्षले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा २० जना सिकारीहरू ढोरपाटन आएका थिए भने यो वर्ष त्यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ।

    सबैको ध्येय एउटै हुन्छ – ‘हिमाली ट्रफी’ अर्थात् आखेटोपहार लैजाने। ट्रफी सिकारीहरू हिमाली क्षेत्रमा सिकार खेल्न सफल हुनुलाई ‘हिमाली ट्रफी’ जितेको मान्ने गर्छन्।

    सफल सिकारीहरूले तोकिएको रकम तिरेर सिकारको टाउको लैजान पाउछन्। विफल सिकारीहरू रित्तै हात फर्कन्छन्।

    सिकार किन खेल्दैनन् नेपालीहरू?

    ढोरपाटनमा नाउर शिकारी

    बर्सेनि ढोरपाटन सिकार आरक्षमा नाउर तथा झारलको सिकार खेल्न नेपाली पथप्रदर्शक र सहयोगीसहित विदेशीहरू आउने गरेका छन्।

    तर नेपाली सिकारीको सङ्ख्या भने शून्यप्राय: रहने गरेको छ। सिकारका लागि बोलपत्र आह्वान भएपछि सबैभन्दा धेरै रकम तिर्न तयार व्यक्ति वा समूहलाई सिकार खेल्ने अनुमति दिइन्छ।

    एउटा ऋतुमा एउटा नाउर तथा झारलको सिकार खेल्नलाई कम्पनीमार्फत् आउँदा ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ।

    ‘हिमाली ट्रफी’ सिकार महँगो हुने भएकोले नेपालीहरूले नाउर वा झारल सिकार गर्न चासो देखाएको पाइँदैन। ट्रफी सिकारको क्रममा सिकारीले नाउर र झारलको सिङ तथा छालाका अनुमति पाएपछि आफूसँगै लैजान पाउँछन्।

    कुनै प्रतियोगितामा जस्तै ठूलो सिङ भएका नाउर तथा झारलको सिकार गर्छ उसले ‘हिमाली ट्रफी’ प्राप्त गर्दछ। त्यसैकारण पनि विदेशी सिकारीहरू ‘हिमाली ट्रफी’ जित्न लालायित हुने गर्छन्।

    कसरी चर्चित भयो ढोरपाटन?

    ढोरपाटनमा एक शिकारी

    सन् १९७६ मा नर्वेका एक प्रोफेसरले अध्ययनको क्रममा झारल र नाउरको सङ्ख्या धेरै भएकोले ढोरपाटनलाई सिकार खेल्न सकिने सम्भावनायुक्त क्षेत्र भएको सुझाव दिए।

    त्यसपछि सन् १९८७ देखि आरक्षलाई सिकारीहरूका लागि खुला गरियो। सिकारीहरूका लागि खोलिएपछि ढोरपाटनमा प्राय: रुस र जर्मनीका सिकारीहरू आउने गरेका छन्।

    सिकार आरक्षले ख्याति कमाउन थालेपछि अमेरिका र युरोपका अन्य देशबाट पनि सिकारीहरू आउने क्रम बढेको छ।

    थुप्रै देशमा आफ्नो सिकारी कौशलको परीक्षणमा सफल भएपछि नेपाल आएका जर्मनीका इरिक सिग्रिस्टले अन्य मुलुकको भन्दा नेपालको सिकार खेलाइ निकै रोमाञ्चकारी भएको प्रतिक्रिया दिए।

    ढोरपाटनभित्र सात दिन बिताएर झन्डै ९५ किलो तौलको नाउरको सिकार गरेका उनले भने, “अन्य देशभन्दा यहाँ सिकार गर्न पाउँदा मलाई धेरै रमाइलो लाग्यो। यस ठाउँमा म फेरि पनि आउन चाहन्छु।”

    कसरी गरिन्छ सिकार?

    ढोरपाटनमा प्रत्येक वर्ष दुई ऋतुमा सिकार गर्न पाइन्छ। सिकारका लागि २० वटा नाउर र ११ वटा झारल छुट्याउने गरिएको छ ।

    पन्ध्र दिनको सिकार अनुमतिसहित नाउर र झारलको खोजीमा जाने सिकारीहरूले नियमानुसार पानी पिउने बेलामा, साँझ र बिहान, पासो थापेर वा भाले र पोथीबीच शारीरिक सम्पर्क भएका बेला सिकार गर्न पाउँदैनन्।

    सिकारीले ल्याएका हतियार र गोलीको अनुमति लिएपछि मात्र उसले आरक्षमा प्रवेश गर्न पाउने कानुनी प्रावधान छ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार सफल सिकारीले सिकार गरिएको झारलको सिङसहितको टाउको र छाला विभागको अनुमति लिएर मात्रै आफ्नो देश लैजान पाउँछन्। नाउरको आखेटोपहार लैजान साइटिस अर्थात् सङ्कटको सूचीमा रहेका वन्यजन्तु तथा वनस्पतिबारेको अन्तर्राष्ट्रिय महासन्धिसँग सम्बन्धित कार्यालयको अनुमति आवश्यक पर्छ।

    केही सिकारीले आखेटोपहार घाममा सुकाएर आफूसँगै र केहीले कम्पनीमार्फत् पछि लैजाने गरेका छन्। भौगोलिक रूपमा अतिविकट क्षेत्र रहेकाले सिकारका लागि आउने अधिकांश पर्यटकहरू हेलिकप्टर चार्टर गर्ने गरेका छन्।

    आरक्षमा एउटा भयानक रात…

    ढोरपाटनमा नाउर शिकारी

    विगत १७ वर्षदेखि निरन्तर पथप्रदर्शकको काम गरिरहेका मानबहादुर पुन “साहस गर्न सक्नेले मात्र सिकार गर्न सक्ने” बताउँछन्।

    बयालीस वर्षीय उनले पढाइलाई बीचमै छोडेर १७ वर्षअघि त्यो काम थालेका हुन्। रुकुम जिल्ला मईकोट पेल्मा स्थायी घर भएका उनी धेरै पटक आरक्ष पुगिसके। उनका अनुसार दुई ऋतुमा सिकारीहरूलाई सघाएपछि उनको आम्दानी झन्डै आठ लाख रुपैयाँ हुन्छ।

    उनी सन् २०१४ मा रुसी सिकारीसहित ढोरपाटन पुगेको बेला भएको एउटा घटना बिर्सन सक्दैनन्। उनका अनुसार पैँतालीस सय मिटरभन्दा माथि पुगिसकेपछि रातको ९ बजेपछि अचानक हिउँ पर्न थाल्यो ।

    पुन भन्छन्, “लगातार हिउँ परेपछि त्रिपाल नै पुरियो। सबैजना आत्तिए। आफू आत्तिएको भए पनि साहसी सिकारीले मात्र सिकार गर्न सक्छ भनेर सबैलाई सम्झाएँ।”

    सबै मिलेर हिउँ फालेर ठूलो कष्टका साथ त्यो रात त्यहीँ बसेपछि भोलिपल्ट त्यो टोलीले दुईवटा जनावरको शिकार गरेको उनी सम्झन्छन्।

    “त्यो सबैभन्दा डरलाग्दो रात थियो। जीवनकै अन्तिम समय जस्तो लाग्यो।”

    बीबीसी नेपाली

    तस्बिर सौजन्य: आरके अदीप्त गिरी

    प्रतिकृया दिनुहोस्