Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१९ गते
    १२५ पटक
    काठमाडौं ।

    पछिल्लो समय फिल्मको छायाँकन भन्दा पहिले रिलिज मिति जुराउने गरिन्छ । फिल्म रिलिजका लागि राम्रो डेट पाउन गाह्रो भएकाले पनि निर्माताहरु यो प्राक्टिसमा लाग्न थालेका हुन् ।

    यस्तैमा साम्राज्ञीराज्य लक्ष्मी शाह र पुष्प खड्का रोमान्स रहने फिल्म ‘मारुनी’ले पनि छायाँकन पहिले रिलिज मिति सार्वजनिक गरेको छ । नवल नेपालको निर्देशन रहने फिल्मले नयाँ बर्षको भदौ १३ गते रिलिज मितिको रुपमा लक गरेको छ ।

    पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गर्न लागेको यो फिल्म निर्माण युनिटले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो । एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माता तथा निर्देशकको माग बमोजिम प्रदर्शन मिति छानिएको बताए ।

    ‘उहाँहरुले राम्रो फिल्म बनाउने कुरामा हामीलाई पूर्ण विश्वास छ । यही कारण हामी उहाँहरुसँग सहकार्य गर्न तयार भएका हौं’ महर्जनले भने । निर्माता गौतमले पनि एफडीसँगको सहकार्यले फिल्मलाई लक्षित दर्शकसम्म पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

    कलाकारलाई र्याम्पमा हिडाउँदै केही अगाडि फिल्म ‘मारुनी’ को घोषणा गरिएको थियो । फिल्ममा पुष्प र साम्राज्ञीको अलवा रेबिका गुरुङको पनि मुख्य भूमिका रहनेछ । त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्मलाई गोविन्द फुयाँल र निर्देशक नवल नेपाल स्वयं मिलेर लेखेका हुन् । सञ्जय लामाको छायाँकन रहने फिल्म माघको अन्तिम साताबाट फ्लोरमा जाने निर्देशक नेपालले बताए ।

    फिल्ममा निर्माणमा पुनमलाई अजय पोखरेल र राजा प्रधानले सघाउने छन् । हरि सिलवाल फिल्मको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । फिल्ममा सुनिशा क्षेत्री, अरुणराज, आयुष प्रधान, शंकर सेढाई, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी आदि कलाकारको समेत अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।

    प्रतिकृया दिनुहोस्