Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२९ गते
    १०५ पटक
    दक्षिण अफ्रिका ।

    दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् ।

    उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नुपर्दछ भन्ने सिक्दैछन् । ‘थाहा छ यो बलात्कारीको अण्डकोश हो,’ प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन् ।

    एउटी ११ वर्षीया बालिका त्यस प्याडलाई हात र कुहिनाले बेस्सरी हिर्काउँछिन् । थाबिसाङ स्कुलमा यो आत्मरक्षा र बलात्कार हुनबाट जोगिन सिकाइएको पहिलो दिनको अभ्यास हो । अभ्यासका लागि कक्षाकोठाका डेस्क र कुर्ची भित्तामा ठड्याएर राखिएका छन् ।

    सरकारी तथ्याँकमा दक्षिण अफ्रिकामा दैनिक ११० भन्दा बढी बलात्कारका घटना हुने गरेको उल्लेख छ । तर यो संख्या सही नरहेको धेरैको बुझाइ छ किनभने बलात्कारका घटनाको रिपोर्टिङ यहाँ ज्यादै कम हुने गर्दछ । केही अध्ययनले १३ वटा बलात्कारका घटनामा एउटा मात्र मुद्दा प्रहरी समक्ष पुग्ने देखाएका छन् ।

    पछिल्ला समाचारले दक्षिण अफ्रिकामा बलात्कारका घटनाको कहालीलाग्दो तथ्य सार्वजनिक भएको छ ।सेप्टेम्बरमा एकजना १७ वर्षीयालाई चिकित्सकको वेशमा रहेका एक व्यक्तिले अस्पतालको प्रसूति वार्डमै बलात्कार गरे । अघिल्लो दिनमात्र ती किशोरीले बच्चा जन्माएकी थिइन् ।

    त्यसै महिना एकजना सात वर्षीया बालिका राजधानी प्रिटोरियाको लोकप्रिय रेष्टुराँको शौचालयमा बलात्कृत भइन् । भिडियो फुटेजमा एक जना नग्न पुरुष भाग्दै गरेको देखिएको थियो ।

    अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको महिला लिगले महिला सुरक्षाका सन्दर्भमा तत्काल कुनै कारबाही अघि बढाउनु पर्ने देखिएको छ ।

    ‘हामीले सक्दो प्रयत्न गरेका छौं … तर यौन आक्रमणका घटनामा कमी आएको देखिएन । त्यसर्थ, हामीले त्यस्ता पुरुषको रसायनयुक्त बन्ध्याकरण ९केमिकल क्यास्ट्रेसन० गर्नुपर्ने माग गरिरहेका छौं,’ लिगका महासचिव मिओक्गो माटुवाले बताए ।

    सोवेतोको अर्को कक्षाकोठामा पनि मोनोकोलीले आत्मरक्षाको तरिका मात्र होइन कि बालिकाहरुलाई सम्भावित जोखिम कसरी थाहा पाउने र त्यसमाथि कस्तो प्रतिक्रिया जनाउने भनेर सिकाउँछिन् ।

    ‘कोठामा असहज परिस्थिति देख्नासाथ त्यो कोठाबाट तुरुन्तै बाहिर निस्किहाल्नु, त्यहाँ नबस्नु,’ उनी बालिकाहरुलाई सम्झाउँछिन् । ‘उनीहरुले एक किसिमको सन्देश दिइसके, त्यस्तो व्यक्तिसँग एक्लै बस्नै हुँदैन ।’

    तैपनि त्यो व्यक्तिले आक्रमण गरिहाल्याने भने ? उनी भन्छिन्ः ‘जतिसक्दो ठूलो स्वरले चिच्याउनु ।’

    मोनोकोली बालिकाहरुलाई आत्मरक्षाका बारेमा स्कुलहरुमा तालिम दिने दक्षिण अफ्रिकाको सामाजिक संस्था एक्सन ब्रेक्स साइलेन्स ९एबीएस० का लागि काम गर्छिन् । यस संस्थाले अनुचित र हिंसात्मक व्यवहार रोक्न केटाहरुका लागि कार्यक्रमहरु पनि चलाउँछ ।

    एबिएसका संस्थापक देवी स्टेभन बालिका हुँदा आफै पनि बलात्कृत भएकि थिइन् । उनले बलात्कारका विरुद्धमा विद्यालयमा कक्षा दिने र विभिन्न कम्पनीमा सुझावहरु दिने काम गर्दै आएकि छिन् । यस कार्यमा उनले दशकौँ विताएकी छिन् ।

    उनले भनिन्, ‘दक्षिण अफ्रिकामा हिंसा सामान्य बन्दै गएको छ । तर यहाँ बलात्कारका घटना हुने गरेका छन् तर नागरिकले यसलाई बाहिर भन्नुभन्दा पनि मानिसहरुलाई समान्यजस्तो भइसकेको छ ।’

    उनको बालिकालाई आत्मरक्षाको तालिम र सचेतनासम्बन्धी मानसिक विषयका कार्यक्रमहरुतर्फ आकर्षित गर्नुपर्ने सुझाव छ । यस्तो तालिमले बालिकाहरुमा आत्मविश्वास दिलाउँछ ।

    धेरैजसो, यौनहिंसाका घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । स्टीभनले दक्षिण अफ्रिकामा आफ्नै साथी वा पूर्व साथीबाट हरेक दिन दुईजना महिलाको हत्या हुने गरेको बताए ।

    कक्षाकोठामा नीलो स्कुल पोशाक र लामा मोजा लगाएका बालिकाहरु बेलाबखत जिस्किन्छन् तर वातावरण निकै गम्भीर र केन्द्रिकृत हुने गर्दछ । ‘हामी तिमीहरुलाई थोरै जोड लगाएर पनि कसरी सहजै लड्ने कला सिकाउँछौं,’ एकजना पुरुष प्रशिक्षक बताउँछन् । बालिकाहरुले सहजै कान तान्न र नाक फुटाउन सक्ने कला उनले सिकाइरहेका थिए ।

    ‘हामी लडाकू हौं,’ निकै उत्साहित देखिएकी ११ वर्षीया नोन्कुलुलेको बताउँछिन् । ‘मसँग एउटा अनौठो औषधि पनि छ, मान्छेलाई बेहोस पार्ने औषधि हो यो । यसले पनि लड्न मद्दत गर्दछ ।’

    एबीएसले १३ हजारभन्दा बढी बालबालिकालाई तालिम दिइसकेको छ । यो तालिमले सरकारलाई ठूलै मद्दत गरेको छ ।

    एकजना आमा माली मासोन्डोले हरेक परिवार र बालबालिकाको दैनिक जीवनमा बलात्कारको त्रास ज्यादै बढेको बताइन् । ‘कसलाई विश्वास गर्ने, कसलाई प्रेम गर्ने थाहा नै हुँदैन,’ उनले दुःखेसो पोखिन । ‘कहिलेकाहिँ बच्चाहरुलाई कसैसँग बोल्न, हाँस्न दिँदा पनि डर लाग्दछ किनभने हरेक समय नकारात्मक कुरा नै मनमा खेलिरहन्छ ।’

    प्रतिकृया दिनुहोस्