Paschim News

  • अरुण क्षेत्री प्रकाशित : २०७५/८/३ गते
    १०४ पटक

    अक्टोबर महिनालाई विश्वभर स्तन ‘क्यान्सरबारे सचेतना महिना’ को रुपमा हरेक वर्ष मनाउने गरिन्छ। स्तन क्यान्सर, यसका सम्भावित कारण, जोखिम एवं रोकथाम र उपचारको बारेमा जनचेतना जगाउनु तथा स्तन क्यान्सर पीडितलाई आत्मबल र प्रोत्साहन प्रदान गर्नु यसको मुख्य उद्देश्य हो।

    स्तन क्यान्सरको प्रभावकारी उपचार एवं रोकथामका लागि सम्भावित जोखिमलाई समयमै बुझ्नु तथा सुरुवाती चरणमै स्तन क्यान्सरको पहिचान गर्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। सुरुवाती चरणमै पत्ता लगाई आवश्यक उपचार विधि अपनाउन सकेमा स्तन क्यान्सरबाट पूर्ण रुपमा छुटकारा पाउन सम्भव हुन्छ।

    स्तन क्यान्सरको पहिचानका लागि महिला  स्वयंले स्तन छामेर र यसको रंगमा आउने परिवर्तनलाई अवलोकन गरेर भौतिक रुपमा परीक्षण गर्ने विधि सबैभन्दा सजिलो र प्रारम्भिक विधि हो। यसरी परीक्षण गर्दा स्तनमा अस्वभाविक डल्ला, गिर्खा, रंग वा पीडा महसुस भएमा स्तन क्यान्सरको शंका गरी सम्बन्धित चिकित्सकसँग परामर्श लिनु पर्दछ।

    स्तन क्यान्सर भए नभएको निर्क्योल गर्नका लागि विभिन्न निदानात्मक परीक्षण गर्ने गरिन्छ। यस्ता निदानात्मक परीक्षणहमध्ये मेमोग्राफी,अल्ट्रासाउन्ड, एमआरआई जस्ता रेडियोलोजिकल परीक्षण र प्रविधिहरु प्रभावकारिताका हिसाबले अग्रपंक्तिमा पर्दछ्न्।

    त्यसमध्ये स्तन क्यान्सरलगायत स्तनका विभिन्न समस्याको पहिचान र  निदान(डायग्नोसिस)का लागि मेमोग्राफी सबैभन्दा आधारभूत र प्रभावकारी रेडियोलोजिकल परीक्षण हो। त्यसबाहेक, नेपालको परिप्रेक्ष्य उपकरणको उपलब्धता एवं स्तन क्यान्सरका अलावा स्तनका अन्य रोग तथा समस्याहरुको समेत पहिचान र निदान गर्नसक्ने क्षमताका कारण अल्ट्रासाउन्ड (भिडियो एक्स रे)द्वारा गरिने स्तनको परीक्षणको महत्त्व उल्लेखनीय रुपमा बढ्दै गइरेहेको छ।

    स्तन क्यान्सरको समयमै पहिचान र निदानका लागि पहिलो रोजाइको परीक्षण मानिने मेमोग्राफीबारे जान्नैपर्ने केही तथ्यहरु तल उल्लेख गरिएको छ।

    १.मेमोग्राफी स्तनको एक्स–रे परीक्षण हो। यसमा कम शक्तिको एक्स–रे प्रयोग हुन्छ। एक्स–रे विकिरणको मात्रा कम हुने भएकाले विकिरण जोखिम पनि न्यून हुन्छ।
    २.मेमोग्राफी स्तनका बिरामीका अलावा स्वस्थ निरोगी महिलाको नियमित स्वास्थ्य परीक्षण (स्क्रिनिङ)का लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।
    ३. स्तनमा गिर्खा वा पीडा महसुस गरेर पत्ता लगाउन नसकिने अवस्थाको स्तन क्यान्सरसमेत मेमोग्राफीमार्फत पत्ता लगाउन सकिने भएकाले स्तन क्यान्सरको समयमै निदान गरी उचित उपचारको लागि यो परीक्षण अत्यन्त महत्वपूर्ण छ।
    ४. स्तनमा डल्ला, गिर्खा, गाँठागुठी वा पीडा महसुस भएमा, स्तनको रंङमा परिवर्तन देखिएमा तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनु पर्दछ।
    ५. ४० वर्ष उमेर कटेका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने भएकाले वर्षमा एकपटक नियमित मेमोग्राफी गराई मेमोग्राफीको तस्बिर र रिपोर्ट सुरक्षित जम्मा गरीराख्नु फाइदाजनक हुन्छ।
    ६. स्तन क्यान्सर तथा स्तनसम्बन्धी समस्याको पारिवारिक वा वंशाणुगत पृष्ठभूमि भएका महिलाले सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनु पर्दछ।
    ७. मेमोग्राफीमा एक्स–रे विकिरण प्रयोग हुने भएकाले सकेसम्म गर्भावस्थामा यो परीक्षण गराउनु हुँदैन। यो परीक्षण गराउँदा छातीका सम्पूर्ण कपडा तथा गरगहना निकाल्नुपर्ने हुँदा सजिलै खोल्न र लगाउन मिल्ने लुगा लगाएर जाँदा सहज हुन्छ।
    ८. पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ। आवश्यक परेमा पुरुषको पनि मेमोग्राफी गर्ने गरिन्छ।

    लेखक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा कार्यरत छन्।

    प्रतिकृया दिनुहोस्