आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१९ गते
    १३३ पटक
    काठमाडौँ ।

    नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।

    साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।

    उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं। १ र २ पत्रकार लागि छुट्याइएको छ ।

    उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिए ।

    दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ ।

    पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएकोे छ ।

    पत्रकारलाई किन प्राथमिकता दिएर सिट आरक्षणको व्यवस्था गरेभन्ने ज्ञिजासामा लगानीकर्तासमेत रहेको चालक कार्की भन्छन्, “क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेका हौँ ।” रासस ।

    प्रतिकृया दिनुहोस्