Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१३ गते
    ५० पटक
    काठमाडौं ।

    एकसाता पनि राम्रो चलचित्र नचलेको वर्तमान समयमा ‘छक्का पञ्जा–३’ ले भने प्रदर्शनको ५१ औं दिन मनाउन सफल भएको छ ।

    घटस्थापना अर्थात असोज २४ देखि प्रदर्शनमा आएको यो चलचित्रले उपत्यका र मोफसलमा गरेर १३ वटा हलमा लगातार प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भएको हो ।

    दीपाश्री निरौंला निर्देर्शित चलचित्रले उपत्यकाको मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपीकृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन मनाएको हो ।

    यस्तै चलचित्रले उपत्यका बाहिरको कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको छ ।

    दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरि पौडेल, शिशिर वांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय रहेको चलचित्रको कार्यकारी निर्माता जीतु नेपाल र केदार घिमिरे हुन् । सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेको चलचित्र आमा सरस्वती मुभिजको प्रस्तुति रहेको छ ।

    दीपकराज गिरीको कथा, दीपकसँगै केदार घिमिरे, जीतु नेपाल, यमन श्रेष्ठको पटकथा रहेको चलचित्रमा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत छ ।

    फिल्ममा रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन छ । चलचित्रले अहिलेसम्म १७ करोडको व्यवसाय गरेको निर्देशक दीपाश्री निरौलाले बताइन् ।

    ‘हामीले यसमा कमेडी विथ कन्टेन भनेर अगाडी बढेका थियौं’ उनले भनिन्– ‘जसलाई दर्शकले मन पराउनु भयो ।’ उनले चलचित्रले ५१ औँ दिन मनाउन सफल भएकोमा दर्शक, मिडियाकर्मी तथा हल संचालकलाई धन्यवाद समेत दिइन् ।

    प्रतिकृया दिनुहोस्