Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१२ गते
    २६ पटक
    काठमाडौं ।

    शान्ति प्रक्रियाताका कृष्णप्रसाद सिटौलालाई ठूलो जिम्मेवारी सुम्पिएका तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालासँग रूष्ट थिइन् पुत्री सुजाता कोइराला । तर, त्यो रोष बाबुलाई नभई सिटौलामाथि पोख्ने गरेका कारणले उनीहरूको सम्बन्ध केही महिना अघिसम्म कुशल थिएन ।

    जब तत्कालिन सभापति सुशील कोइरालाले सिटौलालाई १२ औं महाधिवेशनपछि महामन्त्रीमा नियुक्त गरे सार्क सम्मेलनका बेला फस्ट लेडीको हैसियतमा घुमेकी सुजाता सुशीलसँग पनि रिसाइन् । तर उनको दाल गलेन । सिटौला महामन्त्रीमा प्रभावी बन्दै गए ।

    १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई जिताउने क्याम्पेनमा लागेकी सुजातालो सभापतिको दोस्रो राउन्डको चुनावमा सिटौलाले पौडेललाई मत खसाल्न सक्ने अनुमान गरेकी थिइन् ।

    तर शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गराएपछि झन् आक्रोशित भइन् । कांग्रेसमा देउवाको दबदबा चलिरहेको थियो । विधानले नै सभापतिलाई बलियो बनाएपछि अरु कसैको केही नलाग्ने भयो ।

    तर जब देउवासँग सिटौला रुष्ट बने, त्यस मौकामा पुरानो अमिलो सम्बन्धलाई मधुुर बनाएर देउवाविरोधी कित्तामा सिटौलालाई उभिन सुजाताकै प्रस्ताव पुग्यो ।

    यतिवेला भने सुजाता र सिटौलाको सम्बन्ध निकै न्यानो छ । मधुर छ । त्यसमा मिठास पनि भरिएको छ । कारण, सिटौलाले देउवालाई जिताउनु गल्ती थियो भन्दै मण्डिखाटारमा सुजाताको दिवा भोजलाई स्वीकार गरिदिए । त्यसअघि नै एकाध बैठक र चियागफ भएकै थिए ।

    मंगलबार दिउँसोदेखि कांग्रेसमा कोइराला विरासतले ‘गियरअप’ गरेको छ । केही आन्तरिक लेखाजोखाका सहमति भएका छन् । र, सबैभन्दा ठूलो सहमतिचाहीँ देउवा सत्तालाई आगामी महाधिवेशनसम्ममा निमिट्यान्न पार्ने । स्रोतले भन्यो,‘असली र नक्कली कांग्रेसको कित्ताकाट नै भएको छ यो भेला र समूहगत छलफलले कांग्रेसको आगामी गतिमा नयाँ उचाई थप्नेछ ।’

    सुजाता निवास मण्डिखाटारमा तीन पटकसम्म चलेको लञ्च बैठकले नै यो समूहलाई बलियो बनाएको हो । मण्डिखाटारको चामलमा त्यो दम देखियो जसले विपरित ध्रुवमा उभिएका नेतालाई एकैतिर मुख फर्काउनमात्र होइन, बोलीमा लोली मिलाउन अग्रसर बनायो ।

    यसले विभाजित भएको गिरीजाप्रसाद कोइराला कित्ताको कांग्रेसको उदय भएको छ । त्यसमा थपिएका छन् अर्जुननरसिंह केसी र गगन थापा । त्यसबाहेक शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, रामशरण महत, प्रदिप पौडेललगायत पनि यहि कित्तामा उभिएपछि कांग्रेस १३ बर्ष अगाडीको इतिहासको प्रारूपमा पुगेको छ ।

    अहिलेको संस्थापन (देउवा)सँग तत्कालिन विभाजित भएको कांग्रेस प्रजातान्त्रिकका उत्तराधिकारी मात्र छन्, (गच्छादारबाहेक) । बाँकी सबै सुजाताको म्याराथनमा उत्रिएका छन् जसको नेतृत्व रामचन्द्र पौडेलले गरेका छन् ।

    कांग्रेसमा लामो समय काम गरेर प्रधानमन्त्री हुन नपाएका पौडेललाई केही समयका लागि प्रधानमन्त्री, कांग्रेस सभापतिमा शेखर, उपसभापति र संसदीय दलको नेता तथा प्रधानमन्त्रीका सम्भावित उम्मेदवार, राष्ट्रपतिका उम्मेदवारलगायतको रोलक्रममा जाने अर्को सहमति पनि बनेको छ ।

    ‘बरिष्ठ नेताहरूको योगदान र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने सहमति पनि बनेको छ’, स्रोतले भन्यो,‘यस्तो सहमति जुटाउनका लागि सुजाता कोइरालाको ठूलो योगदान छ ।’

    देउवा सभापति भएपछि पूर्व संस्थापनका नेताहरू विभिन्न कित्तामा छरिएका थिए । त्यसैको फाइदा उठाउँदै देउवाले कांग्रेसमा एक्लौटी निर्णय लाद्न थालेपछि सुजाताको प्रयासमा नेताहरू एक ढिक्का हुन तयार भएको स्रोतको दाबी छ ।

    यो समूहले महासमिति बैठकबाट विवादीत निर्णय र विधानविपरितका कामलाई बहुमतले आफु अनुकुलतामा पारित गराउने, विधानविपरितका नियुक्तिलाई बदर गराउनेलगायतका कामसँगै आगामी महाधिवेशनमा देउवा कित्तालाई कमजोर बनाउने तयारी गरिसकेको छ ।

    ‘लोभ र लालसामा कित्ता परिवर्तन गर्ने भन्दा पनि कांग्रेसको जीवनलाई बलियो बनाउनका लागि या समूह सक्रिय हुनेछ’, एक नेताले भने ।

    प्रतिकृया दिनुहोस्