Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१७ गते
    १६१ पटक
    कोहलपुर ।

    इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख डिएसपी रमेश कुमार सिंह पुरस्कृत भएका छन् ।

    केही दिनअघि मात्र कार्यालयमा घुस दिन आएका ‘गोरु तस्कर’हरुलाई पक्राउ गरेर चर्चामा रहेका सिंहलाई ५ नम्बर प्रहरी प्रदेश कार्यालय १५ सय रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो ।

    गत पुस १३ गते गोरु तस्करीका लागि सेटिङ्ग मिलाईदिन भन्दै घुस प्रस्ताव गर्ने अब्दुल देवान र नवराज थापालाई डिएसपी सिंहले आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिई कारबाही अघि बढाएका थिए ।

    त्यसैगरी क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा दरबन्दी रही प्रदेश अनुसन्धान ब्यूरोमा इन्चार्जका रुपमा कार्यरत प्रहरी निरीक्षक बोधराज रेग्मीलाई पनी प्रदेश प्रहरीले पुरस्कृत गरेको छ ।

    भारतीय सीमा क्षेत्रबाट हुने तस्करी र लागुऔषध नियन्त्रणमा भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक रेग्मीलाई पुरस्कृत गरिएको ५ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले जानकारी दिए । रेग्मीलाई पनि १५ सय रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।

    प्रहरी निरीक्षक रेग्मीले आफ्नो टोलिलाई सही परिचालन गर्दै गम्भिर खालका हत्याका अनुसन्धान, चोरीका सवारी साधन नियन्त्रण लगाएका कामहरु सफलतापुर्वक परेको बताइएको छ ।

    संगठनले दिएको जिम्मेवारी ईमान्दारी एवम् कर्तब्यनिष्ठ भई सम्पादन गरेको कार्यको मूल्यांकन गर्दै दुवै जनालाई पुरस्कृत गरिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्