Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७४/९/२६ गते
९८४ पटक
दीपा कोईराला ।

विदेश बस्ने केटो गजबै होला त नि !’ हवाईजहाज चढेर अंग्रेजी बोल्ने मुलुकमा छिरिसकेको केटाका बारेमा केटीका बाउआमाले अरू धेरै बुझ्नुपर्ने ठानेनन् ।

केटालाई नेपाल बोलाइयो, केटीसँग उसको धुमधाम बिहे भयो । आफ्नी सुन्दर छोरीलाई बाउआमाले सुन्दर भविष्यकै लागि सुम्पिदिए एक अन्जान युवकलाई, त्यो पनि बिरानो देशमा बस्ने ।

बढेकी छोरी घरमा हुँदा टाउको गह्रुँगो हुन्छ रे नेपाली समाजका बाउआमालाई । छोरी अन्माउँदा ती बाउआमाको टाउको हलुका नै भयो होला । छोरी विदेश गएपछि एकदुईपटक नेटमार्फत बाउआमाको सम्पर्क भयो छोरी र ज्वाइँसँग । तर विस्तारै सम्पर्क पातलियो ।

यताका छोरीपट्टिका आफन्तले ठाने– विदेशमा काम धेरै हुन्छ । बोल्ने पनि फुर्सद हुँदैन । काममै तल्लीन भए छोरीज्वाइँ ।
तर केटीका बाउआमाले सोचेजस्तो भएन परिणति । एक दिन केटीले नै फोन गरी ‘गलत केटासँग मेरो बिहे हुन पुगेछ । म यातना गृहमा पठाइएको जस्तो भएकी छु ।

लागूऔषधको कुलतमा गम्भीर रूपमा फसेको रहेछ केटो । लागूऔषध प्रभावकै कारण उसले चरम शारीरिक, मानसिक र यौन हिंसा गरिरहेको छ । म सहन नसक्ने अवस्थामा छु । मलाई यो नर्कमा बस्नु छैन ।

म आफ्नै देशमा फर्कन चाहन्छु । म बाँच्न चाहन्छु । आफ्नो पीडा कसैसँग बाँड्नसमेत नमिल्ने यो परदेशबाट म छिटै घर फर्कन्छु ।’ केटी स्वदेश फर्कंदा उनको मुहार सबैलाई देखाउन मिल्ने अवस्थामा थिएन ।

अनुहारभरि कोपेरेका, चिथोरेका र टोकेका दाग र घाउ त थिएन नै, शरीरका अन्य अंग सही सलामत थिएनन् । अवस्था यस्तो थियो, उनले आफ्नै बाउआमालाई समेत आफ्नो अनुहार देखाइनन् । यो मसँग निकट व्यक्तिको एक वास्तविक कथा हो ।

दुई बाली खेती र दुईचारवटा भैंसीबाख्रा पालेर जसोतसो पेट पालिने नेपाली समाजमा विदेशबाट ‘पैसा कमाइने’ तथ्य बुझेपछि त्यता लाग्नेको लर्को थामिनसक्नु छ । यहाँ हाम्रो जिन्दगी सहज छैन, सत्य हो ।

आफैंले भोगेका कारण हामी त्यसो भन्न सक्छौं, तर परपरको अवस्था के छ जानेले पनि हतपत भन्दैनन् । किनकि ती त्यहाँ पुगिसकेका हुन्छन् ।

आफू पुगेको ठाउँका बारेमा हतपत ननिको कसले बोल्छ र ? त्यो पनि पैसो र इज्जत कमाउन जाने ठाउँ बन्यो परदेश । हाम्रो पालामा होइन, बाउबाजेकै पालामा पनि विदेशबाट आएका लाहुरेको सर्वत्र इज्जत बेग्लै हुन्थ्यो ।

गाउँमा टेपरेकर्डर मात्रै बोकेर पस्नेको कत्रो फूर्ति थियो दुई दशकअघिसम्म । क्यासेट प्लेयर र क्यामेरा हुनेलाई बेग्लै कोटीमा गन्थ्यो समाज डेढ दशकअघिसम्म । हामी पनि अहिले इज्जतका भोका भयौं ।

इज्जत अर्थात् ठाँटबाँट र सान । विदेश गएर घरको धुरीमा एन्टेना हालेर टिभी हेर्नेहरू बढे, राम्रा ब्लांकेट, अनेक बान्कीमा सामान र प्रविधिजन्य कुरोसमेत ल्याउन थाले । पहिले अरबबाटै आउँथे यस्ता धेरै चीज । नभए त्यतैको परि श्रमबाट फलेको पैसामा खरिद हुन्थे यस्ता लक्जरीका सामान ।
यसैबीच नेपाली अरब र मलेसिया मात्रै होइन, अनेक उपाय र तरिकाद्वारा गोराका मुलुक जान थाले ।

कुनै समय गोमांश खाने (गाईको मासु चल्ने) देशका रूपमा निन्दित तिनै फिरंगीको देशमा अहिले अनेक कठिनाइ झेलेर भए पनि हाम्रा ठिटाठिटी ओइरिरहेका छन् । ‘भिसै लाग्न गाह्रो’ मुलुकमा जो छिर्‍यो, त्यसले अब विशेष खालको ‘लालमोहर’ प्राप्त गर्‍यो ।

विदेश जानेबारे यसरी व्याख्या हुँदैछ कि समाजमा मानौं जीवनमा सफलताको एउटै कडी गोराको मुलुकको भिसा प्राप्त गर्नु हो । कालो र कालालाई हेप्ने समाजले गोरो र गोराको मुलुकलाई उत्पात ठान्नु अनौठो पनि होइन ।

परदेशको लहरले स्वदेशमा तमासा र तडकभडक बढायो । आफैंमा विश्वास नगर्ने र आफूलाई अरूभन्दा निरिह र कमजोर ठान्ने हामीले ‘लहर’ पछ्यायौं, आफ्नो मुलुकका सानातिना कहरलाई थेग्न सकेनौं ।

ठीक एक वर्षअघि बेलायती बाथरूममा घाँटीमा बेल्टको पासो लगाएर झुन्डिएर मरेको अवस्थामा भेट्टाइए नेपालमा युवा पुस्तामाझ चर्चित र्‍यापर यमबुद्ध । उनी बेलायतमा रोयल मेल (हुलाक सेवासम्बन्धी कम्पनी) मा काम गर्थे र अरू नेपालीजस्तै विद्यार्थी भिसामा सन् २००९ मा बेलायत पुगेका थिए ।

सबै घटनालाई सामान्यीकरण गरेर हेर्नु अनुचित हुन्छ, तर यमबुद्धको अवस्था बेलायतमा गएर पार्सल कम्पनीमा काम गर्नुपर्ने अवश्य थिएन । उनी आफैंमा एक प्रतिभाशाली र्‍यापर थिए र उनका फ्यानहरू बढेको बढ्यै थिए । बुद्धका मुलुकका यमबुद्धलाई पनि सम्भवत: यही लहरले छोयोे ।

परिस्थिति कस्तो बन्दै छ भने कति नेपाली नचाहेरै पनि विदेशको लहरमा हेलिन बाध्य छन् । ‘ब्रिटिस लाहुरे नभए राम्री केटीले आफूलाई बिहे गर्दैनन्’ भन्ने ठानेर पहिले ब्रिटिस सिपाहीमा भिड्थे राई, गुरुङ, लिम्बूलगायत जनजाति युवा ।

अहिले विदेशको टे«न्ड त्यो लाहुरे ट्रेन्डभन्दा चर्को छ । घरको, आफन्तको, साथीसंगतिको माग र चर्चा धेरै भएपछि अरूकै दबाबमा पनि मुलुक छोड्ने पनि भेटिएका छन् ।

औपचारिक शिक्षा सबैलाई बोझिलो लाग्छ र हाम्रो शिक्षा छ पनि त्यस्तै । त्यसैले त्यो कहिले सकौं जस्तो हुन्छ युवा पिँढीलाई । एउटा तहको शिक्षा सकेपछि कि त कमाइको कुरो हुन्छ कि त बिहेको । अहिले सामान्य जागिर–कमाइ र सहज जिन्दगी जिइरहेको वरलाई छोरी अन्माउनुभन्दा ‘विदेश बस्ने’ ज्वाइँकै ताकमा छन् धेरैजसो ।

सामान्य, सहज र नेपाली जीवन जिउनेलाई वर मान्न हुनेवाला वधू पनि तयार छैनन् । विदेश गएकाको ‘ग्लामर’ नै बेग्लै । उही मरेपछि मात्रै स्वर्ग देखिए झैं विदेशै गएपछि मात्रै त्यहाँको दर्दबारे थाहा पाइन्छ । तर यहाँ विदेशको कष्टकर जीवनबारे कोही जान्न चाहँदैनन् ।

‘विदेश गएर आफूजस्तै सफल हुन्छ भनेर अरूलाई रोक्न खोजेको’ भन्ने प्रतिक्रियासमेत दिन्छन् मान्छे जब कोही विदेश जानेले विदेशका कष्टपूर्ण गाथा भन्न थाल्छ । आम नेपाली यस्तो मनोदशामा बाँचेको छ ।

यस्तो लाग्छ, नेपालीमा विदेशको बारेमा ‘मास हिस्टेरिया’ सिर्जना भइसकेको छ र त्यसको उपचार विस्तारै असम्भव प्राय: देखिएको छ । यहाँ स्थायी सरकारी जागिर भएको वरको सट्टामा विदेशमा लिरिङखिरिङ गरिरहेको व्यक्तिलाई नै छोरी अन्माउन तयार अभिभावकले हामीलाई त्यही सन्देश दिएका छन् ।

माथिको युवतीको कुरो नै गरौं न, उनलाई नेपालमै सरकारी जागिरे, एनजीओ जागिरे, शिक्षक सबै खालका व्यक्ति वधूका रूपमा रोज्न तयार थिए । घरैमा पुगेका थिए, उनको ‘हात माग्न ।’ तर उनले पनि विदेश उडेकै व्यक्ति चाहिन्, उनका अभिभावक पनि छोरीकै रोजाइमै हौसियो ।

हाम्रोमा ‘ब्रेन ड्रेन’ (शैक्षिक र अन्य रूपमा योग्य मान्छे स्वदेशमा बस्नै नचाहने प्रचलन) को समस्या त छँदैछ, अर्को ‘विदेश भनेकै स्वर्ग’ हो भन्ने परिकल्पना उत्तिकै हावी भएको छ । जहाज चढेर गोराका देश पुग्नेको त ठाँटबाँट बेग्लै । मानौं, त्यहाँ पुग्नेले स्वर्गका राजा इन्द्रकै स्वागत, सम्मान र खातिरदारी भेटेर आए।
आम मान्छे बुझ्दैनन्, विदेश पुग्नेबित्तिकै जोकोही ‘दोस्रो’ दर्जाका हुन्छन् । प्राय: सबै देशमा त्यहाँको बजारभाउ नेपालभन्दा बढी नै हुन्छ । कानुनी कडाइ हाम्रोमा भन्दा बढी त्यहाँ हुन्छ ।

रेखदेख गर्ने आफन्त हुँदैनन् । दोस्रो दर्जाको भएपछि सम्मान र सुरक्षाको विषय पनि कमै हुन्छ । सुरक्षा कम हुनेबित्तिकै महिला र युवती ‘उच्च जोखिम’ मा पर्छन् । भाषा, भोजन र संस्कृतिले विदेशमा मान्छेलाई मानसिक तनाव दिन्छ ।

घरको यादले काममा ध्यान केन्द्रित हुँदैन । तर यता अपेक्षाका पहाड हुन्छन्, उता चुनौतीका महापहाड ठडिएका हुन्छन् । आफैंलाई खर्च पुर्‍याउन कठिन हुन्छ उताकालाई तर यताका आफन्त र परिवारको अपेक्षा थेगिनसक्नुको हुन्छ । काम गरेर कमाउन गएका लाखौं व्यक्तिमध्ये एक वर्षमै एक सयभन्दा बढीले आत्महत्या गरेको तथ्य आएको थियो दुई वर्ष पहिले । स्थिति यस्तो छ ।

उल्लिखित कारणमध्ये कुनै एक कारणले उनीहरूले आफ्नो ज्यान लिएकोमा दुईमत छैन ।


आम नेपालीहरू देशभित्र खटेर काम गर्दैनन् । यहाँ हल्लेर खान पल्केकालाई उता घन्टौं खटिएर काम गर्नु नै चुनौतीपूर्ण हुन्छ । भाषा समस्याका कारण सम्भव भएसम्म छिमेकी भारतका नागरिकले सञ्चालन गरेका रेस्टुराँमा काम गर्नुपर्ने बाध्यता हुन्छ र हाम्रो बाध्यता बुझेपछि विदेशी मालिकले पनि शोषण नै गर्छन् ।

विद्यार्थी भएर विदेश बस्दा निश्चित समयभन्दा बढी काम गर्नु नै अवैध हुन्छ र बाध्यताको फाइदा उठाउँदै काम लगाउने साहुजीहरूले समयमा तलब नदिने गर्छन् । बाध्यतामा कसैको खप्की खाएर काम गर्नु पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ नै ।

कष्टले विदेशमा त्यसरी कमाएको पैसा यता घर र आफन्तले मोजमस्तीमा उडाउनेसमेत गर्छन् । अपेक्षा बढी भएपछि उपहार पनि पठाउनै पर्‍यो ।

यी सबैथोक थेग्न नसकेपछि विदेश भूमिमा रहेको निरिह मान्छे के गर्छ ? उसले कस्ता कदम उठाउँछ ? एयरपोर्टबाट हवाईजहाज चढेपछि सीधै स्वर्ग पुगिन्छ र त्यहाँ बोरामा पैसा टिप्न पाइन्छ भन्ने धारणाले जब धरातल छुन्छ, त्यहाँ कि डेथ् हुन्छ कि त डिप्रेसन ।

डिप्रेसनले गाँजेकाहरू माथिको वास्तविक कथामा झैं ड्रग लिन्छन् र ड्रगको आदेश तामेल गर्न आफ्ना जीवन साथीको हुर्मत लिन्छन् ।

अनमोल जीवनलाई अरूको कसीमा हेर्न थाल्नु नै ठूलो समस्या हो । पल्लाघरेको अग्लो घरको कसीमा आफ्नो सानो घरको तुलना गर्न थालेपछि तपाईं जीवन जिउनु हुन्न । तपाईं जीवन जोख्न थाल्नुहुन्छ ।

प्रगतिका लागि प्रतिस्पर्धी भावना अवश्य चाहिन्छ, तर न्यूनतम आवश्यकता परिपूर्ति भएपछि पनि उतासिने र बतासिने गरेपछि जीवन जीर्ण हुन्छ ।

बुझौं, संसारको जुनसुकै पहाड र मैदानमा हामीले देखेकै सूर्य झुल्किन्छन् र विदेशीहरू पनि उही आकाश तल बस्छन् । खुसीको आशामा यति छोटो जीवनलाई दु:ख र प्रलयको हन्डरमा नहेलौं ।

#दीपा कोईरालाको यो लेख अन्नपूर्णपोस्टबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्