Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१८ गते
    २२४ पटक
    नेपालगन्ज ।

    दुई वर्षअघिसम्म उनी जीवन खड्का भनेर चिनिन्थे । भित्री मनले महिला बन्ने रहर । सामाजिक बाध्यताले त्यो इच्छा दबाएरै बसे तर कतिन्जेल बस्ने ? ‘हाल म जेसिका खड्का भनेर चिनिन थालेकी छु,’ कोहलपुर नगरपालिका ४ की २२ वर्षीया सुन्दरीले भनिन् ।

    सानै छँदा उनका बुबाआमा बिते । माया गर्ने कोही भेटिएनन् । विद्यालय जान्थे । शारीरिक स्वभाव महिलाको जस्तो थियो । साथीभाइले मजाकमा उडाउँथे ।

    उनको आत्मबल कमजोर बन्थ्यो तर विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भने चर्चा उनकै थियो । कारण उनी उम्दा डान्सर थिए । हरेक गीतमा नाच्थे ।

    दर्शक उनको नाचको प्रशंसा गर्थे । केटी बनेर नाच्न पाउँदा उनी औधि खुसी देखिन्थिन् । ‘सानै उमेरदेखि मेरो केटी बन्ने चाहना थियो । सांस्कृतिक कार्यक्रमले त्यो जुराउँथ्यो,’ उनले मनको बह पोखिन्, ‘सामान्य अवस्थामा महिला बनेर हिँड्न समस्या हुन्थ्यो तर सांस्कृतिक कार्यक्रममा भने महिला बन्न छुट थियो । कलाले लैंगिकविभेद स्वीकार्दैन ।’

    जान्ने भएदेखि जेसिका बनेर नखुल्दासम्म लामो समय उनी उकुसमुकुसमै रहिन् । इच्छा दबाएर बाँचिन् । अन्तरआत्माले महिला बन्ने सपना पूरा नहुँदा एक्लै रुन्थिन् । सामाजिक परिवेशले बाँधेको थियो । एक मनले महिला बनेर स्वछन्द भएर हिँड्न चाहन्थिन् तर समाजले गर्ने व्यवहारले आफूलाई रोक्थिन् । ‘एक्लै घरमा भएका बेला रुन्थें ।

    आफूले आफैंलाई धिकार्थें,’ जेसिकाले भनिन्, ‘नाच्नु र गाउनु मेरो बाल्यकालदेखिको रहरले यहाँसम्म ल्याइपुर्‍यायो ।’उनी तेस्रोलिंगी होइनन् । उनी आफूलाई महिला भन्न बढी रुचाउँछिन् ।

    जेसिका जति नाच्नमा पोख्त छिन्, गीत गाउन पनि उत्तिकै खप्पिस छन् । अनौठो के भने उनी महिला र पुरुष दुवैको आवाजमा गीत गाउँछिन् । मेला/महोत्सवमा उनको माग बढ्न थालेको छ । डान्स र महिला–पुरुषको स्वरमा गीत गाउन सक्नु उनको फरक क्षमता हो ।

    हिन्दी, नेपाली गीतहरू व्यावसायिक गायकजस्तै मजाले गाउँछिन् । ‘भगवान्ले मलाई फरक क्षमता दिएका छन् । महिला–पुरुष दुवैको स्वरमा गीत गाउन सक्छु,’ महिला आवाजमै उनले सुनाइन्, ‘हाल मेरो माग बढ्न थालेको छ । गीतका लागि पनि अफर आइरहेका छन् ।’

    सुरुमा उनलाई थारू भाषाको गीत गाउने अवसर मिल्यो । त्यही गीत रुचाइएपछि माग बढेको हो । राजधानी काठमाडौंबाट पनि गीतका लागि अवसर आउन थालेकोमा उनी निकै खुसी छन् । ‘पहिले दु:ख गरें । अहिले आएर सपना पूरा हुन थालेको छ,’ उनले भनिन् ।

    तेस्रोलिंगीहरूको हकहितमा काम गर्ने संघसंस्थाको सहयोग पाएपछि उनलाई खुल्न सहज भएको हो । ‘जन्म दिने बुबाआमाले जीवन नाम दिए । कर्मले जेसिका,’ उनले भनिन् ।

    #कान्तिपुरबाट ।

    प्रतिकृया दिनुहोस्