Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१४ गते
    ६२ पटक
    नेपालगन्ज ।

    नेपालगन्जको शान्ति सुरक्षामा निकै सुधार आएको प्रहरीले दाबी गरिरहेका बेला नेपालगन्जमा अज्ञात समुहले श्रंखलावद्ध रुपमा आगजनी गरेको छ ।

    श्रंखलावद्ध रुपमा आगजनीका घटना हुन थालेपछि नेपालगन्जको शान्ति, सुरक्षामाथी प्रश्न उठेको छ । आगजनीका घटनाले नेपालगन्जबासी निकै त्रसित बनेका छन् ।

    सोमबार राती नेपालगन्ज–१० भृकुटीनगरस्थित नागरिक दैनिकका संवाददाता अर्जुन ओलीको घरमा पार्किङ गरिएको मोटरसाईकलमा अज्ञात समुहले आगजनी गरिदियो । समयमै आगो नियन्त्रण गर्दा घरमा ठुलो जनधनको क्षति हुन पाएन ।

    उक्त घटनामा संलग्न समुहको प्रहरीले पहिचान गर्न नसक्दा बुधबार राती पुनः सोही प्रकृतीको घटना दोहोरिएको छ । नेपालगन्जको मुटु मानिने धम्बोझी चोक नजिक अज्ञात समुहले ५ वटा इलेक्ट्रिक रिक्सामा आगजनी गरिदिएको छ ।

    स्थानीय अव्दुल लतिफ हल्वाईको ४ वटा र अव्दुल रसीको एउटा इलेक्ट्रिक रिक्सामा बुधबार राती करिव पौने १२ बजेतिर आगजनी गरिदिएको प्रहरीले जनाएको छ ।

    धम्बोझी चोकदेखी करिव दुई सय मिटर पश्चिममा पार्किङ गरेर राखिएको को.न.पा. १५५, भे १ ह १२२०, भे १ ह २३३९, जमुनी २२९ र रनियापुर ४७ नम्वरको ईलेक्ट्रिक रिक्सामा अज्ञात समुहले आगजनी गरिदिएको निमित्त प्रहरी प्रमुख (डिएसपी) राजेन्द्र अर्यालले जानकारी दिए । सोही समूहले नजिकै रहेको एउटा घुम्ती पसलमा पनि आगजनी गरिदिएको छ ।

    यस्तै दुई वटा किराना पसलमा पनि मट्टीतेल छर्केर आगजनीको प्रयास गरेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीयका अनुसार एक साताअघि पनि नेपालगन्जको सहिद सेतु बिक चोक नजिक रहेका दुई वटा पसलमा अज्ञात समुहले आगजनी गरिदिएको थियो ।

    श्रंखलावद्ध रुपमा आगजनीका घटना दोहोरिएपछि स्थानीय जनप्रतिनिधी, अधिकारकर्मी, नागरिक समाज लगायतले प्रहरी, प्रशासनको गम्भिर रुपले ध्यानाकर्षण गराएका छन् ।

    यसअघि बुधबार दिउँसो पत्रकारको एक टोली जिप्रका पुगेर पनि शान्ति सुरक्षाको खस्किँदो अवस्था र आगजनीको घटनामा संलग्न समुहको चाडो पहिचान गर्न प्रहरीलाई दवाव दिएको थियो ।

    नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणा र उपप्रमुख उमा थापामगर बिहीबार बिहान घटनास्थलमै पुगेर आगजनी गर्ने समुहको तत्काल पहिचान गरी कारबाही गर्न प्रहरी, प्रशासनको ध्यानाकर्षण गराए । ‘श्रंखलावद्ध रुपमा भएका आगजनीका घटनाले नेपालगन्जको शान्ति, सुरक्षामाथी प्रश्न उठेको छ, प्रहरी प्रशासनले आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभुती दिलाउनुपर्छ,’ जनप्रतिनिधीले भने ।

    नेपालगन्जको शान्ति, सुरक्षाका लागि भन्दै विभिन्न चोकमा ५६ वटा सिसि टिभी क्यामेरा जडान गरिएको छ । तर, अपराधिक घटना भने दिनहुँ जसो दोहोरिदै गएका छन् ।

    दिनहुँ आपराधिक घटना भईरहँदा बाँके प्रहरीले आम नागरिकलाई शान्ति, सुरक्षाको पूर्ण प्रत्याभुती दिलाउन नसकेको अधिकारकर्मी बताउँछन् ।

    उच्च अदालत बार एशोसियशन नेपालगन्जका निर्वतमान अध्यक्ष बलबहादुर चन्द पछिल्लो चरणमा भएका आगजनीका घटनाले सबै नगरबासीलाई चिन्तित बनाएको बताए । ‘पटक–पटक घटना दोहोरिदा पनि प्रहरीले संलग्न समुहको पहिचान गर्न नसक्नु लाजमर्दो कुरा हो,’ उनले भने ‘आपराधिक समुहले घटना दोहो¥याउँदै गएको छ, प्रहरी चाही आफै अलमलमा परिरहेको छ ।’

    प्रहरीले अहिलेसम्म घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आगजनीका श्रंखलावद्ध घटनाको गम्भिर रुपले अनुसन्धान गरी संलग्न समुहको पहिचान गर्न प्रहरीलाई निर्देशन दिने बताए ।

    ‘आगजनीका घटना दोहोरिरहँदा पनि संलग्न ब्यक्ति किन पक्राउ परेनन्, यसलाई प्रहरीले गम्भिर रुपले अनुसन्धान गर्नुपर्छ,’ उनले भने । जिप्रका मुद्दा शाखाका ईन्चार्ज (प्रहरी निरीक्षक) रणबहादुर बिष्टले घटनाको अनुसन्धान जारी राखेको बताए ।

    ‘घटनामा संलग्न त्यस्तो कोही ब्यक्ति पक्राउ परेको छैन,’ उनले भने ‘सिसि टिभी क्यामेराको भिडियो पनि स्पष्ट देखिदैन, अपराधी पत्ता लगाउन गाह्रो भईरहेको छ ।’

    प्रतिकृया दिनुहोस्